२ पुस, काठमाडौं । खेलमा कीर्तिमान बन्नु स्वभाविक हो । अझ क्रिकेट खेलमा विभिन्न खालका कीर्तिमानहरू बन्ने गर्छ । क्रिकेट खेल नै यस्तो छ कि यसमा कीर्तिमानको ओइरो नै लाग्ने गर्छ ।
अहिले भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि लिग चरणका खेलहरू सम्पन्न हुँदा विभिन्न खालका कीर्तिमानहरू बनेका छन् । केही पहिलो हुने कीर्तिमान बनेका छन् भने केही तोडिन सक्ने कीर्तिमान पनि बनेका छन् । हुन त कीर्तिमान तोडिन कै लागि बनिन्छ भनिन्छ । अहिले एनपीएलमा पनि केही कीर्तिमानहरू बने जसले खेललाई रोमाञ्चक बनाउन मद्दत गर्यो ।
भविष्यमा ती कीर्तिमान तोडिएला नतोडिएला तर त्यसको चर्चा भने सधैँ भइरहन्छ । ८ टोली सहभागी एनपीएलमा लिग चरणमा बनेका केही विशेष कीर्तिमानहरू जुन यस प्रकार छन् ।
पहिलो शतक
एनपीएलमा २८ खेल भइसक्दा अहिलेसम्म जम्मा एक मात्र शतक बनेको छ । उनी हुन पोखरा एभेन्जर्सबाट खेलेका अमेरिकन विकेटकिपर ब्याटर आन्द्रेस गौस ।
गौसले पोखराबाट खेल्दै लुम्बिनी लायन्सविरुद्ध सानदार शतक प्रहार गरे । उनले अविजित १०४ रन बनाउँदै पोखरालाई जित दिलाउन मद्दत गरेका थिए ।
गौसले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । सोही खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रन बनाएका थिए र पहिलो इनिङ्ससम्म त्यो व्यक्तिगत उच्च स्कोर थियो । तर दोस्रो इनिङ्समा गौसले सानदार ब्याटिङ गर्दे व्यक्तिगत उच्च स्कोरमा रोहितलाई पछि पार्दै शतक नै ठोके । गौसले ५५ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा अविजित १०४ रन बनाएका थिए । ओपनिङ गरेका उनी अन्तिमसम्म क्रिजमा रहेका थिए ।
यस्तै एनपीएलको पहिलो अर्धशतक भने विराटनगर किंग्सबाट खेलेका न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिलको नाममा रह्यो । उनले जनकपुर बोल्ट्सविरूद्धको उद्घाटन खेलमै ५५ रन बनाएका थिए ।
यसैगरी एनपीएलमा लिग चरणमा एकै खेलाडीले दुई पटक अर्धशतक बनाए । ती हुन् नेपालका कप्तान रोहित पौडेल र चितवन राइनोजबाट खेलेका इंग्लिस अलराउण्डर रवि बोपारा । बोपाराले लगातार दुई खेलमा अर्धशतक प्रहार गरेका थिए । रोहित दुई अर्धशतक हान्ने पहिलो नेपाली खेलाडी तथा समग्रमा दोस्रो खेलाडी बने ।
पहिलो ६ विकेट

एनपीएलमा एकै खेलमा ६ विकेट लिने कीर्तिमान पनि बन्यो । कर्णाली याक्सबाट खेलेका अष्ट्रेलियन अलराउण्डर विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाए ।
अष्ट्रेलियाबाट सने २०१२ मा यू१९ विश्वकपको कप्तानी गरेका बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभर स्पेलमा २८ रन खर्चेर ६ विकेट लिएका थिए । उनले खेलको १४औं ओभरमा ३ विकेट लिएका थिए ।
एकै खेलमा ५ विकेट लिने खेलाडी भने चितवन राइनोजका सोहेल तनविर बनेका थिए । तनविरसहित सुदूरपश्चिम रोएल्सका नरेन साउद, जनकपुर बोल्ट्सका हर्श थाकर र सुदूरपश्चिमकै स्कट कुगेलेइनले एकै खेलमा ५ विकेट लिएका थिए ।
१० विकेटको जित र उच्च साझेदारी
एनपीएलको समूह चरणमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्स विरुद्ध कीर्तिमानी १० विकेटको जित पनि हात पार्यो । लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा १७६ रन बनाउँदै पूरा गरेको थियो । एनपीएलमा पहिलो १० विकेटको जितमा पोखरा एभेन्जर्सको नाम रह्यो । यस जितमा आन्द्रेस गौसले शतक र दिनेश खरेलले अर्धशतक प्रहार गरे ।
यही खेलमा पोखराका आन्द्रेस गौस र दिनेश खरेलले सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनाए । ओपनरद्वय गौस र खरेलले पहिलो विकेटका लागि १७६ रनको कीर्तिमानी साझेदारी गरे ।
एनपीएलमा पहिलो १० विकेटमा बनेको यो साझेदारीमा अरु पनि कीर्तिमान छ । पहिलो विकेटका लागि यो उच्च साझेदारी हो । साथै कुनै पनि विकेटका लागि एनपीएलमा अहिलसम्म भएको मध्ये यो उच्च साझेदारी हो । यस खेलमा गौसले अविजित १०४ र दिनेशले अविजित ६१ रन बनाए । गौसले ५५ बल खेल्दै १२ चौका र ५ छक्का प्रहार गरे भने ४६ बल खेलेका दिनेशले ४ चौका र ४ छक्का प्रहार गरे ।
पहिलो सुपर ओभर
एनपीएलमा पहिलो सुपर ओभर पनि लिग चरणमै देख्यौं । पहिलो सुपर ओभर खेल जित्ने टिम पनि पोखरा एभेन्जर्स नै बन्यो । हरेक कुरामा पहिलो सधैँ महत्वपूर्ण र सम्झनलायक हुन्छ भने जस्तै एनपीएलको पहिलो सुपर ओभर पनि सम्झन लायक बनै छ । खेलकुदमा पहिलो हुनुको महत्व छुट्टै छ र पहिलोको कीर्तिमान सदाबहार नै हुन्छ ।
एनपीएलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेलमा पहिलो पटक सुपर ओभरमा भयो । त्यसमा विजयी टिम पोखरा रह्यो । अनी त्यसका नायक वेष्ट इन्डिजका खेलाडी रेमोन रेइफर भए ।
वेष्ट इन्डिजका लागि टेष्ट क्रिकेट समेत खेलिसकेका रेइफरले आफ्नो अनुभवको भरपुर फाइदा उठाएर पोखरालाई जिताए । अंग्रेजीमा ‘सिंगल ह्याण्डेड विन’ भनेजस्तै रह्यो उनको प्रदर्शन ।
नियमित इनिङ्सको अन्तिम ओभरको अन्तिम बलमा छक्का हान्दै स्कोर टाई गरेका रेइफर सुपर ओभरमा पोखराको जितमा नायक बने ।
सन्दीप लामिछानेले बलिङ गरेको सुपर ओभरमा रेइफरले लगातार दुई छक्का र चौकासहित १८ रन बनाउन सहयोग गरे । अनि बलिङमा पनि आफैं आएका रेइफरले कुनै बाउण्ड्री निदई जम्मा ५ रन खर्चेपछि पोखराले रोमाञ्चक जित हात पारेको थियो ।
१ बलमा १५ रन
क्रिकेट खेलमा एक बलमा कति रन बन्छ? १ रन २ रन ३ रन चौका वा छक्का । कुनै बल वाइड वा नो बल भएमा १ वा २ रन थपिएला । तर एकै बलमा १५ रन पनि बन्यो भन्दा अचम्म लाग्न सक्छ ।
एनपीएलमा विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रन बनेको पनि देखियो ।
एक ओभरमा ६ बल हुँदा कहिलेकाहीँ एक ओभरमा समेत १५ रन बन्न मुस्किल हुन्छ । तर यहाँ एकै बलमा १५ रनको कीर्तिमान बन्यो ।
नझुक्किनुस् है, यो एक ओभरमा बनेको हैन, एकै बलमा बनेको हो । चितवन राइनोजका बलर अमर सिंह राउटेलाको ओभरमा विराटनगरले एकै बलमा १५ रन जोडेको थियो । १५ रन जोड्ज सहयोग गर्ने ब्याटर थिए बसिर अहमद । जहाँ बसिरको नाममा १३ रन जोडिएको थियो ।
खेलको ११औं ओभरमा बलिङ गर्न आएका राउटेलालले सुरुआती तीन बल किफायती गरेका थिए । उनले पहिलो बलमा मार्टिन गप्टिललाई एक रन दिए । दोस्रो बलमा बसिर अहमदलाई कुनै रन दिएनन् । तेस्रो बलमा बसिरले एक रन जोडे ।
चौथो बलमा गप्टिलले राउटेलालाई छक्का हाने । पाँचौ बलमा गप्टिलले सिंगल लिए । पाँच बलसम्म विराटनगरले जम्मा ९ रन जोडेको थियो ।
तर त्यसपछि अन्तिम बलमा जे भयो त्यो इतिहास बन्यो । अन्तिम बलमा ‘ड्रामाटिक लास्ट बल’ भने जस्तै ।
राउटेलाको बलमा बसिरले छक्का हाने । उक्त बल ‘नो बल’ भयो । राउटेलाले फेरि बलिङ गर्नुपर्यो । त्यसमा बसिरले २ रन जोडे । तर फेरि ‘नो बल’ भयो । ‘नो बल’ हुँदा कुल ३ रन आयो । राउटेलाले फेरि बल फाल्नुपर्यो । त्यो बल पनि ‘वाइड’ भयो तर बसिरले कुनै रन लिएनन् । वाइड हुँदा त्यसमा १ रन आयो ।
२ पटक ‘नो बल’ र एक वाइड फालेपछि बल्ल चौथो प्रयासमा राउटेलाले लेगल डेलिभरी गरे । त्यसमा बसिरले चौका हान्दिए । यसरी एउटै बलका लागि राउटेलाले चार पटक बलिङ गर्नपुर्यो र त्यसैको फाइदा उठाएर विराटनगरले एकै बलमा १५ रन जोड्यो ।
यसअघि एनपीएलमा उद्घाटन खेलमा एकै बलमा ११ रन बनेको थियो । जनकपुर बोल्ट्सले विराटनगर किंग्स विरुद्धको उद्घाटन खेलमै एकै बलमा ११ रन जोडेको थियो ।
अन्य
यसबाहेक समूह चरणमा सबैभन्दा धेरै रन बनाउने खेलाडी लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल रहे । उनले ७ खेल खेल्दा दुई अर्धशतकसहित २७९ रन बनाए । जसमा २६ चौका र ११ छक्का समेत प्रहार गरे । रोहितको टिम बाहिरिसकेकोले उनलाई सर्वाधिक रन बनाउनेमा अन्य खेलाडीले पनि भेट्टाउन सक्छन् । त्यसमा सबैभन्दा नजिक छन् चितवन राइनोजका रवि बोपारा चितवनकै कप्तान कुशल मल्ल अनी सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी ।
बोपारा र कुशलले प्लेअफमा कम्तीमा एक खेल खेल्नेछन् भने दीपेन्द्रले दुई खेल खेल्नेछन् । बोपारले २३३ तथा कुशलले २०२ रन बनाएका छन् भने दीपेन्द्रले १९८ रन बनाएका छन् ।
यसैगरी सर्वाधिक विकेट लिनेमा सुदूरकै स्कट कुगेलेइन अगाडि छन् । उनले ७ खेलमा सर्वाधिक १५ विकेट लिएका छन् । जसमा पोखरा विरुद्धै एकै खेलमा ५ विकेट लिएका थिए । उनलाई पछ्याइरहेका जनकपुर बोल्ट्सका ललित राजवंशी र चितवनका रिजन ढकाले समान १३ विकेट लिएका छन् । यस रेसमा रहेका मध्ये चितवनका सोहेल तनविरले १२ तथा जनकपुरका हर्श थाकर र किशोर महतोले समान १० विकेट लिएका छन् ।
लिग चरणमा कुनै पनि टिमले २०० रनको स्कोर बनाउन सकेनन् । तर सबै भन्दा ठूलो स्कोर बनाउने कीर्तिमान विराटनगर किंग्सको नाममा रह्यो । विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याउँदै १९.५ ओभरमा १९३ रन बनाएको थियो । पहिलो इनिङ्समा धेरै रन बनाउने भने लुम्बिनी बन्यो । उसले विराटनगर विरुद्ध पहिले ब्याटिङ गर्दा १९१ रन बनाएको थियो ।
यसैगरी फिल्डिङमा कीर्तिमान बन्यो । जनकपुरका अनिल शाहले एकै खेलमा ५ क्याच लिने कीर्तिमान बनाए । उनले लिग चरणमा कुल १२ क्याच लिएका छन् । उनीपछि रहेका सुदूरपश्चिम रोयल्सका नरेश बुढायरले ९ क्याच लिएका छन् ।