आजको कर्पाेरेट संसार र व्यापारिक समुदायमा चर्चामा रहने शब्द हो, अल्फा लेडी । जसको अर्थ हो- एक बलियो, आत्मनिर्भर र प्रभावशाली महिला नेतृत्वकर्ता । प्रायः व्यापारिक र कर्पाेरेट क्षेत्रमा मात्रै प्रयोग हुँदै आएको यो शब्द हालै अमेरिकाको राजनीतिक परिप्रेक्ष्यमा पनि चर्चामा आएको छ ।
४७औं अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित उम्मेदवार कमला ह्यारिसको नेतृत्वको शैली र व्यक्तित्वलाई वर्णन गर्न यो शब्द निकै प्रयोग भयो । अमेरिकी राजनीतिक इतिहासमा पहिलो महिला उपराष्ट्रपति बनेकी ह्यारिसका संघर्ष र प्रेरणादायक यात्रा संसारभरिका महिलाहरूका लागि एक शक्तिशाली प्रेरणा बन्न पुगेको छ ।
कमलाको अल्फा लेडी इमेज केवल एक बलियो र आत्मनिर्भर महिलाको प्रतीक मात्र होइन, समाजलाई अघि बढाउने मार्गदर्शन र साहसको ‘एनेक्डट्स’ पनि बनेको छ । उनको नेतृत्व, समर्पण र दृढताले महिलालाई समाजमा आफ्नो स्थान पहिचान गर्न र शक्तिशाली स्रोतको रूपमा प्रस्तुत हुन प्रेरित गरेको छ ।
यही कारणले, राष्ट्रपति निर्वाचनमा पराजित भएपछि, हार्वर्ड विश्वविद्यालयमा नतिजा स्वीकार गर्दै उनले सधैं न्याय र समानताको पक्षमा उभिने दृढ संकल्प व्यक्त गरिन्, जुन उनको व्यक्तित्वको राम्रो उदाहरण हो ।
अलिकति चर्चा गरौं, कमला ह्यारिसको २०२४ को राष्ट्रपति उम्मेदवारीबाट । यो सजिलो थिएन । अमेरिकी अर्थतन्त्रको धर्मराएको अवस्था, जो बाइडेनको खस्किरहेको राजनीतिक छवि र डोनाल्ड ट्रम्पको नारी विरोधी, पुरुषप्रधान सोचले कमलालाई एक शक्तिशाली र समर्पित नेता बन्नुपर्ने चुनौती थियो ।
यस चुनौतीपूर्ण परिस्थितिमा, उनले आफूलाई मात्र एक महिला उम्मेदवारको रूपमा नभई परिवर्तनकारी नेताका रूपमा प्रस्तुत गर्नुपर्ने थियो । ह्यारिस, जब राष्ट्रपति उम्मेदवार बन्ने घोषणा गरिन्, उनले महिला र लिङ्गका आधारमा असंख्य आक्रमणहरूको सामना गर्न बाध्य भइन् ।
डेमोक्र्याटिक पार्टीमा उनलाई एक ‘ड्यामेज कन्ट्रोल’ को रूपमा हेरिएको थियो, जसको कारण उनले तत्कालीन रूपमा धेरै दबाब र संघर्षको सामना गर्नु परेको थियो । ह्यारिसको उम्मेदवारीले एक ठूलो आन्दोलनको रूप लिइरहेको थियो जसले अमेरिकी राजनीतिको संरचनात्मक असमानतासँग जुध्दै महिलाहरूका लागि समान अधिकार र अवसरको पक्षमा आवाज उठाउनु थियो ।
जुन अवस्थामा उनी उम्मेदवार बनिन् र जे-जस्तो चुनौती सामना गरिन्, कमला ह्यारिसको पराजयले महिला नेतृत्व र परिभाषामा नयाँ विमर्शको आरम्भ गरेको छ ।
फर्केर हेर्दा, डोनाल्ड ट्रम्पको निरन्तर आक्रमण र महिलाका बारेमा गरिएका अपमानजनक टिप्पणीहरूले ह्यारिसको अभियानलाई कमजोर बनाउने काम गरे । ट्रम्पका समर्थकहरू ह्यारिसको उम्मेदवारीलाई मात्र उनको लिङ्गको कारण कमजोर देखाउन चाहन्थे । इलन मस्कको ट्रम्पको पक्षमा गरिएको समर्थनले धेरै चर्चा निम्त्यायो ।
