कमन ल प्रणालीको उद्गमथलो नियाल्दा



बेलायतको सर्वोच्च अदालतले नेपालका प्रधानन्यायाधीश सहित हामीलाई भ्रमणको निम्तो गरेको थियो । निम्तो मान्दै साताव्यापी बेलायतको न्यायालय भ्रमणका लागि हामी त्यहाँ पुगेका थियौं । हामीले बेलायतको रोयल कोर्ट अफ जस्टिसका अन्तर्राष्ट्रिय सम्बन्ध र तालिमको जिम्मेवारी हेरिरहेका लर्ड जस्टिस डिन्गेमान्स, लर्ड स्नोडेन र जस्टिस ऐडीसँग भेट्यौं । बेलायतमा न्यायाधीशलाई सम्मानस्वरुप लर्ड भनेर पुकारिन्छ ।

बेलायत र वेल्सकी प्रधानन्यायाधीश लेडी चिफ जस्टिस वेरोनेस कार कार्यक्रमस्थलमा प्रवेश गर्नुभयो । उहाँले बेलायती अदालत र न्यायप्रणालीबारे बताउँदा बेलायत र नेपालको न्यायालयमा केही साझा समस्या रहेको थाहा भयो । त्यहाँ पनि अदालती बजेट, न्यायाधीश नियुक्ति र तालिम सम्बन्धी विषयमा समस्या रहेछन् ।

पुनरावेदनमा जानै सकस

भ्रमणको पहिलो दिन हामीले बेलायतको न्यायप्रणाली अवलोकन गर्न थाल्यौं । बेलायतको न्यायप्रणाली बुझ्न त्यहाँको राजनीतिक, न्यायिक एवं शक्तिको भौगोलिक विभाजनको जानकारी आवश्यक पर्छ ।

संयुक्त अधिराज्य इङ्गल्याण्ड र वेल्स, स्कटल्याण्ड तथा नर्दन आयरल्याण्ड गरी तीन भूभागमा विभाजित छ । तीनवटै भौगोलिक क्षेत्रको राजनीतिक पृष्ठभूमि र कानूनी प्रणाली एकापसमा केही भिन्न छन् ।

संवैधानिक सुधार ऐन अनुसार, सन् २००९ मा स्थापित सर्वोच्च अदालतले तीनवटै क्षेत्रका उच्चतम अदालतको पुनरावेदन सुन्ने गर्छ । सर्वोच्च अदालतले बेलायतको प्रतिष्ठित हाउस अफ लर्डस् अर्थात् संसद्को माथिल्लो सभाको न्यायिक समितिलाई प्रतिस्थापन गरेको हो ।

संयुक्त अधिराज्य र नेपालको सर्वोच्च अदालतको पुनरावेदन सुन्ने प्रक्रियामा धेरै भिन्नता रहेछ । त्यहाँ पुनरावेदन निवेदनहरूलाई न्यायाधीशहरूले च्याम्बरमा अध्ययन गरी अनुमति दिने वा नदिने निर्णय गर्दा रहेछन् । केही सीमित मुद्दाहरू मात्र सर्वोच्चमा प्रवेश गर्ने रहेछन् ।

संयुक्त अधिराज्यको सर्वोच्च अदालतमा रिट क्षेत्राधिकार अन्तर्गत कुनै पनि निवेदनहरू सोझै हेरिने व्यवस्था रहेनछ ।

प्राय: मुद्दाहरूको तथ्य र कानूनी विषयलाई तल्लो तहमै स्पष्ट पारिने रहेछ । नेपालमा प्रत्येक तहमा स्वत: पुनरावेदन गर्न पाइने अधिकार रहेकोमा त्यहाँ फरक रहेछ । प्रत्येक तहमा पुनरावेदनको अनुमति दिने वा नदिनेमा न्यायाधीशहरूले च्याम्बरबाटै निर्णय गर्ने रहेछन् ।

त्यसक्रममा ब्यारिष्ट्ररहरूले बहस वा अन्य कुनै भूमिकामा नहुने रहेछन् । सोलिसिटरहरूले तयार पारेको मस्यौदालाई ब्यारिष्ट्ररले जाँच गरेपछि पेश गरिने रहेछ । त्यही निवेदनमै सम्बन्धित मुद्दा, कानूनको व्याख्या र सार्वजनिक महत्वको दृष्टिकोणबाट पुनरावेदन हेर्न उपयुक्त छ भन्ने पुष्टि गर्नुपर्ने रहेछ ।

पुनरावेदनको अनुमति नभएमा मुद्दा त्यहीं अन्त्य भएको मानिने रहेछ । इङ्गल्याण्ड र वेल्सका तल्लो तहका अदालत अर्थात् काउन्टी, मेजिष्ट्रेट वा क्राउन कोर्टको फैसलामाथि विषयवस्तुको प्रकृति अनुसार उच्च अदालतको रूपमा रहेका किङ्स कोर्ट, पारिवारिक र चान्सरी कोर्टमा पुनरावेदन लाग्ने रहेछ ।

विदेशमा सदस्यता बाँड्ने अदालत

लन्डनको प्रसिद्ध ओल्ड बेली अर्थात् सेन्ट्रल क्रिमिनल कोर्टले गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरूलाई क्राउन कोर्टकै रूपमा ट्रायल कोर्ट सरह मुद्दा हेर्ने रहेछ ।

सेन्ट्रल क्रिमिनल कोर्टको फैसलामाथि हाई कोर्ट अर्थात् उच्च अदालतमा पुनरावेदन लाग्ने रहेछ । हाई कोर्टबाट भएका निर्णयमाथि कोर्ट अफ अपिलको देवानी र फौजदारी इजलासमा पुनरावेदन हुने रहेछ ।

काउन्टी, मेजिष्ट्रेट र क्राउन कोर्टबाट भएका फैसलाको पुनरावेदन हेर्ने किङ्स बेन्च (फौजदारी मुद्दाका लागि), फ्यामिली बेन्च (पारिवारिक मुद्दाका लागि) र चान्सरी बेन्च (आर्थिक, सम्पत्तिजन्य र व्यापारिक प्रकृतिका मुद्दाका लागि) भएको उच्च अदालत हुने रहेछ ।

त्यसमाथि पुनरावेदन सुन्न देवानी र फौजदारी इजलास भएको कोर्ट अफ अपिल नै इङ्गल्याण्ड र वेल्सको अन्तिम अदालतको रूपमा रहेका छन् । त्यसको पनि पुनरावेदनका लागि अनुमति पाउन बेलायतको सर्वोच्च अदालतमा निवेदन दिइने रहेछ । ठूलो संख्याका निवेदनमध्ये केहीले मात्र अनुमति पाउने रहेछन् ।

