प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारमाथि आक्रमण जारी राखेमा उसको सबैभन्दा ठूलो ग्यास क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “मध्यपूर्वमा विकसित घटनाक्रमबाट आक्रोशित भई इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा हिंसात्मक आक्रमण गरेको छ।” उक्त आक्रमणबारे अमेरिकालाई कुनै पूर्वजानकारी नभएको र कतारसमेत यस विषयमा अनभिज्ञ रहेको उनले दाबी गरे।
“दुर्भाग्यवश, इरानलाई यी तथ्यहरू थाहा थिएन र उसले अनुचित रूपमा कतारको एलएनजी ग्यास केन्द्रको एक हिस्सामा आक्रमण गर्यो,” ट्रम्पले उल्लेख गरेका छन्।
ट्रम्पका अनुसार इजरायलले अब उक्त ग्यास क्षेत्रमा पुन: आक्रमण गर्ने छैन। तर, यदि इरानले फेरि कतारमाथि आक्रमण गरेमा अमेरिकाले आफ्नो पूर्ण शक्ति लगाएर साउथ पार्स ग्यास क्षेत्रलाई नै नामेट पारिदिने चेतावनी उनले दिएका हुन्।
यसअघि, इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) ले अमेरिका र इजरायलले आफ्ना तेल तथा ग्यास संरचनाहरू, विशेष गरी साउथ पार्स ग्यास क्षेत्रलाई निशाना बनाएको आरोप लगाएको थियो।
त्यसलगत्तै इरानले कतारको मुख्य ऊर्जा केन्द्रमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको कतारको रक्षा मन्त्रालयले जनाएको छ। उक्त आक्रमणबाट ऊर्जा केन्द्रमा व्यापक क्षति पुगेको बताइएको छ।
कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का ऊर्जा संरचनामाथि इरानले गरेको आक्रमणको कडा निन्दा गरेको छ।
इरानी आक्रमणहरू अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरूको “स्पष्ट उल्लङ्घन” भएको र यसले विश्वव्यापी ऊर्जा सुरक्षामा “गम्भीर खतरा” पैदा गरेको विज्ञप्तिमा उल्लेख छ।