ट्रम्प महिला नेतृत्वको विरोध गर्दै, यौनवादी टिप्पणी र अपमानजनक व्यवहारको साथ ह्यारिसको उम्मेदवारीलाई कमजोर बनाउन चाहन्थे । अमेरिकामा १७ भन्दा बढी महिलाले ट्रम्पमाथि यौन दुर्व्यवहारका आरोप लगाए, जसमा बलात्कार र कुटपिट जस्ता गम्भीर आरोप थिए । २०२३ मा, एक जुरीले ट्रम्पलाई यौन दुव्र्यवहारको दोषी समेत ठहरायो ।
नेपालमा पनि महिलाका अधिकार र समावेशिताको लागि समान कदमहरू उठाउन आवश्यक छ । ह्यारिसको दृष्टिकोणले हामीलाई सिकाउँछ कि महिला अधिकार केवल महिला समस्यामा सीमित छैन, यो समाजका प्रत्येक सदस्यको अधिकारको सवाल हो
यो क्रम यहीं रोकिंदैन । जस्तै नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्सले महिलाहरूप्रति पितृसत्तात्मक र आपत्तिजनक टिप्पणी गरे, जसले अमेरिकाको नेतृत्वको बारेमा प्राचीन विचारधारालाई बल पुर्यायो । यसले अमेरिकाको नेतृत्वको लागि ‘बलियो’ र ‘मर्दाना’ पुरुषको छवि सिर्जना गरेको थियो ।
यस्तो कठिन परिस्थितिमा पनि कमला ह्यारिसले महिला पीडितको कार्ड नखेल्ने निर्णय गरिन् र आफूलाई केवल महिला उम्मेदवारको रूपमा प्रस्तुत नगरी, एक सशक्त र प्रगतिशील अल्फा लिडरको रूपमा प्रस्तुत गरिन् ।
उनको उद्देश्य अमेरिकी चुनाव जित्नु मात्र होइन, बलियो नेतृत्वको प्रतीक बनाउँदै सबै वर्गका महिलाहरूसम्म समान अधिकार र अवसरको सन्देश पुर्याउनु थियो । ह्यारिसको यात्रा आजको राजनीति र भविष्यका लागि एक नयाँ मापदण्ड स्थापना गर्ने प्रयास थियो । यसमा दुई वटा कारण विशेष चर्चामा रह्यो ।
पहिलोः २०१६ को चुनावमा हिलारी क्लिन्टनको महिला उम्मेदवारको शक्तिशाली न्यारेटिभ र अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने पोट्रेयलले कमला ह्यारिसलाई एक पाठ दिन बाध्य बनायो । क्लिन्टनले महिलाको नेतृत्वलाई ऐतिहासिक र प्रतीकात्मक रूपमा प्रस्तुत गर्दा, उनले महिलाको लिङ्गको आधारमा मात्र पहिचान गरिएर सामाजिक र राजनीतिक अवरोधहरूको सामना गर्नुपर्यो ।
यसमा मतदाताबाट अपेक्षित समर्थन प्राप्त भएन र यसको परिणामस्वरूप, महिला नेतृत्वको यथार्थ र चुनौतीको वास्तविकता उजागर भयो । यस अनुभवले ह्यारिसलाई सोच्न बाध्य पार्यो कि महिला नेतृत्वलाई केवल लिङ्गको रूपमा प्रस्तुत गर्नु भनेको मात्र एक सीमित र कमजोर दृष्टिकोण हो ।
त्यसैले उनले आफ्नो उम्मेदवारीलाई नयाँ दृष्टिकोण र बलियो नेतृत्वको प्रतीकको रूपमा प्रस्तुत गरिन् । जहाँ उनले आफूलाई महिला उम्मेदवार मात्र नभएर, परिवर्तन र प्रगतिको दूतको रूपमा प्रस्तुत गर्न सफल भइन् । यसले उनलाई महिलाहरूको हक र समानता मात्र होइन, सम्पूर्ण अमेरिकामा समावेशी र सशक्त नेतृत्वको लागि लड्न प्रेरित गर्यो ।
दोस्रो कारण, कमला ह्यारिसको बाल्यकाल र उनकी आमा श्यामला गोपालनको प्रभाव थियो, जसलाई ह्यारिसले हरेक चुनावी अभियानमा सम्मानका साथ सम्झन थालिन् । श्यामला, जो १९ वर्षको उमेरमा क्यालिफोर्निया विश्वविद्यालय बर्कली अध्ययनका लागि अमेरिका गइन् ।