इङ्गल्याण्ड र वेल्सको न्यायालयले हालै मात्र उच्च अदालतमा चान्सरी कोर्ट सरह स्ट्याण्डिङ इन्टरनेशनल फोरम अफ कमर्सियल कोर्टस् नामक अदालत स्थापना गरेको रहेछ । उक्त अदालतले मध्यस्थता, सिपिङ र इन्सल्भेन्सी जस्ता व्यापारिक कानूनसँग सम्बन्धित केही विशिष्ट मुद्दा हेर्ने रहेछ ।

अन्य देशहरूले समेत त्यस अदालतको सदस्यता लिन सक्ने रहेछन् । सदस्यता लिने मुलुकका अदालतहरूले व्यापारिक कानूनसँग सम्बद्ध मुद्दाहरूको अन्तिम निर्णय गर्न स्ट्याण्डिङ इन्टरनेशनल फोरम अफ कमर्सियल कोर्टस्मा सिफारिस गर्न सक्ने रहेछन् ।

संयुक्त अधिराज्यले उक्त अदालतलाई विशिष्ट प्रकृतिका व्यापारिक, राष्ट्रिय र तुलनात्मक क्षेत्रका मुद्दाहरूको फैसला गर्न सक्ने गरी क्षेत्राधिकार प्रदान गरेको रहेछ ।

हाम्रो औपचारिक बैठक स्ट्याण्डिङ इन्टरनेशनल फोरम अफ कमर्सियल कोर्टस्का न्यायाधीश नोल्ससँग तय भएको थियो । उहाँसँगको भेटमा उक्त अदालतको गठन, क्षेत्राधिकार र अन्य देशहरूले सदस्यता लिन सक्ने विषयमा कुराकानी भयो । उहाँले नेपालले नि:शुल्क सदस्यता लिई उक्त अदालतका विशेषता र विज्ञताको ज्ञान र विशिष्टता उपभोग गर्न सक्ने सुझाव दिनुभयो ।

उक्त अदालतमा काम गर्ने कर्मचारी र न्यायाधीशहरूको विशेषज्ञता हाम्रा लागि अनुशरणीय रह्यो । नेपालका उच्च अदालतहरूमा वाणिज्य इजलास गठन गरी विशिष्टता हासिल गर्नेतर्फ कदम बढाइएको थियो । तर पनि बेलायतको विशिष्टीकृत न्यायप्रणालीको साक्षात्कार गर्दा हामीले धेरै काम गर्न बाँकी रहेको अनुभूत भयो ।

त्यसपछि ब्यारिष्टर मार्क हिल के.सी. (किङ्स काउन्सेल)ले हाम्रा लागि आयोजना गरेको लेक्चर सत्रमा सामेल भयौं । बेलायतका चार इन्स अफ कोर्ट मध्ये एक इनर टेम्पलमा आयोजित समारोहमा अंग्रेजी कानूनी प्रणालीका विज्ञ समेत रहेका प्राध्यापक जेम्स लीलाई त्यहाँको अदालती प्रणाली र कार्य प्रक्रियाबारे जानकारीमूलक सत्रमा बोलाइएको रहेछ ।

डेढ घण्टा चलेको सत्रमा प्राध्यापक जेम्स लीले बेलायती अदालती प्रणालीको विगतदेखि वर्तमानसँग परिचित गराउनुभयो । उहाँले संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधीशको पृष्ठभूमि, शिक्षा, उहाँहरूले गरेको फैसला, अदालतको कार्यप्रकृति र प्रिभि काउन्सिलमा न्यायाधीशहरू कसरी मुद्दाहरूमा विभाजित हुन्छन् भन्ने समेत बताउनुभयो ।

त्यसपछि हामी वेस्टमिनिष्टर बरोतर्फ लाग्यौं । बेलायतको चारवटा शक्ति केन्द्र संसद् (हाउस अफ कमन्स र हाउस अफ लर्डस्), करिब १२ सय वर्षको इतिहास बोकेको वेस्टमिनिस्टर आबे भन्ने चर्च, सर्वोच्च अदालत र बकिङ्घम दरबार ट्राफलगर स्क्वायरको आसपास र थेम्स नदीको किनारमा रहेका छन् ।

न्यायालय सुरक्षामा गोर्खाली

हामी संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष (प्रेसिडेन्ट)सँग भेट्दै थियौं । सहजीकरण गर्न अध्यक्षका निजी सचिवलाई खटाइएको रहेछ । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि अध्यक्षको बैठक कक्षसम्म पुग्न उहाँले साथ दिनुभयो ।

सर्वोच्च अदालत प्रवेश गर्दा त्यहाँको सुरक्षाका लागि नेपालीहरू खटिएको पायौं । निजी सचिवले सर्वोच्च अदालतको सुरक्षाका लागि अवकाशप्राप्त गोर्खाहरूलाई खटाइएको जानकारी दिनुभयो । हामीलाई अध्यक्ष लर्ड रिड, उपाध्यक्ष लर्ड हज र सो अदालतको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने एक जना अधिकारीले स्वागत गर्नुभयो ।

सर्वोच्च अदालतका अध्यक्ष र उपाध्यक्ष दुवै स्कटल्याण्डका हुनुहुँदोरहेछ । उहाँहरू नेपालको संविधान, अदालती अभ्यास, कूटनीतिक सम्बन्ध र गोर्खाहरूको योगदानबारे जानकार हुनुहुँदोरहेछ ।

बेलायतको सर्वोच्च अदालतमा विभिन्न देशबाट न्यायिक भ्रमण हुँदोरहेछ । कतिपय देशहरूसँग सहकार्यको लिखित समझदारी समेत रहेछ ।

संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष सहितको समूहसँगको बैठकपछि संसद् भवन (हाउस अफ लर्डस्) का सदस्य लर्ड गार्नियर के.सी. (किङ्स काउन्सेल)सँग भेटघाट तय गरिएको थियो । लर्ड गार्नियर पहिले सोलिसिटर जनरल हुनुहुँदोरहेछ । त्यहाँ सोलिसिटर जनरल र एटर्नी जनरल संसद्को सदस्य हुने अभ्यास रहेछ ।

उहाँहरू मन्त्री वा राज्यमन्त्री सरह मन्त्रिपरिषद्को बैठकमा बस्ने अभ्यास रहेछ । सोलिसिटर जनरल र एटर्नी जनरल प्राय: ब्यारिष्ट्रर र सोलिसिटर मध्येबाट नियुक्त हुने रहेछन् । लर्ड गार्नियरसँग हाउस अफ कमन्सको पूर्व सदस्य र सोलिसिटर समेत रहेका डेविड वुरोज पनि हुनुहुन्थ्यो ।

