सिरहाकी रजनी (नाम परिवर्तन) ले सानो उमेरमै विवाह भएदेखि नै खुसीको अनुभूति गर्न पाएकी छैनन्। आमाबुबाले १४ वर्षकै उमेरमा विवाह गरिदिए र सानै उमेरमा तीन जना छोराछोरीका आमा बनेकी रजनी विगत तीन वर्षदेखि पाठेघरको समस्यासँग जुधिरहेकी छिन्। घरमा श्रीमानसहित दुई छोरी, एक छोरा गरी पाँच जनाको परिवार छ। उनको पनि घरको अवस्था निकै कमजोर छ। श्रीमानले दैनिक ज्यालादारी गर्दै छोराछोरी पढाइरहेका छन् भने उनी घरायसी काम गरेर जीविकोर्पाजन गरिरहेकी छिन्।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले पाठेघरको औषधि उपचार गर्न पाएकी छैनन्। बिरामी हुँदा पनि उनलाई घरको जिम्मेवारीले थिचेको छ।
यस्तै, सिरहाकै देवी (नाम परिवर्तन)को अवस्था पनि रजनीको भन्दा कम छैन। १५ वर्षकै उमेरमा आमाबुबाले विवाह गरिदिए। सानै उमेरमा उनको पनि छोराछोरी जन्मिए। उनी पनि अहिले विगत तीन वर्षदेखि पाठेघरमा घाउ भएपछि समस्यामा छिन्।
श्रीमान् र घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले उपयुक्त उपचार पाउन सकेकी छैनन्। उनका दुई छोरी, दुई छोरा र श्रीमान् गरी जम्मा ६ जनाको परिवार छ। ४६ वर्षीय उनका श्रीमान् विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीमा छन्। देवीकी जेठी छोरी घरको काम गर्छिन्। कान्छी छोरी आमासँगै सानो पसल गरिरहेका छिन् भने जेठो छोरा दैनिक ज्यालादारी गर्छन्। यसरी नै देवीको परिवार चलिरहेको छ।
श्रीमान् एक वर्षदेखि अर्कै महिलासँगको सम्बन्धमा भएकाले आफू र छोराछोरीलाई बेवास्ता गरेको उनले सुनाइन्। उनले आफू लाउलाउ खाउखाउको उमेरमै आमा बन्नु परेको सम्झिँदै भनिन्, ‘१५ वर्षमा बिहे भयो अनि आमा बनिहालेँ। अहिले पाठेघरमा घाउ छ। उपचार गर्न पैसा छैन। श्रीमानले अर्कै केटी राखेर बसेका छन्। हामीलाई हेर्दैन। घरखर्च चलाउन र छोराछोरी हुर्काउन साह्रै गाह्रो भयो।’ उनी आफू यो अवस्थामा पुग्नुको प्रमुख कारण नै बालविवाह र पारिवारिक जिम्मेवारी भएको बताउँछिन्।
यी घटना हाम्रो समाज तथा समुदायमा रहेका कैयन महिलाहरूको अवस्था हो। उनीहरू जस्तै धेरै महिलाहरू अहिले पनि घरपरिवार र समाजमा पिल्सिएरै बस्नु परेको अवस्था छ। यी महिलाहरू यो स्थितिमा आउनुको कारण भनेको सानो उमेरमै अर्थात् उमेर नपुगी विवाह गरिदिनु हो।
सानै उमेरमा विवाह गर्दा हुने हानिनोक्सानीले भविष्यमा शारीरिक र मानसिक स्वास्थ्यमा नै ठूलो असर गरेको यी घटना ज्वलन्त उदाहरण हुन्।
राष्ट्रिय मानव अधिकार आयोगदखि बालबालिका तथा महिलाहरूको हक अधिकारका लागि लड्ने धेरै संघसंस्थाहरूले बालविवाह न्यूनीकरणका लागि वकालत गर्दै आएका छन्। यसैबीच मनोरञ्जनका माध्यमबाट समाजलाई सुसूचीत गर्ने जिम्मेवारी बोकेका कलाकारहरू पनि बालविवाह समाजका लागि अभिषाप हुनेमा एक मत राख्छन्।
