एनपी साउद भन्छन्: ‘अनिश्चित निर्वाचन’ हेरेर महाधिवेशनको झगडा नगरौँ


नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बिहीबार केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री एनपी साउदले आफ्नो धारणा राख्ने क्रममा सात महत्त्वपूर्ण विषयमा कुरा उठाएका छन्। जेन–जी आन्दोलनपछि विकसित घटनाक्रम, विश्व परिवेश, भूराजनीतिक पाटा र कांग्रेसमा चलिरहेको महाधिवेशन विवादसम्मका विषयमा साउदले आफ्नो धारणा राखेका हुन्। 

देश र कांग्रेस संकटमा छ 

नेता साउदले अहिले देश र कांग्रेस पार्टी जटिल संकटमा रहेको कुरा उठाएका छन्। ‘राष्ट्रिय रूपमा जेन–जी आन्दोलनले राष्ट्रिय सम्पत्ति र इतिहासका गौरवहरू मात्र ध्वस्त गरेको छैन, नेपाली कांग्रेसका पार्टीका सभापति शेरबहादुर देउवा र उहाँको परिवारका साथै हाम्रा पार्टी कार्यालयहरू, कांग्रेसका राष्ट्रिय नेता हुन् या स्थानीय नेता हुन्, उनीहरूको सम्पत्तिमा आगो लगाएको छ,’ साउदले भने, ‘ठुलो विध्वंस गरिएको छ। अन्य पार्टीहरू पनि आक्रमणको चपेटामा परेका छन्।’ 

संसद् विघटनदेखि कांग्रेस समेतको सहभागितामा बनेको सरकार ध्वस्त भएको पनि साउदले प्रसङ्ग उठाएका छन्। 

‘मुलुक अहिले पनि गम्भीर अस्थिरताको चक्रव्यूहमा छ। जेन–जी आन्दोलनको प्रहार र प्रभावबाट पार्टीहरू अहिले पनि तङ्ग्रिन सकेका छैनन्,’ साउदले भने। 

आन्दोलनको ऊर्जा ‘भेन्टिलेट’ हुन बाँकी छ

नेता साउदले जेन–जी आन्दोलनमा देखिएको ऊर्जा अहिले पनि निष्कासन भई नसकेको टिप्पणी गरेका छन्। ‘नेपोटिजम, सुशासन र सोसल प्लेट फर्म बन्द गर्ने सरकारको निर्णयविरुद्धसमेतका अन्य मुद्दा लिएर उठेको जेन–जी आन्दोलन अहिले पनि आफ्नै दर्शन, मुद्दा र प्रभावलाई संस्थागत गरेर थिग्रिन सकेको छैन,’ उनले भने। राजनीतिक विश्लेषकहरू अहिले पनि जेन–जी आन्दोलनको सम्पूर्ण ऊर्जा भेन्टिलेट हुन बाँकी नै रहेको अनुमान गरिरहेको उनले बताए। 

यस्तै उनले जेन–जी आन्दोलनको प्रभावका विश्व अनुभव फरक–फरक रहेका कुरा उठाएका छन्। ‘बांग्लादेश सरकारको पतनपछि अतिवादी धार्मिक शक्तिहरू पुनरोदयको क्रममा छन् र त्यहाँ जेन–जीहरू हराएका छन्,’ उनले भने, ‘श्रीलङ्कामा एक हप्ते जेन–जी विद्रोहपछि सत्ता परिवर्तन भयो, निर्वाचन भयो र वामपन्थी झुकाव राख्ने नयाँ सरकार निर्माण पछि जेनजीको आन्दोलन टुङ्गिएको छ।’ 

उता मेडागास्करमा जेन–जी आन्दोलनपछि सत्ता सेनाले हातमा लिएको, इस्ट टिमोरमा सुरु भएको आन्दोलनले कुनै परिणाम दिन नसकेको प्रसङ्ग उनले बैठकमा स्मरण गराए।  ‘इन्डोनेसिया, फिलिपिन्समा जेन–जी आन्दोलन अहिले पनि संघर्षकै चरणमा छन् । विश्वमा जेनजीहरुले आफ्नो आन्दोलन पछि संस्थागत भएर राज्य संरचना सञ्चालन गरेको अनुभव कतै देखिँदैन,’ साउदले भने। 