१९६० को दशक अमेरिका अत्यन्त अशान्त र विभाजनकारी समय थियो । नागरिक अधिकार आन्दोलन, भियतनाम युद्ध र राजनीतिक हिंसा जस्ता घटनाहरूले अमेरिकाको समाजमा गहिरो असन्तोष र विभाजन ल्याएका थिए ।
हार स्वीकार गर्दा पनि, ह्यारिसले महिलाहरूको सशक्तीकरण र नेतृत्वको लागि एउटा नयाँ परिभाषा सेट गरिदिइन् । उनले यो देखाइन् कि पितृसत्तात्मक संरचनामा महिलाले केवल महिला नभई नेतृत्वकर्ता पनि हुन सक्छन्
अफ्रिकी अमेरिकनहरूको समान अधिकारको लडाइँ तीव्र थियो भने, भियतनाम युद्धले अमेरिकामा गहिरा सामाजिक र राजनीतिक मतभेदहरू उत्पन्न गरेको थियो । जसले अमेरिकी समाजलाई संकट र असुरक्षाको अवस्थामा पुर्याएको थियो । हो यति बेलै, श्यामलाले जमैकन नागरिक डोनाल्ड ह्यारिससँग भेट गरिन् र १९६४ मा कमलाको जन्म भयो ।
कमला ह्यारिसकी हजुरआमा भारतीय स्वतन्त्र संग्रामकी लडाकु थिइन् र ह्यारिसको जीवनमा धेरै ठूलो प्रभाव पार्न सफल भइन् । आमा र हजुरआमा, शक्तिशाली महिला प्रतीकको रूपमा, कमला ह्यारिसले चुनावी सभामा ट्रम्पको विरुद्ध महिला पीडितको कार्ड खेल्न सकिनन्, बरु उनले आफूलाई एक सशक्त, समावेशी र समान समाज निर्माणको पक्षधर उम्मेदवारको रूपमा प्रस्तुत गर्न प्राथमिकता दिइन् । यसले उनलाई एकमात्र राजनीतिक नेता नभई, प्रगति र समावेशी दृष्टिकोणको प्रतीकका रूपमा प्रस्तुत गर्यो ।
झट्ट हेर्दा, कमला ह्यारिसको हारले फेमिनिजमको चौथो चरणको बहसलाई केही समयका लागि पछाडि धकेलिएको जस्तो लाग्न सक्छ । तर वास्तवमा उनले यस बहसलाई सकारात्मक र समावेशी दिशा दिंदै अघि बढाउनमा सफलता प्राप्त गरिन् ।
ह्यारिसको हारले फेमिनिजमका परम्परागत धारणाहरूको पुनः मूल्यांकन गर्न प्रेरित गर्यो । यसले देखायो कि महिलाका लागि संघर्ष केवल लिङ्गीय समानता मात्र नभई सामाजिक असमानता र विभिन्न वर्गका महिलाहरूको वास्तविकता र अधिकारको पनि सम्मान गर्नुपर्छ ।
महिला नेतृत्वको परिप्रेक्ष्यमा कमला ह्यारिसको कथाले विशेष महत्व राख्छ । उनले आफ्नो नेतृत्व क्षमतामा विश्वास राख्दै महिला अधिकार र समानताको मुद्दामा नयाँ दिशा र दृष्टिकोण प्रस्तुत गरिन् । यसले मात्र महिलाको अधिकारका लागि होइन, सम्पूर्ण समाजका लागि समानता र न्यायको सन्देश प्रवाह भने अवश्य गर्यो ।
ह्यारिसको हारले यो बहसलाई केही समयका लागि रोकिएको जस्तो देखिए पनि, यसले एउटा महत्वपूर्ण सन्देश दिएको छ- समानता र समावेशिता प्राप्त गर्न अझ परिष्कृत र समग्र दृष्टिकोणको आवश्यकता पर्दछ । उनले बुझेको महत्वपूर्ण कुरा यो थियो कि समयको परिवर्तनसँगै महिलाहरूका अधिकारहरू पितृसत्तात्मक संरचनामा समावेश हुने सम्भावना छ ।