हास्य कलाकार तथा अभिनेता जितु नेपालले बालविवाहविरुद्धको अभियान सभा–समारोह र प्रतिबद्धतामा सीमित नराखी प्रत्यक्ष प्रभावित समुदायसम्म पुर्याउनुपर्ने बताएका छन्।
उनले बालविवाहबाट पीडित भएका व्यक्ति र समुदायसम्म पुगेर नाटक, गीत, कविता र संवादमार्फत सचेतना फैलाउन सके अभियान प्रभावकारी हुने धारणा राखे। ‘जहाँ पीडितहरू छन्, जहाँ बालविवाह भयो, जसले बालविवाह गरेर दुःख पाए, त्यहीँ पुगेर गीत गाउनेलाई गाउन लगाऔँ, नाटक देखाऔँ, संवाद गरौँ,’ उनले भने, ‘त्यो अलि प्रभावकारी हुन्छ जस्तो मलाई लाग्छ।’
उनले कार्यक्रमहरूमा फोटो खिच्ने र प्रतिबद्धता जनाउने कार्य मात्रै पर्याप्त नभएको उल्लेख गर्दै बालविवाह अन्त्यका लागि समुदायमै केन्द्रित अभियान आवश्यक रहेको बताए। ‘हामीले यहाँ फोटो खिच्दै गर्दा, प्रतिबद्धता जनाउँदै गर्दा यो समस्या हट्छ त? सबैभन्दा ठूलो प्रश्न यही हो,’ उनले नागरिकसँग भने।
नेपालले बालविवाहविरुद्धको अभियानमा पीडितकै आवाजलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
यस्तै, लोक गायिका एवं कलाकार लक्ष्मी नेपालीले सञ्चारमाध्यम र सार्वजनिक बहसमा पीडितका अनुभव, भावना, कविता र कथाहरूलाई स्थान दिन सकिए सामाजिक परिवर्तनमा थप प्रभाव पर्न सक्ने बताइन्। ‘हामी अगाडि बस्ने होइन, उनीहरूलाई अगाडि बढाउने हो,’ उनले भनिन्, ‘ती बालविवाहितहरू, ती पीडितहरू, तिनका कविता, तिनका गीत र भावना समाजले सुन्नुपर्छ।’
नेपालले सामाजिक सचेतनाका कार्यक्रमका लागि आफू निःशुल्क रूपमा सहभागी हुन तयार रहेको पनि बताए। ‘कुनै पनि सामाजिक कामका लागि म निःशुल्क जान सक्छु,’ उनले भने, ‘जाने, आउने, खाने र बस्ने व्यवस्था गरिदिनुभयो भने म जहाँ पनि पुग्छु।’
कलाकार भीमा मैनालीले कलाकारहरूलाई समुदायस्तरमा परिचालन गर्न सके बालविवाहजस्ता सामाजिक समस्याविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न सकिने बताउँछिन्।
यस्तै, सिन्धुपाल्चोकका स्थायी बासिन्दा जितु नेपालले आफ्नो बाल्यकालमा देखेको एक बालविवाहको घटना सम्झिँदै त्यसले आफूलाई अझै झस्काउने बताए। उनका अनुसार गाउँमा एक सानी बालिकालाई विवाहपछि डोलीमा राखेर विदाइ गरिँदै गर्दा उनी रोइरहेकी थिइन्। घर छोड्न नमानेर बीच बाटोबाटै फर्किन खोजेकी ती बालिकालाई पुनः समातेर डोलीमा राखिएको दृश्य उनले आफ्नै आँखाले देखेका थिए।
‘त्यो उमेरमा म जन्ती गएको मान्छे हुँ,’ उनले भने, ‘त्यो दृश्य आज पनि सम्झँदा मन दुख्छ।’
बालविवाहको विषयलाई कानुनी व्यवस्थाभन्दा पनि बालबालिकाको जीवन र भविष्यसँग जोडिएको संवेदनशील विषयका रूपमा हेर्नुपर्ने लोक गायिका राधिका हमालको भनाइ छ।
प्रविधिको पहुँच बढेर अहिले सबैको हातमा मोबाइल फोन पुगेको भए पनि बालविवाहविरुद्धको सन्देश लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुग्न सकेको छ कि छैन भन्ने प्रश्न अझै कायम रहेको उनले बताइन्।
कलाकार शिवशङ्कर रिजालले बालविवाह अन्त्यका लागि समाजका सबै क्षेत्रले आ-आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने बताउँछन्।
उनले बाल्यकाललाई भगवानको रूप मानिने भए पनि विगतमा धेरै बालिकाले सानै उमेरमा विवाहका कारण पीडा भोग्नुपरेको स्मरण गरे। उनले पछिल्लो समय बालविवाह न्यूनीकरण भए पनि मधेश र कर्णाली प्रदेशका केही क्षेत्रमा यसको प्रभाव अझै कायम रहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गरेर यस्ता सचेतनामूलक कार्यक्रम गाउँ–गाउँसम्म पुर्याउनुपर्ने बताए।
रिजालले कलाकार, लेखक, सञ्चारकर्मी तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूले आफ्ना-आफ्ना माध्यमबाट बालविवाहविरुद्ध जनचेतना फैलाउन सके अभियान प्रभावकारी हुने धारणा राखे। उनले आफू पनि बालविवाहमुक्त समाज निर्माणका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘देशलाई पूर्ण रूपमा बालविवाहमुक्त घोषणा गर्ने दिन चाँडै आओस्,’ उनले भने, ‘त्यसका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान दिन आवश्यक छ।’
गायक तथा सांस्कृतिक अभियन्ता रुपेश झाले बालविवाह अन्त्यका लागि विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम रहनुपर्ने बताएका छन्।
उनले बालविवाहले बालबालिकाको अधिकार र भविष्यमा नकारात्मक असर पार्ने भएकाले यसलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे। प्रत्येक बालिका र बालकको आफ्नै अधिकार हुने उल्लेख गर्दै उनले उनीहरूलाई आफ्नो क्षमता विकास गर्ने पर्याप्त अवसर दिन आवश्यक रहेको बताए।
‘छोरा र छोरीबीच कुनै भिन्नता हुनुहुँदैन। सबैले समान अधिकार पाउनुपर्छ,’ उनले नागरिकसँग भने, ‘आफ्नो खुट्टामा उभिनुअघि विवाह गर्दा विशेषगरी छोरीहरूलाई भविष्यमा विभिन्न समस्या भोग्नुपर्ने अवस्था आउन सक्छ।’
सरकारले विवाहको न्यूनतम उमेर २० वर्षबाट १८ वर्षमा झार्ने विषयमा भइरहेको बहसबारे प्रतिक्रिया दिँदै झाले व्यक्तिगत रूपमा उक्त प्रस्तावसँग सहमत नरहेको बताए। उनका अनुसार पछिल्ला वर्षहरूमा युवायुवतीहरू उमेरभन्दा चाँडै परिपक्व बन्दै गएको देखिए पनि १८ वर्ष विवाहका लागि पर्याप्त उमेर नभएको उनको बुझाइ छ।
‘१८ वर्षमा छोरी वा छोराको मानसिक विकास पूर्ण रूपमा भइसकेको हुँदैन। त्यसैले विवाहको न्यूनतम उमेर २० वर्ष नै हुनु उपयुक्त हुन्छ भन्ने मेरो धारणा हो,’ उनले भने।
जनकपुरसँग सम्बन्धित झाले विगत पाँच–छ वर्षदेखि छोरीहरूको महत्व, महिला सशक्तीकरण तथा मैथिली भाषा–संस्कृतिको संरक्षणका विषयमा गीतसंगीत र विभिन्न सांस्कृतिक कार्यक्रममार्फत काम गर्दै आएको बताए। हाल उनी ‘भजन साँझ’ मार्फत पनि नियमित रूपमा सांगीतिक प्रस्तुति दिँदै आएको बताउँछन्।
गायिका आस्था राउतले बालविवाहले बालबालिकाको बाल्यकाल, शिक्षा, स्वास्थ्य, आत्मविश्वास र भविष्यका सपनाहरू खोस्ने भएकाले यसको अन्त्यका लागि सबै क्षेत्रबाट आवाज उठाउन आवश्यक रहेको बताएकी छन्।
उनले कलाकारको भूमिका मनोरञ्जनमा मात्र सीमित नहुने उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन र चेतना फैलाउन पनि कलाकारहरूले योगदान गर्नुपर्ने धारणा राखिन्। ‘बालविवाहले बाल्यकाल नै खोस्छ। शिक्षा, स्वास्थ्य, आत्मविश्वास र जीवनमा केही गर्ने सपनाहरूलाई कमजोर बनाउँछ,’ उनले भनिन्, ‘प्रत्येक बालबालिकाले बढ्ने, सिक्ने र आफ्नो भविष्य स्वतन्त्र रूपमा रोज्ने अधिकार पाउनुपर्छ।’
महिला अधिकार, बाल अधिकार र समानताका विषयमा आफूले संगीत र विभिन्न सार्वजनिक मञ्चमार्फत निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै राउतले समाजका हरेक व्यक्तिले आफ्नो-आफ्नो क्षेत्रबाट बालविवाहविरुद्ध बोल्नुपर्ने आवश्यकता औँल्याइन्।
आफ्नो सांगीतिक यात्राको सुरुआती चरण स्मरण गर्दै उनले बाल्यकालमै गाएको गीतमार्फत छोरीमाथि हुने विभेदको विषय उठाइएको बताइन्। आफ्नो चर्चित गीत ‘झुम्के बुलाकी’ को सन्दर्भ उल्लेख गर्दै उनले उक्त गीतले छोरीलाई पनि छोरासरह शिक्षा, अवसर र आत्मनिर्भरता दिनुपर्ने सन्देश बोकेको स्पष्ट पारिन्।
राउतले विवाहलाई बन्धन नभई सन्तुलनको सम्बन्धका रूपमा व्याख्या गर्दै शारीरिक तथा मानसिक रूपमा परिपक्व भएपछि मात्रै विवाह उचित हुने धारणा व्यक्त गरिन्। ‘सही उमेर, परिपक्व सोच र आफ्नै रोजाइका आधारमा जीवनसाथी चयन गर्दा मात्र विवाह सफल र सन्तुलित हुन्छ,’ उनले भनिन्।
बालविवाह अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै उनले सबैलाई ‘विवाहमुक्त बाल्यकाल’ अभियानमा आ-आफ्नो स्थानबाट समर्थन जनाउन आग्रह गरिन्।
कलाकार श्वेता खड्काले बालविवाह, बालअधिकार उल्लङ्घन तथा महिलामाथि हुने विभेदविरुद्ध निरन्तर आवाज उठाउन आफू प्रतिबद्ध रहेको बताएकी छन्।
उनले सामाजिक परिवर्तनका लागि प्रभावशाली व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने बताइन्। सामाजिक सञ्जाल, सञ्चारमाध्यम र कला क्षेत्रमार्फत उठाइने आवाजले समाजमा सकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ। ‘बालविवाह अन्त्य गर्ने जिम्मेवारी अरू कसैको मात्र होइन, हाम्रो पनि हो। अहिले हामीले आवाज उठाएनौँ भने कहिले उठाउने?’ उनले प्रश्न गरिन्।
आफू एक छोरीकी आमा भएकाले बालिकाहरूको भविष्यप्रति अझ बढी संवेदनशील रहेको उल्लेख गर्दै खड्काले परम्परा, सामाजिक दबाब र अन्धविश्वासका कारण अझै पनि धेरै बालबालिका अधिकारबाट वञ्चित हुनुपरेको बताइन्। उनले विभिन्न जिल्लामा अभियानका क्रममा पुग्दा विद्यालय जान नपाएका बालबालिका, कम उमेरमै विवाहका लागि बाध्य बनाइएका किशोरी तथा दाइजोका कारण पीडित महिलाहरूको कथा सुनेर भावुक हुने गरेको अनुभव सुनाइन्।
उनले चलचित्रलाई मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सन्देश प्रवाह गर्ने प्रभावकारी साधनका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन्। आफ्नो पहिलो चलचित्र ‘कहाँ भेटिएला’मा पनि बालश्रम, गरिबी र बालविवाहको दबाब झेल्ने किशोरीको कथा प्रस्तुत गरिएको स्मरण गर्दै सामाजिक यथार्थलाई पर्दामा उतार्न कलाकारहरूको भूमिका महत्वपूर्ण हुने बताइन्।
खड्काले महिला तथा बालबालिकाको उद्धार र संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाहरूसँगको सहकार्यबाट आफूले धेरै पीडितहरूको जीवनकथा नजिकबाट सुन्ने अवसर पाएको बताइन्। सानो उमेरमै बेचबिखन, हिंसा वा शोषणमा परेका बालिकाहरूको अवस्था अत्यन्त पीडादायी रहेको उल्लेख गर्दै यस्ता घटनाविरुद्ध कडा कानुनी र सामाजिक पहल आवश्यक रहेको उनको भनाइ छ।
उनले बालविवाह, लैङ्गिक हिंसा, बलात्कार र मानव बेचबिखनका घटनाविरुद्ध राज्यले प्रभावकारी नीति र कानुन कार्यान्वयन गर्नुपर्ने मागसमेत गरिन्। ‘कुनै पनि बालबालिकामाथि अन्याय नहोस्, महिलाले स्वतन्त्र र सुरक्षित जीवन बाँच्न पाऊन् भन्ने मेरो चाहना हो,’ उनले भनिन्।
कलाकार, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा डिजिटल प्लेटफर्ममा सक्रिय व्यक्तिहरूले संयुक्त रूपमा बालविवाहविरुद्ध अभियान चलाए समाज परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै खड्काले आफू भविष्यमा पनि यस्ता अभियानमा सक्रिय रहने प्रतिबद्धता जनाइन्।
‘हामीले उठाएको एउटा आवाज, एउटा गीत, एउटा चलचित्र वा एउटा सन्देशले कसैको जीवन परिवर्तन गर्न सक्छ,’ उनले नागरिकसँग भनिन्, ‘त्यसैले बालविवाहमुक्त समाज निर्माणका लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ।’
अभिनेता तथा निर्देशक मनिष राउतले बालविवाहले बालिका तथा महिलाको जीवनका सपना, अवसर र स्वतन्त्रता समयअघि नै खोस्ने भएकाले यसको अन्त्य आवश्यक रहेको बताएका छन्।
उनले बालविवाहलाई फूल बन्न नपाउँदै कोपिला टिपिनुसरहको अवस्थासँग तुलना गरे। बालविवाहको असर बुझ्नका लागि बालविवाह भोगेका महिला र पुरुषको जीवनलाई उनीहरूकै दृष्टिकोणबाट हेर्न आवश्यक रहेको उनको भनाइ छ।
‘बालविवाहमा परेका महिलाले आफ्ना धेरै सपना त्यागेर बाँच्नुपरेको हुन्छ। उनीहरूले भोगेको पीडा र बाध्यता एकपटक महसुस गर्न सकियो भने कसैले पनि आफ्ना छोराछोरीको बालविवाह गराउँदैन,’ उनले भने।
राउतले आफ्नो साहित्यिक तथा चलचित्रकर्ममार्फत महिलाका सपना, अधिकार र अस्तित्वका विषयलाई निरन्तर उठाउँदै आएको बताए। आफ्नो कथा ‘जनै हराएको मान्छे’ मा आमाहरूका अधुरा सपना र उनीहरूको जीवनबारे प्रश्न उठाइएको उल्लेख गर्दै उनले हरेक सन्तानले आफ्नी आमालाई ‘तपाईंको सपना के थियो?’ भनेर सोध्नुपर्ने धारणा व्यक्त गरे।