नेपालको अवस्थामा भने जेन–जी आन्दोलनलाई संस्थागत गर्दै कांग्रेस अघि बढ्नुपर्ने उनले बताए। उनले भने, ‘हामीले यो आन्दोलन संस्थागत गरिदिनुपर्छ। त्यसले समाज परिवर्तनका संवाहक दलहरू नै हुन भन्ने कुरालाई झन् बलियो पार्नेछ।’ 

कम्युनिस्ट शक्ति खुम्चियो

नेता साउदले जेन–जी आन्दोलनको बहावसँगै नेपालमा २० वर्षदेखि दुई तिहाइको सेरोफेरोमा रहेको कम्युनिस्ट शक्ति खुम्चिएको टिप्पणी गरे।  ‘पहिले कम्युनिस्टका झुटा सपना र क्रान्तिका लफ्फाजीहरूले वामपन्थी धारतिर युवाहरू आकर्षित भएर हाम्रा सभा सम्मेलनहरूमा ४० वर्ष भन्दा मुनिको सहभागिताको अवस्था दयनीय हुन्थ्यो,’ उनले भने,‘अहिले त्यो शक्ति निकै कमजोर बनेको छ।’ 

जेन–जी आन्दोलनले अब कांग्रेसलाई विस्तारित भएर युवासम्म जाने, युवाका मुद्दाहरू सम्बोधन गर्ने र उनीहरूको सहभागितालाई पार्टीका तह र तप्कामा  सुनिश्चित गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको उनले टिप्पणी गरे।

देश शक्ति राष्ट्रको खेलमैदान बन्ने खतरा

जेन–जी आन्दोलनपछि विकसित घटनाक्रमले भूराजनीतिक खतरा भने बढाएको  साउदले टिप्पणी गरे। ‘भूराजनीति,  बदलिँदै गएको, विश्व व्यवस्था र आफ्नो राष्ट्रिय हितमा आधारित परराष्ट्र नीतिका आधारमा छिमेकी र अन्य मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई प्रभावकारी र गतिशील बनाउन सकेनौँ भने देश शक्ति राष्ट्रहरूको खेल मैदानमा परिणत हुन सक्दछ,’ नेता साउदले भने। 

छिमेकी र  सबै मित्र शक्तिसँग दिगो र भरपर्दो सम्बन्धले मात्रै देशको दीर्घकालीन हित गर्ने उनले बताए। उनले अगाडि भने, ‘परराष्ट्र नीति सञ्चालनमा पुर्खाले छाडेर गएको अनुभवको ऐतिहासिक विरासतलाई पनि नेपालले अगाडि बढाउनुपर्ने हुन्छ।’

पहिल्यै भनेको थिएँ–समयमा महाधिवेशन हुनुपर्छ 

कांग्रेसभित्र अहिले महाधिवेशनको किचलो चलिरहँदा आफूले यो कुरा पहिलेदेखि नै उठाउँदै आएको नेता साउदले बैठकमा स्मरण गराए।

‘सभापति दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्थाले हाम्रा श्रद्धेय सभापति(शेरबहादुर देउवा)को ग्रेसफुल एक्जिट विधानले नै सुनिश्चित गरेको छ,’ उनले भने, ‘चार वर्षभित्र हुनुपर्ने अधिवेशन निर्धारित समयभित्र हुनुपर्छ र नभए पार्टीले निर्धारित गरेको समय सीमाभित्र गर्न पर्ने आवश्यक तयारी समयमै गर्नुपर्दछ भन्ने पार्टीका सीमित व्यक्तिहरू मध्ये म पनि एउटा हुँ।’ 

त्यसो भनेबापत आफूले केही अवमूल्यन र आक्रमण सहनु परेको पनि उनले बताए। ‘विवेकको बोली बोल्न पछि हट्न हुँदैन भन्ने मान्यताले पार्टीका केही नेताहरूका साथ सदन, पार्टीका फोरमहरू, सञ्चारमाध्यम र देशव्यापी भ्रमण गरेर यो सन्देश दिने कोसिस गरेको हुँ,’ उनले भने।  

‘अनिश्चित निर्वाचन’ हेरेर हतारमा महाधिवेशन ठिक होइन

तर अहिले अन्तिम समयमा आएर महाधिवेशनका लागि हल्लाखल्ला गर्नु राम्रो संस्कार नभएको नेता साउदले बताए। उनले भने, ‘मङ्सिरको समय सीमा भित्र अधिवेशन गर्न सक्ने तयारी र अवस्था हाम्रो छैन।’ 

