कर्जन्हाका तत्कालीन मेयरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नगरपालिकाका अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनी र ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवमाथि पनि मुद्दा दायर भएको हो।

आयोगले उनीहरूमाथि बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। ०७८/७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको आयोगको ठहर छ।

उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पुरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र नसार्न र तोकिएको साबिक कर्जन्हा गाविसको कार्यालयबाटै कार्यालय सञ्चालन गर्नु भनेर जारी गरेको आदेश विपरीत प्रशासनिक भवन निर्माणको ठेक्का लगाएर सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्‍याएको आयोगले आरोप पत्रमा दाबी गरेको छ।

निर्माण व्यवसायीले भवन निर्माणका लागि पेस्की भुक्तानी लिएको थियो। तर निर्माण कार्य सुरु नगरेको, पेस्की भुक्तानी ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरेको र फिर्ता दाखिला नगरेको आयोगले जनाएको छ।

आयोगले तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै १ करोड आठ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ।

प्रकाशित: १४ चैत्र २०८० १४:४३ बुधबार





Source link

Leave a Comment