‘महिलालाई पनि आफ्नै सपना देख्ने, आफ्नो जीवन आफ्नो तरिकाले बाँच्ने अधिकार छ,’ उनले भने, ‘हामीले उनीहरूलाई केवल परिवार र समाजका जिम्मेवारी पूरा गर्ने भूमिकामा मात्र सीमित गर्नु हुँदैन।’
उनले नेपालमा महिलाको जनसंख्या र मतदाताको संख्या उल्लेखनीय भए पनि निर्णय निर्माण र नीति निर्माण तहमा महिला सहभागिता अझै पर्याप्त हुन नसकेको टिप्पणी गरे। महिलासम्बन्धी विषयमा प्रभावकारी कानुन र नीतिनिर्माणका लागि महिलाको प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता उनले औँल्याए।
बालविवाह नियन्त्रणका लागि विवाहको न्यूनतम उमेर घटाउनु उपयुक्त नहुने उनको धारणा थियो। उनका अनुसार कुनै पनि महिला आफ्नो खुट्टामा उभिन, शिक्षा हासिल गर्न र जीवनबारे स्वतन्त्र निर्णय लिन सक्षम भएपछि मात्र विवाहको निर्णय गर्न सक्नुपर्छ।
‘महिला अरूको सपना पूरा गर्ने साधन होइनन्। उनीहरूले आफ्नै सपना देख्न, आफ्नै संसार निर्माण गर्न र आफ्नो भविष्यबारे आफैँ निर्णय गर्न पाउनुपर्छ,’ उनले भने।
राउतले अझै पनि नेपाली समाजमा छोरी र बुहारीबीच व्यवहारिक विभेद कायम रहेको उल्लेख गर्दै बालविवाहमुक्त समाज निर्माणका लागि परिवार, समुदाय, नीति निर्माता र प्रभावशाली व्यक्तिहरू सबैले संयुक्त रूपमा पहल गर्नुपर्ने बताए।
बालअधिकार महासन्धिले १८ वर्षमुनिका सबैलाई बालबालिका भन्छ। नेपालमा २०७२ को विधानले बालबालिकाको हकलाई मौलिक हकमा समावेश गरेको छ। संविधानमा भएका अधिकार प्रवर्द्धन गर्न बालबालिका ऐन, २०७५ आयो। ऐनले गरेका व्यवस्था कार्यान्वयन गर्न बालबालिकासम्बन्धी नियमावली, २०७८ कार्यान्वयनमा छ।
१८ वर्षमुनिका मानिसलाई बालबालिका भने पनि २० वर्षभन्दा कम उमेरमा विवाह गरे/गराइए त्यसलाई बालविवाह भनिन्छ र नेपालको अहिलेको कानुनले यसलाई वर्जित गरेको छ। सरकार आफैँले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८० लागू गरेको छ। रणनीतिमा २०३० सम्ममा बालविवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ।
२०७८ को जनगणनाअनुसार १५ देखि १७ वर्ष उमेरका करिब २२ प्रतिशत र १० देखि १४ वर्ष उमेरका सात प्रतिशतले विवाह गरेको देखिन्छ। सानै उमेरमा विवाह गर्नेमा निमुखा, दलित, सीमान्तकृत समुदायका विशेष गरी तराई मूलका मधेस क्षेत्रमा सानै उमेरमा विवाह गर्ने बालबालिका धेरै छन्। कतिपयले विवाहको उमेर घटाइयो भने बलात्कार कम हुने र बालविवाहको अवस्थामा पनि न्यूनीकरण हुने तर्क गरेका छन्। यी तर्कहरू गरिरहँदा सरकार र बालबालिकाको हकअधिकारका लागि आवाज उठाउने सरोकारवाला निकायले के बिहेको उमेर घटाए बालविवाह अन्त्य हुन्छ भनेर सम्बन्धित पक्षसँग छलफल गर्नु आवश्यक देखिन्छ।
प्रकाशित: २० जेष्ठ २०८३ १५:३५ बुधबार