महिलाले आफूलाई न्याय र समानता प्राप्त गर्नका लागि संघर्ष गर्नु परेको नयाँ विश्वमा, ह्यारिसले गर्भपतन र महिलाको प्रजनन् अधिकारलाई आफ्ना चुनावी एजेण्डामा प्राथमिकता दिइन् । उनको विश्वास थियो कि महिलाले आफूलाई मात्रै होइन, समग्र समाजको हितमा पनि निर्णय लिनुपर्नेछ । यद्यपि यी मुद्दाहरूले केही स्वीङ स्टेटहरू, जस्तै पेन्सिलभेनिया, जर्जिया, विस्कन्सन, मिसिगनहरूमा चाहेजति प्रभाव पार्न भने सकेनन् ।
ट्रम्पको क्याम्पले ह्यारिसको राजनीतिक करिअरमा आक्रमण गर्नका लागि कमजोर र आप्रवासी नेतृत्वको छवि निर्माण गर्ने रणनीति अपनायो । क्यालिफोर्नियाको महान्यायाधिवक्ता र सिनेटरको रूपमा गरेका केही महत्वपूर्ण निर्णयहरूमाथि प्रश्न उठाइयो, जसले ह्यारिसको नेतृत्व र न्यायिक दृष्टिकोणलाई चुनौती दिइरहेको थियो ।
ट्रम्पका समर्थकहरूले महिलालाई प्रभावकारी निर्णय लिन नसक्नेको रूपमा चित्रण गर्न चाहेका थिए । यसले अमेरिकी समाजमा व्याप्त लिङ्गीय र जातीय पूर्वाग्रहलाई प्रकट गरेको थियो, जसले ह्यारिसलाई राजनीतिक हिसाबले रक्षात्मक अवस्थामा पुर्यायो ।
नेपाली महिलाहरूको समृद्ध भविष्य र नेतृत्वको लागि ह्यारिसको संघर्षले थप बल र विश्वास दिएको छ । यसले महिलालाई मात्रै होइन, समग्र समाजलाई पनि एउटा ठूलो सन्देश र मार्गदर्शन दिने काम गरेको छ
तर, यी सबको बीच, कमला ह्यारिसले आत्मविश्वास र दृढ इच्छाशक्ति देखाएर आफ्नो नेतृत्वलाई अझ मजबुत बनाइन्, आफूलाई एक सशक्त र समावेशी दृष्टिकोणका साथ प्रस्तुत गर्न चाहिन् । ह्यारिसले महिलाको अधिकारका लागि मात्रै होइन, सामाजिक न्याय र समावेशिता प्राप्त गर्नका लागि आफ्नो दृष्टिकोण परिवर्तन गर्नमा विश्वास राखिन् ।
उनको संघर्षले समावेशी र समान समाजको परिभाषालाई नजिक ल्याएको छ । र, फेमिनिजमको यो सामाजिक आन्दोलनमा महिलाहरूको लागि समान अवसरको मागलाई अझ फराकिलो र बलियो बनाएको छ ।
आजको चौथो चरणको फेमिनिजम भने धेरै समावेशी र विविधता भरिएको छ । चौथो चरणमा ‘इन्टरसेक्सनालिटी’ (अन्तरसम्बन्ध) को अवधारणा बढी प्रचलित भएको छ, जसले एक व्यक्तिको पहिचानका विभिन्न पाटा जस्तै यौनिकता, जातीयता, वर्ग र लैङ्गिकताले कसरी उनीहरूको अधिकार र समाजमा स्थानलाई प्रभावित गर्छ भन्ने विषयमा गहिरो बहस र विश्लेषण गर्दछ ।
यो धारणाले फेमिनिजमलाई महिलाको अधिकारका सन्दर्भमा मात्र नभई समग्र सामाजिक असमानता र विभाजनको मुद्दामा पनि योगदान पुर्याइरहेको छ । यसले महिला अधिकारको परिभाषालाई मात्र परिमार्जित नगरी, समावेशी समाजको आवश्यकता र यसको महत्वलाई पनि बल पुर्याएको छ । यसमा महिलाका अधिकारलाई मात्र होइन, यथार्थमा विभिन्न वर्ग र जातका महिलाहरूको वास्तविकता र अनुभवलाई प्राथमिकता दिइन्छ ।
नेपालमा चौथो चरणको फेमिनिजम अझै प्रारम्भिक अवस्थामा छ । यहाँ महिलाका अधिकार र समावेशिताका लागि संघर्ष जारी छ, तर पूर्ण समानता र विविधता अझै हासिल गरिएको छैन । महिलालाई सांस्कृतिक र पारम्परिक अवरोधहरूको सामना गर्नुपर्नेछ, जसले समावेशी समाज निर्माणमा ढिलाइ पुर्याउँछ ।
कमला ह्यारिसले अमेरिकी चुनावमा समानता र समावेशिताको पक्षमा आवाज उठाउँदै, महिलाका अधिकारलाई व्यापक समाजका मुद्दाको रूपमा प्रस्तुत गरिन् । नेपालमा पनि महिलाका अधिकार र समावेशिताको लागि समान कदमहरू उठाउन आवश्यक छ । ह्यारिसको दृष्टिकोणले हामीलाई सिकाउँछ कि महिला अधिकार केवल महिला समस्यामा सीमित छैन, यो समाजका प्रत्येक सदस्यको अधिकारको सवाल हो ।
२०२४ को अमेरिकी चुनाव इतिहासको एक महत्वपूर्ण मोडमा थियो । यस पटक, महिलाले अमेरिकाको सर्वोच्च पदमा पुग्ने ठूलो अवसर पाए पनि गुमेको छ । २०० वर्षभन्दा बढीको अमेरिकी इतिहासमा कुनै महिला राष्ट्रपतिका रूपमा निर्वाचित भएका छैनन् ।
अमेरिकामा महिलाहरूको अधिकारको संघर्ष लम्बिएको मात्रै छैन, यसै वर्षको चुनावमा एकपटक फेरि यो लडाइँ टुङ्गिएको पनि छ । यो दृष्टिकोणबाट हेर्ने हो भने, अमेरिकामा महिलाका लागि उच्चतम पद हासिल गर्न नसक्नु केवल एक वैचारिक समस्या मात्र होइन, यो एक ऐतिहासिक असफलता पनि हो ।
यसको तुलनामा दक्षिणएशियामा महिला नेतृत्वको समृद्ध इतिहास छ, जहाँ महिलाले उच्चतम राजनीतिक पदमा सफलता प्राप्त गरेका छन् । कमला ह्यारिस नजन्मिंदै, श्रीलंकाकी सिरिमावो बन्दरानाइके सन् १९६० मा विश्वको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
ह्यारिसकै मामाघर भारतमा, इन्दिरा गान्धीले १९६६ देखि १९८४ सम्म दुई पटक प्रधानमन्त्रीको पद सम्हालिन् र भारतको राजनीतिक परिप्रेक्ष्यमा एक निर्णायक परिवर्तन ल्याइन् । यसैगरी, बङ्गलादेशकी शेख हसिना, पाकिस्तानकी बेनजीर भुट्टो र नेपालकी विद्यादेवी भण्डारीले पनि आफ्नो देशको नेतृत्व सम्हाल्दै महिलाका लागि नयाँ मार्गदर्शन र सम्भावनाका ढोका खोलेका थिए ।
यी सबै महिलाहरूले समग्र महिलाहरूलाई सशक्त र समावेशी समाजको निर्माणमा नेतृत्वको भूमिका निभाउन प्रेरित गरे । २०२४ सम्म पनि अमेरिका महिलाको हकमा यसमा तयार देखिएन । तर कमला ह्यारिसको चुनावी यात्रा अमेरिकामा महिलाको नेतृत्वको सम्भावना देखाउने महत्वपूर्ण कदम थियो ।
हार स्वीकार गर्दा पनि, उनले महिलाहरूको सशक्तीकरण र नेतृत्वको लागि एउटा नयाँ परिभाषा सेट गरिदिइन् । उनले यो देखाइन् कि पितृसत्तात्मक संरचनामा महिलाले केवल महिला नभई नेतृत्वकर्ता पनि हुन सक्छन् ।
नेपालमा पनि समान परिवर्तनका संकेत देखिन थालेका छन् । यद्यपि महिला सशक्तीकरणको यात्रा अझै लम्बिए पनि महिलाहरूको नेतृत्व र अधिकारको पक्षमा प्रगति भने भइरहेको छ । नेपाली महिलाहरूको समृद्ध भविष्य र नेतृत्वको लागि ह्यारिसको संघर्षले थप बल र विश्वास दिएको छ । यसले महिलालाई मात्रै होइन, समग्र समाजलाई पनि एउटा ठूलो सन्देश र मार्गदर्शन दिने काम गरेको छ ।