एसाइलम, भिसा र सीमा नीति सन्दर्भमा ट्रम्प प्रशासनका नयाँ कदमबारे जान्नैपर्ने कुरा



प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार

एसाइलम, भिसा र सीमा नीति सन्दर्भमा ट्रम्प प्रशासनका नयाँ कदमबारे जान्नैपर्ने कुरा

डोनाल्ड ट्रम्पले सन् २०२५ जनवरीमा दोस्रो कार्यकाल सुरु गरेपछि अमेरिकाको आप्रवासन नीतिमा व्यापक परिवर्तनहरू भएका छन् । दक्षिणी सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्ने निर्णयदेखि लिएर आश्रय प्रक्रियामा कडाइ, विभिन्न देशका नागरिकमाथि यात्रा तथा भिसा प्रतिबन्ध, पैरोल कार्यक्रम समाप्ति तथा काम गर्ने अनुमति (वर्क परमिट)सम्बन्धी नियममा परिवर्तनसम्म धेरै नीतिगत कदमहरू लागू भएका छन् । यी नीतिहरूले विशेषगरी अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरू, आश्रय खोज्ने व्यक्तिहरू तथा भविष्यमा अमेरिका जान चाहनेहरूलाई प्रत्यक्ष प्रभाव पारिरहेका छन् । यी परिवर्तनहरूको कानुनी पृष्ठभूमि, वास्तविक अर्थ र सम्भावित प्रभावबारे न्युयोर्कस्थित आप्रवासन कानुन व्यवसायी रमेश श्रेष्ठसँग गरिएको कुराकानी ।

ट्रम्प प्रशासनले दक्षिणी सीमामा राष्ट्रिय आपत्काल घोषणा गरेको विषय के हो ?
सन् २०२५ जनवरी २० मा पदको शपथ लिएकै दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी अमेरिकी सीमामा राष्ट्रिय संकट भएको उल्लेख गर्दै राष्ट्रिय आपत्काल ऐनअन्तर्गत राष्ट्रिय आपत्काल घोषणा गरेका थिए ।

प्रोक्लेमेसन १०८८६ जारी गर्दै राष्ट्रपतिले कार्टेल, आपराधिक गिरोह, चिनिएका आतंकवादी, मानव तस्कर, तस्करहरू, विदेशी प्रतिद्वन्द्वी देशबाट आएका पर्याप्त जाँच नगरिएका सैन्य उमेरका पुरुषहरू तथा अवैध लागूऔषधजस्ता खतराहरूको सामना गर्न अमेरिकी सशस्त्र बल प्रयोग गर्न आदेश दिएका थिए ।

उक्त आदेशअनुसार सशस्त्र बललाई दक्षिणी सीमामा पूर्ण सञ्चालन नियन्त्रण प्राप्त गर्न गृह सुरक्षा विभागलाई सहयोग गर्न निर्देशन दिइएको छ । यसका लागि जनशक्ति र स्रोत परिचालन गर्ने, थप भौतिक अवरोध निर्माण गर्ने, मानवरहित हवाई प्रणाली प्रयोग गर्ने तथा अनुमतिबिना सीमा पार गर्ने आप्रवासीहरूलाई रोक्न नीति तथा रणनीति परिमार्जन गर्ने व्यवस्था गरिएको छ ।

विभिन्न देशका नागरिकमाथि लगाइएको यात्रा तथा आप्रवासन प्रतिबन्धबारे के भन्नुहुन्छ ?
सन् २०२५ जुन ४ मा राष्ट्रपति ट्रम्पले प्रोक्लेमेसन १०९४९ जारी गर्दै १९ देशका नागरिकहरूको अमेरिकामा आप्रवासन तथा यात्रासम्बन्धी पूर्ण र आंशिक प्रतिबन्ध लागू गरेका थिए । केही अपवादबाहेक अफगानिस्तान, बर्मा, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिकामा प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

एसाइलम, भिसा र सीमा नीति सन्दर्भमा ट्रम्प प्रशासनका नयाँ कदमबारे जान्नैपर्ने कुरा

त्यसैगरी बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूको प्रवेश आंशिक रूपमा निलम्बन गरिएको छ– विशेषगरी पर्यटक वा विद्यार्थीका रूपमा प्रवेश गर्नेहरूका लागि । इजिप्टमा थप प्रतिबन्ध लगाइएको छ । यी प्रतिबन्धहरूको घोषित उद्देश्य अमेरिकालाई आतंकवाद तथा अन्य राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षासम्बन्धी जोखिमबाट जोगाउनु रहेको बताइएको छ ।

केही देशका नागरिकका लागि आप्रवासी भिसा जारी प्रक्रियामा रोक लगाइएको विषय के हो ?
सन् २०२६ जनवरी १४ मा राष्ट्रपति ट्रम्पले आप्रवासीहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने र अमेरिकी नागरिकमाथि आर्थिक भार बन्न नहुने स्पष्ट पारे । यसपछि अमेरिकी विदेश मन्त्रालयले उच्च जोखिम भएका देशका नागरिकहरूले अमेरिकामा सामाजिक सहायता प्रयोग नगर्ने सुनिश्चित गर्न सबै नीति, नियम तथा निर्देशनहरूको पूर्ण समीक्षा गरिरहेको जनाएको छ ।

यसै क्रममा २०२६ जनवरी २१ देखि धेरै देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्ने प्रक्रिया रोकिएको छ । जसमा नेपाल पनि समावेश छ । तर, प्रभावित देशका नागरिकहरूले भिसा आवेदन दिन र अन्तर्वार्तामा सहभागी हुन भने सक्नेछन् । अमेरिकी विदेश मन्त्रालयले समयतालिकाअनुसार अन्तर्वार्ता निर्धारण गर्न जारी राख्नेछ । तर, यस रोक अवधिमा ती देशका नागरिकलाई आप्रवासी भिसा जारी गरिने छैन ।