हाउस अफ कमन्सको एउटा समितिको बैठक कक्षमा हामीले भेटवार्ता गर्‍यौं । उहाँले हामीलाई बेलायतको संसद् अर्थात् हाउस अफ कमन्स र हाउस अफ लर्डस्को बारेमा जानकारी गराउनुभयो । साथै, कानूनी पृष्ठभूमि भएका सोलिसिटर र ब्यारिष्ट्ररहरू कसरी राजनीति र नीति तथा कानून निर्माणमा संलग्न हुन्छन् भन्नेबारे बेलीविस्तार लगाउनुभयो ।

लर्ड गार्नियरसँगको भेटपछि हामीले हाउस अफ कमन्सका स्पिकर अर्थात् सभामुख सर लिन्ड्से होईलसँग भेट गर्‍यौं । सर होईल ब्यारिष्ट्रर समेत हुनुहुँदोरहेछ । बेलायतले विदेशी सहायता कटौती गर्दै गइरहेकोमा नेपाललाई असर नपरोस् भनी हाम्रा राजदूतले कोशिश गर्नुभएको रहेछ ।

बैठकमा हामीलाई जुडिसियल एपोइन्टमेन्ट कमिसनका सदस्य तथा न्यायाधीश तनवीर इक्राम र उहाँका सहयोगीहरूले उक्त कमिसनको आवश्यकता, गठन, कार्य प्रक्रिया बताउनुभयो । उहाँले न्यायाधीशको सिट संख्याको निर्धारण, विज्ञापन, मौखिक परीक्षा, अन्तर्वार्ता र छनोट जस्ता विषयमा जानकारी दिनुभयो ।

सार्वभौम संसद्, स्वतन्त्र सांसद

हामीले सर्वोच्च अदालत र संसद्का प्रतिनिधिहरूसँग भेट गर्दैगर्दा उहाँहरूको समान कानूनी क्षेत्रगत पृष्ठभूमि चाखलाग्दो पायौं । तर, सर्वोच्च अदालत र सभामुखको कार्यालय र सर्वोच्च अदालतका अध्यक्ष र सभामुखको हाउभाउमा स्पष्ट भिन्नता देख्न सकिन्थ्यो ।

त्यसक्रममा बेलायती संसद्को सार्वभौमसत्ता र प्रभुत्वको त्यहाँ प्रत्यक्ष आभास हुन्थ्यो । हामीलाई ब्यारिष्ट्रर मार्क हिलले ‘हाउस अफ कमन्स’मा कानूनको कुनै एउटा दफामा मतदान भइरहेको छ, हेर्न जाऔं’ भन्ने प्रस्ताव राख्नुभयो ।

हाउस अफ कमन्सको बैठक कक्षको दर्शकदीर्घामा बसी मत प्रक्रिया हेरियो । संयोगवश प्रस्ताव गरिएको कानूनी दफाको पक्ष/विपक्षमा बराबर मत खस्यो । सांसदहरू कुनै न कुनै दलमा आबद्ध भए खासखास विषय बाहेकमा स्वतन्त्र रूपमा मत प्रदान गर्न सक्ने अभ्यासका कारण त्यसरी मत बराबर हुने वा जुनै पक्षमा पनि बहुमत पुग्ने रहेछ ।

मतदान हेरेपछि हामी हाउस अफ लर्डस्को बैठक हेर्न जाँदै थियौं । तर बैठक सकिएकाले हाउस अफ कमन्स र हाउस अफ लर्डस्को मध्यबिन्दुतिरको भवनको कला, इतिहास र वैभव हेर्न गयौं ।

हामीसँगै रहनुभएका पूर्व एम.पी. एवं सोलिसिटर समेत रहेका डेभिड वुरोजले एउटा सानो घेरालाई देखाउँदै ‘सरोकारवाला र सामान्य मानिसले हाउस अफ कमन्स र लर्डस्का सदस्यलाई आफ्ना कुरा सुनाउने स्थान हो, समयक्रममा त्यही बिन्दुलाई लबी भन्न थालिएको रहेछ ।

त्यो ठाउँ र अभ्यास वर्षौंदेखि यथावत् छ । लबी भन्ने अंग्रेजीको एक शब्द आफ्ना कुरा राख्न वा पहुँचमा रहेका व्यक्तिलाई अनुरोध गर्न वा प्रभाव पार्न गरिने कामको रूपमा संसारभर प्रसिद्ध छ ।

हामीले बेलायतको संसद् भवन र संसदीय प्रणालीको अवलोकन गरिसक्दा साँझको आठ बज्नै लागेको थियो । हामीसँगै रहनुभएका ब्यारिष्ट्रर मार्क हिलले ‘म सदस्य भएको क्लबमा खाना खानुभएन भने यहाँको क्लब संस्कृति बुझ्न सक्नुहुन्न, त्यतै जाऔं’ भन्नुभयो ।

क्लबमा ब्यारिष्ट्रर, सोलिसिटर, न्यायाधीश, वैज्ञानिक र सामाजिक तथा राजनीतिक जीवनमा प्रतिष्ठित व्यक्तिहरू पनि सदस्य रहेछन् । सदस्यता लिएकाहरू मात्र क्लबमा प्रवेश पाउने रहेछन् । आश्चर्य, अझै पनि कतिपय क्लबले महिलालाई प्रवेश दिंदा रहेनछन् ।

शुरुमा पार्टटाइम, अनि बल्ल न्यायाधीश

भ्रमणको दोस्रो दिन हामी जुडिसियल एपोइन्टमेन्ट कमिसन पुग्यौं । कमिसन बेलायतको कानून तथा न्याय मन्त्रालयको भवनमा रहेछ । कानून मन्त्रीलाई चान्सलर वा कानून तथा न्याय सचिव भनिंदो रहेछ । बेलायतमा चान्सलर शब्दको प्रयोग रोचक नै छ । लर्ड चान्सलर भन्नाले उच्च अदालतको चान्सरी डिभिजनको न्यायाधीश बुझ्नुपर्दछ, चान्सलर भन्नाले कानून मन्त्री र चान्सलर अफ एक्सचेकेर भन्नाले अर्थमन्त्री भन्ने बुझ्नुपर्दछ ।

बैठकमा हामीलाई जुडिसियल एपोइन्टमेन्ट कमिसनका सदस्य तथा न्यायाधीश तनवीर इक्राम र उहाँका सहयोगीहरूले कमिसनको आवश्यकता, गठन, कार्य प्रक्रिया, न्यायाधीशको सिट निर्धारण, विज्ञापन, मौखिक परीक्षा, अन्तर्वार्ता र छनोट जस्ता विषय जानकारी दिनुभयो ।

नेपाल र बेलायतको न्यायाधीश सिफारिस गर्ने परिषद्को कार्य प्रकृति केही फरक रहेछ । नेपालमा न्यायपरिषद्ले नै न्यायाधीशको नियुक्ति तथा कारबाहीको विषय हेर्छ भने बेलायतमा यी दुई कामका लागि छुट्टाछुट्टै निकाय छन् ।

जुडिसियल एपोइन्टमेन्ट कमिसनले न्यायाधीश नियुक्ति गर्दोरहेछ भने कारबाही लगायतका प्रक्रियाका लागि जुडिसियल कन्डक्ट इन्भेस्टिगेशन कमिसनको स्थापना भएको छ ।

न्यायाधीश नियुक्ति गर्न अधिकारप्राप्त जुडिसियल एपोइन्टमेन्ट कमिसनको पदेन सदस्य बाहेक अन्य सदस्य छनोट हुन अन्तर्वार्ता प्रक्रियाबाट अघि बढ्नुपर्छ । पाकिस्तानी मूलका न्यायाधीश तनवीर इक्राम पनि त्यही प्रक्रियाबाट छनोट हुनुभएको रहेछ । कमिसनका कुनै पनि सदस्य पूर्णकालीन रहेनछन् ।

कमिसनको सूचनामा बैठक बस्ने रहेछ र कमिसनरहरू आवश्यक काम पर्दा वा बैठक बस्दा मात्र कार्यालय आउने अभ्यास रहेछ । सन् २००५ को संविधान सुधार ऐनपछि शुरु गरिएको यस प्रक्रियाले न्यायिक नियुक्तिमा पारदर्शिता, वस्तुगत, अनुभव र व्यावसायिकतामा प्रसिद्धि कमाएको रहेछ ।

बेलायतमा न्यायाधीश नियुक्तिको प्रथम चरणमा कानून तथा न्याय मन्त्रालयले संख्या यकिन गर्दोरहेछ, त्यसपछि विज्ञापन गरिंदो रहेछ । इच्छुक आवेदकहरूले आफ्नो विवरण उल्लेख गरी फारम भर्छन् । अनि अन्तर्वार्ताबाट छनोट हुनुपर्दोरहेछ, छनोट नभएमा आधार र कारण लिखित रूपमा इमेलबाट जानकारी गराइँदोरहेछ ।

वस्तुगत प्रश्नमा आधारित अन्तर्वार्तामा सामेल भइसकेपछि आवेदकहरूले अनौपचारिक रूपमा तयार बेन्चबाटै न्यायाधीशको भूमिका गर्नुपर्दो रहेछ । आवेदकहरू मूलत: ब्यारिष्ट्रर र केही सोलिसिटर पृष्ठभूमिका हुँदारहेछन् । उनीहरू सम्बन्धित अदालतको पार्ट टाइम वा फुल टाइम न्यायाधीशमा नियुक्त हुनसक्ने रहेछन् ।

फि पेइङ वा पार्ट टाइम न्यायाधीशको पदका ब्यारिष्ट्ररहरूले केही मुद्दामा न्यायाधीशको भूमिका निर्वाह गर्दा रहेछन् । उनीहरू मुद्दामा अभियोजन गर्ने सरकारी वकिलको जस्तै काम गर्न सक्ने रहेछन् । उनीहरूले ब्यारिष्ट्ररको भूमिकामा आफ्नो पक्षको कानूनी प्रतिरक्षा समेत गर्दा रहेछन् ।

फि पेइङ न्यायाधीशहरू स्थायी, फुल टाइम वा स्यालरिड जज बन्न कमिसनको न्यायाधीश नियुक्तिको प्रक्रिया फेरि पार गर्नुपर्ने रहेछ । ७५ वर्ष उमेरहद हुने न्यायाधीशहरू फर्केर अन्य न्यायिक वा व्यावसायिक काम गर्न नपाउने रहेछन् ।

त्यहाँ लोकसेवा प्रक्रियाबाट छनोट भएका हाम्रो जस्तो करियर न्यायाधीशको व्यवस्था भएको पाएनौं । बेलायतको न्यायाधीश नियुक्तिमा यो मुख्य भिन्नता रहेछ, हामी बरु भारतको न्यायिक व्यवस्थाको नजिक रहेछौं । बेलायतमा मूलत: ब्यारिष्ट्ररसिप नै अदालतमा बहस गर्ने र न्यायाधीश उत्पादन गर्ने प्रमुख थलो रहेछ । कर्मचारीहरू सार्वजनिक सेवाबाट निवृत्त नहुन्जेल आफ्नो पद सोपानमा काम गर्न पाउने रहेछन् ।

म्याग्नाकार्टा लेखिएको टेम्पल चर्च

दोस्रो दिन फुर्सदको समय हामी वेस्टमिनिस्टर आबे गयौं । १४ वटा राजाको अन्त्येष्टि गरिएको वेस्टमिनिस्टर आबे नामले प्रसिद्ध उक्त चर्चले बेलायतको धार्मिक शक्ति र इतिहासको प्रतिविम्ब गर्ने रहेछ ।

वेस्टमिनिस्टर आबेको नजिकै बेलायतका ब्यारिष्ट्ररहरूको गुरु संस्थाको रूपमा रहेको चारवटा इन्स अफ कोर्ट (लिन्कन्स इन, मिडल टेम्पल, इनर टेम्पल, ग्रेज इन) समेत रहेछन् । इन्सहरूमा आफ्नो छनोट र पहुँचको आधारमा इन्टर्नको रूपमा प्रवेश गरेका कानूनका विद्यार्थीहरू त्यहाँ चेम्बर प्राप्त गरेपछि अदालती अभ्यास गर्दै ब्यारिष्ट्ररसिपको यात्रा तय गर्ने रहेछन् ।

यी इन्सहरू ऐतिहासिक छन् । प्राय: सबै न्यायाधीश र ब्यारिष्ट्ररहरू कुनै न कुनै इन्ससँग आबद्धता राख्छन् । उनीहरू आफू सम्बद्ध रहेको इन्सहरूको औपचारिक डिनर वा लन्चमा पदीय हैसियत पर राखी केवल एक सदस्यको रूपमा सहभागी हुने रहेछन् ।

हाम्रो भ्रमण संयोजन गर्ने ब्यारिष्ट्रर चारवटा इन्स अफ कोर्टमध्ये एक इनर टेम्पलको सदस्य हुनुहुन्थ्यो । उहाँको समन्वयमै हामीले इनर टेम्पलको भ्रमण गर्‍यौं । इनर टेम्पलसँगै रहेको टेम्पल चर्चको आफ्नै भव्यता र ऐतिहासिक महत्व छ ।

उक्त टेम्पल चर्चको इतिहास सन् १२१५ को म्याग्नाकार्टासँग जोडिएको रहेछ । उक्त टेम्पल चर्चमा सन् १२१५ मा म्याग्नाकार्टा लेखिएको रहेछ । त्यति पुरानो ऐतिहासिक चर्चमा दोस्रो विश्वयुद्ध ताका बम वर्षा भएको भए पनि म्याग्नाकार्टाको इतिहास अझै जीवित नै रहेछ । टेम्पल चर्चलाई कमन ल प्रणालीको मातृसंस्था अर्थात् मदर चर्च पनि भनिंदो रहेछ ।

इनर टेम्पलको भ्रमणपछि हामी बार काउन्सिल अफ इङ्गल्याण्ड र वेल्स लाग्यौं । बार काउन्सिलसँगको बैठकमा अध्यक्ष बारबरा मिल्स के. सी., अन्तर्राष्ट्रिय विभागका हज मर्सर र नाटली डा तथा नीति विभागका प्रमुख फिल रोवर्टशनसँग हाम्रो भेटघाट भयो । अध्यक्ष मिल्स काउन्सिलको अफ्रिकी मूलकी प्रथम अध्यक्ष हुनुहुँदोरहेछ ।

ब्यारिष्ट्ररहरूको आ–आफ्नै रुचि

इङ्गल्याण्डमा बार काउन्सिल अध्यक्ष एक वर्षको कार्यकालका लागि निर्वाचित हुने रहेछन् । कार्यकाल अवधिभर अध्यक्षले अन्य हैसियतमा संलग्न हुन नपाइने रहेछ । बार काउन्सिलको कुनै तहको नेतृत्वदायी पदमा रहेको व्यक्तिले आफूलाई अर्को स्वरूपमा प्रस्तुत नगर्ने रहेछन् ।

झट्ट सुन्दा बार काउन्सिल ब्यारिष्ट्ररहरूलाई नियमन गर्ने संस्था जस्तो ठानिए पनि त्यो विभिन्न तहका अदालतमा भएका विशिष्टकृत ब्यारिष्ट्ररहरूको निर्वाचित इकाईबाट पुन: निर्वाचित भएको नेपाल बार एशोसिएसन जस्तो संस्था रहेछ ।

बार काउन्सिलको स्ट्याण्डर्ड बोर्ड नामक अनुशासनात्मक विषय हेर्ने छुट्टै बोर्ड रहेछ । आचारसंहिताको उल्लंघन भएमा उक्त बोर्डले स्वतन्त्रपूर्वक कारबाहीको प्रक्रिया अघि बढाउने रहेछ । बैठकमा बार काउन्सिल अफ इङ्गल्याण्ड र वेल्सकी अध्यक्ष मिल्सले संगठन र संगठनमा आबद्ध अठार हजार सदस्यसँगको सहकार्यबारे प्रस्तुति दिनुभयो ।

उहाँले बारको अन्तर्राष्ट्रिय सम्बन्धबारे प्रस्तुति दिंदै नेपाल बार एशोसिएसनसँग सहकार्य गर्ने इच्छा रहेको उल्लेख गर्नुभयो । हामीले नेपाल बार एशोसिएसनसँग सम्बन्ध अघि बढाउन सुझाव दियौं । नेपालका प्राध्यापक डा. सुर्य सुवेदी पनि त्यस संस्थाको सदस्य हुनुहुँदोरहेछ ।

हामीले त्यहाँका ब्यारिष्ट्ररहरूको राजनीतिक संलग्नता, न्यायाधीश, पार्ट टाइम न्यायाधीश, प्रोसिक्युटर, सामाजिक अभियन्ता जस्ता भूमिकालाई कसरी व्यवस्थित गर्नुहुन्छ भन्ने जिज्ञासा राख्यौं । उहाँहरूले बेलायतको लामो समयको कानूनी र न्यायिक सांस्कृतिक अभ्यासको कारण त्यस्तो सम्भव भएको जवाफ दिनुभयो ।

ब्यारिष्ट्ररहरूले आफ्नो व्यावसायिक अभ्यास एक बिन्दुमा पुगेपछि चाख र सरोकारको विषयमा मात्र काम गर्दा रहेछन् । राजनीतिक इच्छा भएका ब्यारिष्ट्ररहरू अदालतहरूमा बहस गर्न आए पनि अन्य न्यायिक काममा संलग्न हुँदैनन् भनी बताउनुभयो ।

ब्यारिष्ट्ररहरू सांसद वा मन्त्री वा कुनै विभागको प्रमुख समेत हुनसक्ने रहेछन् । हामीसँगै भ्रमणमा रहनुभएका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ‘त्यस्तो कसरी सम्भव हुने रहेछ ?’ भनी पुन: प्रश्न गर्नुभयो ।

जवाफमा अध्यक्ष मिल्सले भन्नुभयो, ‘ब्यारिष्ट्ररसिप वा कानूनी क्षेत्रमा एउटा अदृश्य सीमारेखा छ जसको सबैले सम्मान गर्ने गरेका छन् ।’

नेपालको सन्दर्भमा भने यस्तो संस्कृतिको विकास गर्न धेरै मिहिनेत र त्याग गर्नुपर्ने देखिन्छ । कानून व्यवसायीहरू समयमै रुचि अनुसारका काममा संलग्न हुनुपर्ने र विशिष्टता, न्यायिक निष्पक्षता र स्वतन्त्रताको रक्षा गर्नु आवश्यक देखिन्छ ।

रेलमा हिंड्ने न्यायाधीशहरू

हामीले कानूनका प्राध्यापक जेम्स लीसँगको भेट र कुराकानीमा बेलायतको प्राज्ञिक क्षेत्र पूर्ण रूपमा नै प्राज्ञिक रहेको थाहा पायौं । कुनै व्यक्ति ब्यारिष्ट्रर वा न्यायाधीश हुनसक्ने भए पनि प्राज्ञिक क्षेत्रबाट ब्यारिष्ट्रर हुँदै न्यायिक क्षेत्रमा प्रवेश गर्न निकै कठिन वा प्राय: असम्भव हुने रहेछ ।

बार काउन्सिलको बैठक लामो समयसम्म चाखलाग्दो रूपमा चल्यो । उहाँहरूलाई हाम्रा अभ्यासहरू केही अनौठो लाग्यो र अमेरिकन प्रणालीको सामीप्यता रहेको निष्कर्ष सुनाउनुभयो ।

हामी कमन ल प्रणालीमा वकालत, न्यायिक कार्य, राजनीति, बार, न्यायाधीश, न्यायपरिषद्मा संयुक्त अधिराज्यभन्दा केही फरक रहेछौं । त्यसमा न भारत, न त अमेरिका न बेलायत जस्तो देखिएको अनुभूत भयो ।

बैठकपछि हामी नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भयौं । लर्ड रिड अर्थात् त्यहाँको सर्वोच्च अदालतका अध्यक्षले कमन लको प्रभाव, स्थानीयकरण र त्यसको आयाम तथा न्यायिक स्वतन्त्रताको हकमा नेपाल–बेलायत सम्बन्ध र गोर्खा सैनिकको योगदानका बारेमा मन्तव्य दिनुभयो ।

प्राध्यापक सूर्य सुवेदीले नेपालको सर्वोच्च अदालतले गरेका केही महत्वपूर्ण फैसलाहरूको व्याख्या गर्नुभयो । र हाम्रो न्यायिक स्वतन्त्रता र अभ्यासको अन्तर्राष्ट्रिय आयामबारे स्पष्ट पार्नुभयो ।

कार्यक्रम समापन भइसकेपछि बेलायती न्यायाधीशहरू फर्किने क्रम शुरु भयो । लर्ड रिडले बाहिर राखिएको आफ्नो झोला टिप्नुभयो र विदा हुन आउनुभयो । हाम्रा प्रधानन्यायाधीशले उहाँलाई ‘तपाईं कसरी जानुहुन्छ ?’ भनी प्रश्न गर्नुभयो ।

उहाँले ‘करिब १५ मिनेट हिंडेपछि ट्यूव अर्थात् अन्डरग्राउण्ड रेल भेट्छु र त्यसबाट ४५ मिनेटको यात्रापछि घर पुग्छु’ भनेर जवाफ दिनुभयो । उपाध्यक्षको जवाफ पनि त्यस्तै रह्यो । प्राय: सबै न्यायाधीश त्यसरी नै आउनुभएको थियो र फर्किएर जानुभयो ।

हाम्रा राजदूतले प्रधानन्यायाधीशको अनुरोधमा हामीलाई दिइएको गाडीमा अध्यक्ष र उपाध्यक्षलाई पुर्‍याउन पठाउनुभयो । उहाँहरू निकै अप्ठेरो मानेर गाडीमा चढ्नुभयो ।

बेलायतका न्यायाधीशहरूको सादा जीवनशैली हाम्रो लागि प्रेरणादायी थियो । सार्वजनिक यातायात र सुरक्षाको राम्रो बन्दोबस्त नभए पनि नेपालमा हाम्रो सुरक्षा र सुविधामा प्रदान गरिएका आयामबारे पुनर्विचार गर्ने दिन आइसकेको देखिन्छ ।

न्यायकी देवीका खुल्लै आँखा

भ्रमणको तेस्रो दिन हामीले ओल्ड बेलीस्थित केन्द्रीय फौजदारी अदालत अवलोकन गर्‍यौं । अन्यभन्दा त्यस अदालतमा सुरक्षा व्यवस्था कडा रहेछ । हामीले त्यहाँ न्यायाधीश एन्थोनी लियोनार्ड र सारा ह्वाइटहाउसलाई भेट्यौं ।

उहाँहरू अझै पनि के.सी. अर्थात् वरिष्ठ ब्यारिष्ट्रर नै हुनुहुँदोरहेछ । त्यहाँ हामीसँग उक्त अदालतको न्यायिक तालिमको जिम्मेवारी लिने न्यायाधीश पनि उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले केन्द्रीय फौजदारी अदालतको सातौं शताब्दी पुरानो इतिहास वर्णन गर्नुभयो ।

ओल्ड बेलीमा रहेको केन्द्रीय फौजदारी अदालत बेलायतभर प्रसिद्ध रहेछ । फौजदारी न्यायको उतारचढाव, सिद्धान्त र प्रभावको इतिहास उक्त अदालतमा संरक्षित रहेछ । हातमा तरबार बोकेकी न्यायकी देवीको मूर्ति उक्त अदालतको शिरमा राखिएको रहेछ ।

सम्भवत: त्यो त्यस्तो पहिलो मूर्ति हो जहाँ न्यायकी देवीको आँखा खुल्लै राखिएको छ । पछि अन्य ठाउँमा न्यायकी देवीको मूर्ति स्थापना गर्दा आँखा बन्द गरियो भन्ने किंवदन्ती छ ।

ओल्ड बेलीमा कारागारभित्रै अदालतको विकास भई हाल पनि थुनुवाहरूलाई अदालतको मुनि सुनुवाइको २४ घण्टा अघि ल्याइने चलन रहेछ । थुनुवाहरूले अदालतको पछिल्लो भागमा बसेर न्यायिक प्रक्रिया सुन्ने र उनीहरूको ब्यारिष्ट्ररहरूले चाहेको बेला सोधपुछ गर्न सक्ने रहेछन् ।

सामान्य नागरिकहरूलाई तोकिए अनुसार गर्नुपर्ने जुरीको काम प्रत्येक बेलायती नागरिकको अभिन्न कर्तव्यको रूपमा स्थापित रहेछ । उनीहरूले फौजदारी मुद्दामा दोषी वा निर्दोष ठहर्‍याउने रहेछन् भने न्यायाधीशको भूमिका प्रमाणको मूल्याङ्कनमा सहायता गर्न र सजाय निर्धारण गर्नेमा सीमित रहेछ ।

हामीले जुरी सहितको प्रत्यक्ष प्रमाण मूल्याङ्कनको अदालती कारबाहीको अवलोकन गर्‍यौं । बेलायतमा हाम्रो राष्ट्रिय न्यायिक प्रतिष्ठान जस्तै जुडिसियल कलेज रहेछ । जुडिसियल कलेजको छुट्टै भवन वा सुविधा भने रहेनछ । त्यहाँ एउटा तालिम हल अनि अनौपचारिक इजलासहरू रहेछन् ।

प्राय: सबै मोड्युलहरू अनुभवमा आधारित हुँदारहेछन् । तालिम मुख्यत: अदालती प्रक्रिया, कार्यविधि तथा न्यायाधीशको कार्यशैली, सुनुवाइ र अन्तरक्रियाका विषयसँग सम्बन्धित रहेछन् ।

पहिले न्यायाधीशहरू कडा मिजासका हुने गरेको भए पनि हाल न्यायाधीशहरूलाई ब्यारिष्ट्रर मैत्री हुन, तथ्य र कानूनमा मात्र बहस गर्न, ब्यारिष्ट्ररहरूबाट अग्रिम लिखित टिपोट माग गर्न र सीमित समयमा निश्चित बुँदामा मात्र बहस गर्न प्रेरित गरिंदोरहेछ ।

तालिम दिने न्यायाधीशहरूलाई अर्थात् ट्युटर जजहरूले आफैं पाठ्यवस्तु निर्माण गर्ने, अग्रिम पाठ्यसामग्री बनाई अध्ययनपछि मात्र तालिममा सहभागी हुन पाइने भनी सरल र क्षमता केन्द्रित तालिमहरू सञ्चालन गर्ने रहेछन् ।

प्रत्येक तालिम न्यायाधीशको आवश्यकतामा आधारित हुने रहेछन् । ठूला संरचना र सामान्यकृत तालिमभन्दा व्यावहारिक र आवश्यकतामा आधारित तालिम महत्वपूर्ण हुने रहेछन् । बेलायतको जुडिसियल कलेजसँग भविष्यमा सहयोग आदानप्रदान गर्न सकिने सम्भावनाबारे हाम्रो छलफल भयो ।

निर्णय नहुँदै फैसला पाउने वकिलहरू

हामी बेलायतको अदालती भ्रमणको अन्तिम बेलामा प्रसिद्ध न्यायाधीश एडवार्ड कोक समेत सदस्य रहेको इनर टेम्पलमा हामीलाई औपचारिक लन्चमा आमन्त्रण गरियो । हामीलाई इन्स अफ कोर्टको संस्कृतिबारे थप जानकारी भयो ।

प्रत्येक इन्स अफ कोर्टको अध्यक्ष एक वर्षको कार्यकालका लागि निर्वाचित हुने रहेछन् । इन्स अफ कोर्ट सदस्य भएका प्राय: सबै ब्यारिष्ट्ररहरूलाई च्याम्बर प्रदान गरिने रहेछ । निश्चित समय तालिम लिइसकेपछि इन्समा आधारित भएर बहस गर्ने क्रममा ब्यारिष्ट्ररसिपको यात्रा तय हुँदोरहेछ ।

सोलिसिटरहरू भने ल सोसाइटीको सदस्य हुने रहेछन् । उनीहरूले आफ्नो च्याम्बरबाट कानूनी सल्लाह प्रदान गर्ने, कानूनी कागजातहरूको तयारी र मस्यौदा गर्दा रहेछन् । कागजातको तयारीपछि उनीहरूले कुनै ब्यारिष्ट्ररहरूलाई मुद्दा हेर्न सिफारिस गर्दा रहेछन् ।

सामान्यतया सोलिसिटरहरूले अदालतमा बहस गर्न नपाउने भए पनि ब्यारिष्ट्ररको सहयोगीको रूपमा उपस्थित हुन पाउने रहेछन् । इनर टेम्पलमा बोलाइएको औपचारिक लन्चमा एक ठूलो डाइनिङ हलमा खचाखच भरिएर ब्यारिष्ट्ररहरू लन्च खाँदैथिए ।

हाम्रो लागि भने एक औपचारिक टेबुलको व्यवस्था थियो । हामीसँग लन्च गर्न उच्च अदालत र रोयल कोर्ट अफ जस्टिसका न्यायाधीशहरू पनि बोलाइएका थिए ।

लन्चपछि इनर टेम्पलका सदस्य ब्यारिष्ट्रर किरन वेल के.सी.ले हामीलाई बेलायत र बेलायती अदालतले गर्ने अन्तर्राष्ट्रिय कानून, यूरोपेली युनियनको मानवअधिकार सन्धि र कमन लको प्रयोगबारे एक घण्टा प्रवचन गर्नुभयो ।

त्यसपछि त्यहाँका लाइबेरियनले कसरी अनलाइन सामग्रीहरूको प्रयोग गर्ने, कस्ता सामग्रीमा शुल्क तिर्नुपर्ने ? कस्तोमा नपर्ने ? भन्नेबारे जानकारी दिए । बेलायतको ल रिपोर्ट अर्थात् कानून पत्रिकाको बारेमा जानकारी गराए ।

चाखलाग्दो विषय, न्यायाधीशले गोपनीयताको शर्तमा फैसलाको मस्यौदा सम्बन्धित मुद्दाका ब्यारिष्ट्ररलाई सुझावका लागि अग्रिम रूपमा उपलब्ध गराउँदा रहेछन् । ब्यारिष्ट्ररले गोपनीयता कायम गर्दै सहकार्य गर्दा रहेछन् ।

साथै नजिर प्रतिपादन गर्न सक्ने अदालत जस्तै; सर्वोच्च अदालतका न्यायाधीश वा कतिपय अवस्थामा रोयल कोर्ट अफ जस्टिसका न्यायाधीशले आफ्ना फैसला कानूनी क्षेत्रका व्यावसायिक सम्पादकलाई केही शुल्क तिरी सम्पादन गर्न दिंदा रहेछन् । ल रिपोर्टरहरूले आफ्नो काम सम्पादन गरेपछि मात्र फैसला सार्वजनिक गर्ने अभ्यास रहेछ ।

बल्लतल्ल टिकेको पुस्तक पसल

हामी गएका अदालतहरूमा हामीलाई न्यायाधीश बस्ने चेम्बरमा बस्न र फोटो खिच्न अनुमति दिइएको थियो । सर्वोच्च अदालतका चेम्बर समान तहमा गोलमेच जसरी बनाइएका रहेछन् । इच्छा लागेको ठाउँमा बस्न र फोटो खिच्न पाइने रहेछ ।

त्यस्तो आधुनिक अभ्यास देख्दा नेपालको परम्परागत प्रणालीको सम्झना भयो । संयुक्त अधिराज्यको सर्वोच्च अदालतको इजलास र प्रक्रिया आधुनिक न्यायिक अभ्यासको प्रतिविम्ब रहेछ ।

त्यहाँ, अब न्यायाधीश माथि र अरू तल होइन समान उचाइको स्थानमा बस्नुपर्दछ भन्ने भाष्य निर्माण भइरहेको रहेछ । त्यस्तै, न्यायिक काम कुनै दैवी नभई तालिम र अनुभवप्राप्त व्यक्तिले गर्ने व्यावसायिक काम हो भन्ने मान्यता विकास भइरहेको पाइयो ।

हाम्रा सबै औपचारिक भेटहरू सम्पन्न भइसकेका थिए । भ्रमणको अन्त्यमा हाम्रो यात्रा संयोजन गर्ने ब्यारिष्ट्रर मार्क हिलले इनर टेम्पलको लाइब्रेरी भ्रमण प्रस्ताव गर्नुभयो । मार्कले लाइब्रेरीका र्‍याकमा आफूले लेखेका पुस्तकहरू देखाउनुभयो ।

उहाँले बेलायतको प्रसिद्ध हल्सबरी बुकका केही सिरिजलाई समेत सम्पादन र परिष्कृत गर्नुभएको रहेछ । सबै पुस्तक हेरेपछि उहाँप्रतिको बौद्धिक सम्मान थप बढ्यो ।

उहाँले हामीलाई एउटा पुस्तक पसलमा लैजानुभयो । त्यहाँ भौतिक पुस्तक पसलको रूपमा त्यही पुस्तक पसल मात्र बाँकी रहेछ । भौतिक रूपमा पुस्तक किन्न आउने मान्छे कम हुँदै गएकोमा भौतिक पुस्तक पसल सञ्चालन गरिरहने वा नगर्ने भन्नेमा द्विविधा रहेछ ।

भौतिक पुस्तक पसलहरूलाई क्रमश: अनलाइन पुस्तक पसलहरूले प्रतिस्थापन गर्दै रहेछन् । भौतिक पुस्तक नै मगाउनुपर्ने भए अनलाइनबाटै अर्डर गर्नुपर्ने अभ्यास बढ्दो रहेछ । हामीले केही पुस्तक खरिद गर्‍यौं ।

त्यहाँका पुस्तकहरू साह्रै महँगा थिए । ती पुस्तकहरू दक्षिणएशियाको लागि छापिने भएकाले भारत वा नेपालमा धेरै सस्तो पाइने रहेछ ।

दुई दशकपछिको एसेक्स विश्वविद्यालय

औपचारिक भ्रमणका सबै काम सकिएपछि चौथो दिन हामी फुर्सदिला भयौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू हेमन्त रावल र रितेन्द्र थापा थेम्स नदी हेर्न निस्कनुभयो ।

मुख्य रजिष्ट्रार विमल पौडेल र म हामी पढेको कोल्चेस्टरस्थित एसेक्स विश्वविद्यालय लाग्यौं । हामीसँग त्यहाँका सोलिसिटर सन्दिप पौडेल सँगै हुनुहुन्थ्यो ।

एसेक्स विश्वविद्यालयको ल फ्याकल्टीका प्रसिद्ध प्राध्यापक केभिन वोइल, प्राध्यापक सर नाइजल रोडली र प्राध्यापक फ्रान्स्वा ह्याम्पसन दिवंगत हुनुभएको रहेछ । करिब २० वर्षपछि एसेक्स विश्वविद्यालय पुग्दा हामीलाई पढाउने प्राध्यापक जियोफ गिलबर्ट मात्र हुनुहुन्थ्यो ।

मैले आर्थिक, सामाजिक अधिकारको संरक्षणमा हाम्रो अदालतले गरेका फैसला र न्यायिक दृष्टिकोणका बारेमा धारणा राखें । हामी पुन: लण्डन फर्कियौं ।

म बेलायतमा करिब पन्ध्र महिना बसेको छु । त्यहाँ घाम लाग्दा पर्व जस्तै रमाइलो हुन्छ । हाम्रो भ्रमणका प्राय: दिनहरू घमाइला थिए । हामी अब स्कटल्याण्ड पुग्नेछौं ।

हामी पाँचौं दिन दिउँसो स्कटल्याण्डको संसद् भवन जाने योजना बन्यो । इडेनवरामा रोयल माइल भन्ने पुरानो बजार रहेछ । हामीले फुर्सदको समयमा रोयल माइल र अन्य पर्यटकीय क्षेत्र, क्यासल र त्यसपछि स्कटल्याण्डको अदालत गयौं ।

हामीलाई स्वागत गर्न जेनिस स्ट के.सी. (जेनी) उभिनुभएको थियो । उहाँले हामीलाई स्कटल्याण्डको अदालत घुम्न लैजानुभयो । हामीलाई स्कटल्याण्डको न्यायिक प्रक्रियामा कसरी सिभिल ल अर्थात् लिखित र कोडिफाइड कानूनले स्थान पाएको भन्नेबारे बताउनुभयो ।

बेलायतको सर्वोच्च अदालत स्कटल्याण्डबाट गएको हो । स्कटल्याण्डमा अहिले सर्वोच्च अदालत रहेनछ । त्यहाँ कोर्ट अफ सेसन्स र हाइकोर्ट अफ जस्टिसियरी भन्ने अदालत उच्चतम तहका अदालतको रूपमा रहेछन् ।

ती अदालतका फैसलामाथि बेलायतको सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने रहेछ । स्कटल्याण्डमा सिभिल ल र कमन लको मिश्रित प्रणालीमा ब्यारिष्ट्ररसिप नभई एड्भोकेट संस्कृतिको विकास भएको रहेछ ।

स्कटल्याण्डको कोर्ट अफ सेसन्सको भ्रमण पछि हाम्रो बेलायतको औपचारिक भ्रमण सकियो । हामी नर्दन आयरल्याण्डको भ्रमणमा जान सकेनौं । तर, त्यहाँको न्यायिक प्रणाली केही आयरल्याण्डबाट र केही कमन लबाट प्रभावित छ भन्ने भ्रमणमा जानकारी पायौं ।

यात्राको अन्तिम अर्थात् छैटौं दिन हामी स्वतन्त्र भ्रमणमा निस्कियौं । स्कटल्याण्डको इडेनबराका महत्वपूर्ण ठाउँहरू घुम्न गयौं । आसपासका गाउँ क्षेत्रमा हामी गाडीमा घुम्यौं । शहरभन्दा निकै पर रहेको एक सस्तो तर विशाल सपिङ मलमा हामी हरायौं । त्यहाँको सस्तो भनिएको सपिङ मलमा हामीले खरिद गर्न सक्ने मूल्यका सामानहरू निकै कम थिए ।

संयुक्त अधिराज्यभित्र स्कटल्याण्ड एउटै देश भए पनि स्टर्लिङ पाउन्डकै मूल्यका स्कटल्याण्डको छुट्टै पैसा (नोट र क्वाइन) रहेछ । ती पैसा अन्य क्षेत्राधिकारमा नचल्ने रहेछ । हामीले बँचेको पैसा एअरपोर्टभित्र केही उपहार किनेर सिध्यायौं । हिथ्रो विमानस्थलको तुलनामा सामान्य इडेनबरा हवाई अड्डाबाट नेपाल फर्कियौं ।

(फुयाल सर्वोच्च अदालतका न्यायाधीश हुन् ।)





Source link

Leave a Comment