फागुन २१ गते निर्वाचन तोकिएको र कांग्रेसले निर्वाचनमा जान्छौँ भन्ने मौखिक प्रतिबद्धता गरिसके पनि केन्द्रीय समितिले ठोस निर्णय नगरेको उल्लेख गरे। 

तर निर्वाचन हुनेमा भने उनले आशङ्का व्यक्त गरे। ‘हालैका दिनमा सम्प्रेषित प्रधानमन्त्री, गृहमन्त्री र सरकारका अन्य  जिम्मेवार निकायका अभिव्यक्तिहरूले निर्वाचनलाई थप अनिश्चित बनाएको छ,’ साउदले भने। 

निर्वाचन नै नहुने भए न्यायिक निरूपणमार्फत संसद् पुनर्स्थापनाको विषयमा पनि कांग्रेस चुप लागेर बस्न नहुने आशय उनले व्यक्त गरे। ‘निर्वाचन समयमा नभएर जनप्रतिनिधित्व बिनाको शासन लामो समयसम्म चल्ने जोखिमबाट बच्न भए पनि हाम्रो पार्टीभित्र चुनाव नहुन सकेको अवस्थामा संसद् पुनर्स्थापनाको मुद्दा न्यायिक निरूपणको विषय हुनसक्छ भन्ने मत पनि छँदै छ,’ उनले भने। 

निर्वाचन नै अनिश्चित भएको अवस्थामा निर्वाचनको अगाडि वा पछाडि कहिले महाधिवेशन गर्ने भन्ने मुद्दाले पार्टीको बहस विभाजित बनेकामा उनले चिन्ता व्यक्त गरे।

‘हामी केन्द्रीय समितिको जिम्मेवारीमा रहेका नेताहरूले आवश्यक तयारी र प्रक्रिया पूरा नगरेको कारणले के हामी पारदर्शिता र एकता बिना फागुनमा हुने निर्वाचन अगाडि महाधिवेशन गर्न सक्छौँ त? भन्ने गम्भीर वस्तुपरक प्रश्न उठेको छ,’ नेता साउदले भने। 

यसैले अहिलेको अवस्थामा महाधिवेशन मिति तोक्दा फागुनको निर्वाचन पछाडि सरे महाधिवेशन वैशाखमा र निर्वाचन वैशाखपछाडि सरे महाधिवेशन फागुनमा गर्नुपर्ने अवस्था देखिएको पनि उनले बताए। 

महाधिवेशन जहिले भए पनि चुनाव र अधिवेशन दुवै कुराका लागि पार्टीका सम्पूर्ण संरचना चलायमान हुनुपर्ने, साढे आठ लाख बढी संख्यामा रहेका क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने र पार्टीमा लामो समयदेखि घट्दै गएको युवा सहभागितालाई नयाँ क्रियाशील सदस्यता वितरण र विस्तार गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। 

‘पार्टी केन्द्रीय समितिले एकातिर अनिर्णयको बन्दी बन्नु हुँदैन भने अर्कोतिर हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने हुनुहुँदैन । हामीले एकता, संवाद र सहमतिबाट निष्कर्षमा पुग्नुपर्दछ,’ नेता साउदले भने। 

विशेष महाधिवेशन माग्नेसँग वार्ता

विशेष महाधिवेशनको प्रसङ्गमा पनि नेता साउदले विशेष महाधिवेशन मागिरहेको समूहसँग वार्ता र संवादमा जानुपर्ने बताए। लामो समयदेखि पार्टीमा भेदभाव, विभाजन, मूल्याङ्कनको अभाव र अवसर प्रदान गर्दा न्याय र पारदर्शिताको कमीले त्यसको असन्तुष्टि विशेष अधिवेशन मागमा जोडिएर आएको उनले बताए। 

उनले भने, ‘केन्द्रीय समितिले आफ्ना कमीकमजोरी महसुस गरेर साथीहरूलाई पार्टीको अगाडि भएको बाध्यता र सीमित विकल्प रहेको बताउन हस्ताक्षरकर्ता पार्टीका युवा नेताहरूसँग वार्ता, संवाद र छलफल गर्न ढिला गर्नुहुन्न।’

प्रकाशित: २० कार्तिक २०८२ १५:५६ बिहीबार





Source link

Leave a Comment