सीमाबाट अनधिकृत रूपमा प्रवेश गर्ने एसाइलम खोज्ने व्यक्तिहरूलाई अहिले कसरी व्यवहार गरिँदै छ ?
दक्षिणी सीमाबाट जाँचबिनै अमेरिकामा प्रवेश गरेका धेरै एसाइलम माग्ने व्यक्तिहरूलाई हिरासतमा राखेर द्रुत निष्कासन प्रक्रियामा पठाइँदै आएको छ । जसको उत्पीडनको डर विश्वसनीय नभएको ठहर हुन्छ उनीहरूलाई छिटो अमेरिकाबाट हटाइन्छ । विश्वसनीय डर परीक्षण पार गरेका व्यक्तिहरूलाई पनि हिरासतमा राखिएको छ । उनीहरूलाई जमानतमा रिहा हुने अधिकार नदिइएको बताइएको छ । त्यसैले उनीहरूले हिरासतभित्रै आप्रवासन अदालतमा एसाइलम माग्नुपरेको छ । नयाँ प्रशासनअन्तर्गत यस्तो अवस्थामा रहेका व्यक्तिहरूलाई आप्रवासन तथा भन्सार कार्यान्वयन निकायद्वारा पैरोल वा व्यक्तिगत जिम्मेवारीमा रिहा गर्ने घटना लगभग शून्य रहेको छ ।

सीमामा प्रयोग हुने मोबाइल एप बन्द गरिएको विषय के हो ?
पहिले प्रयोग हुँदै आएको सीबीपी वन नामक मोबाइल एप बन्द गरिएको छ । यस एपमार्फत हजारौं आप्रवासीहरूले सीमाका आधिकारिक नाकाबाट आश्रयका लागि अन्तर्वार्ताको समय लिन सक्थे । अहिले यसको सट्टा सीबीपी होम नामको नयाँ एप ल्याइएको छ । जसले गैरनागरिकहरूलाई आफ्नै देशमा स्वैच्छिक रूपमा फर्कन सहयोग गर्ने उद्देश्य राखेको छ ।

अमेरिकी शरणार्थी भर्ना कार्यक्रमबारे के परिवर्तन भएको छ ?
सन् २०२५ पछि सीमित रूपमा केही सेता दक्षिण अफ्रिकी (अफ्रिकानेर) शरणार्थीलाई मात्र स्वीकार गरिएको बताइएको छ । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तीमध्ये केहीले अमेरिकालाई दक्षिण अफ्रिकाभन्दा कम सुरक्षित र बढी अव्यवस्थित पाएपछि फर्कने योजना बनाएको पनि उल्लेख गरिएको छ ।

‘क्याच एन्ड रिलिज’ भन्ने नीति किन हटाइयो ?
प्रोक्लेमेसन १०८८६ जारी भएपछि क्याच एन्ड रिलिज भन्ने नीति नयाँ प्रशासनको सीमा सुरक्षा लक्ष्यसँग असंगत मानिएको छ । अहिले नीति पक्राउ गर र देश निकाला गर अर्थात् पक्राउ गरेर तुरुन्त निष्कासन गर्ने दिशामा रूपान्तरण भएको छ ।

तेस्रो देश एसाइलम सम्झौता के हो ?
तेस्रो देश एसाइलम सम्झौता अमेरिका र अन्य देशबीचको द्विपक्षीय व्यवस्था हो । जसले एसाइलम माग्ने व्यक्तिलाई अमेरिकामा सुनुवाइ गर्नुको सट्टा अन्य देशमा पठाउन अनुमति दिन्छ । हाल सक्रिय यस्तो व्यवस्थामा क्यानडा, एल साल्भाडोर, होन्डुरस, ग्वाटेमाला, युगान्डा र इक्वेडोर समावेश छन् । नयाँ व्यवस्थाअनुसार आश्रय माग्ने व्यक्ति र पठाइने देशबीच भौगोलिक, सांस्कृतिक वा भाषिक सम्बन्ध हुनुपर्ने अनिवार्यता हटाइएको छ ।

एसाइलम आवेदनसम्बन्धी निर्णय किन रोकिएको थियो?
ईएससीआईएसले सबै आई–५८९ एसाएइलम आवेदनहरूको अन्तिम निर्णय प्रक्रिया रोकेको थियो? फाइलको समीक्षा र अन्तर्वार्ता भने जारी थियो । तर, स्वीकृति वा अस्वीकृतिसम्बन्धी अन्तिम निर्णय जारी गरिएको थिएन।

एसाइलम गर्नेको वर्क परमिटको वैधता अवधि पनि पाँच वर्षबाट घटाएर अठार महिना बनाइएको छ । सन् २०२६ फेब्रुअरी २३ मा होमल्यान्ड सेक्युरिटीले नयाँ नियम जारी गर्दै वर्क परमिटसम्बन्धी समयावधि परिवर्तन गरेको छ । यसका कारण धेरै नयाँ एसाइलम आवेदकहरूले कम्तीमा डेढ वर्षसम्म काम गर्ने अनुमति पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

सीमामा पर्खाल निर्माण र निष्कासन प्रक्रिया पनि बढाइएको हो ?
हो । नयाँ कानुन तथा नीतिहरू लागू गर्दै सीमामा पर्खाल निर्माण, हिरासत क्षमता विस्तार तथा निष्कासन प्रक्रिया तीव्र बनाइएको छ । अब आपराधिक विदेशी नागरिक मात्र होइन, अन्तिम निष्कासन आदेश भएका व्यक्तिहरूलाई पनि अमेरिकाबाट हटाउने प्रक्रिया तीव्र बनाइएको छ ।

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment