१० मंसिर, काठमाडौं । शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण खेल्न आउने सबैभन्दा ठूला स्टार खेलाडी हुन् । आईसीसी च्याम्पियन्स ट्रफी, एसिया कप र आईपीएल जितसकेका ‘गब्बर’ उपनामले परिचित धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने छन् ।
विश्व क्रिकेटकै पावर हाउस छिमेकी भारतका भेट्रान ब्याटरलाई कर्णालीले अनुबन्ध गरेपछि अहिले एनपीएलको चर्चा ह्वात्तै बढेको छ । भारतीय क्रिकेट समर्थक देखि भारतीय मिडिया पनि धवन एनपीएल बउने खबरले निकै उत्सहित छन् ।
यसले एनपीएलको चर्चा नेपालमा मात्र नभएर छिमेकी भारतमा समेत निकै चुलिएको छ । विश्वकै चर्चित र ग्ल्यामरस फ्रेन्चाइज लिग आईपीएलमा दोस्रो सर्वाधिक रन बनाउने अनि आइपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी धवनको चर्चा भारतमा धेरै छ । त्यसैले नेपालमा रहेका धवन र भारतीय क्रिकेटका फ्यानहरु पनि धवन आउने खबरले उत्सहित छन् ।
धवनलाई गब्बर, जाट जी र मिस्टर आईसीसी जस्ता उपनामले चिनिन्छ । उनले भारतका लागि विश्वकप नजितेपनि च्याम्पियन्स ट्रफी जितेका छन् । अनी आईसीसीको प्रतियोगितामा व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गरेका छन् ।
सन् २००४ को यू१९ विश्वकपमा भारत सेमिफाइनलम पाकिस्तानसँग पराजित हादै बाहिरिएको थियो तर धवनले बेस्ट प्लेअरको अवार्ड जितेका थिए र सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । यस्तै सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी२० विश्वकपमा भारत उपविजेता बन्दा धवन त्यसको सदस्य थिए ।
धवनले सन् २०१३ मा इंग्लयाण्ड र वेल्समा भएको च्याम्पियन्स ट्रफी तथा २०१६ र २०१८ को एसिया कप जितेका छन् ।
भारतमा हुने आईपीएल २०२५ को लागि अहिले साउदी अरेबियाको जेद्दाहमा दुई दिने अक्सन भयो । जसमा विश्वभरका खेलाडीहरुका लागि करोडौंको बोली लाग्यो । तर सन् २०१६ मा सनराइजर्स हैदराबादबाट आईपीएल जितेका धवन भने एनपीएल खेल्न नेपाल आउँदैछन् ।
उनले सबैखाले क्रिकेटबाट सन्यास लिएपछि विदेशी लिग खेल्ने अवसर पाएका हुन् । धवन आईपीएलमा नदेखिएपनि अब उनको खेल टीयू मैदानमा नेपाली खेलाडीसँगै खेलेको हेर्न पाइनेछ ।
धवन आउने विषयले अहिले जताततै चर्चा पाएको छ । विश्वभरका क्रिकेट समर्थकको नजर अहिले एनपीएलमा छ । धवनसँगै खेल्न कर्णालीका मार्की खेलाडी सोमपाल कामी देखि गुल्सन झा देव खना नन्दन यादव लगायत खेलाडीहरु उत्सहित छन् । यस्तै नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा धवनले एनपीएल खेल्नेछन् ।
विश्व क्रिकेटको पावर हाउस भारतका लागि तीनवटै फर्म्याट खेलिसकेका धवन एनपीएलमा अनुबन्ध हुने ठूलो स्टार हुन् ।
भारतको राष्ट्रिय टिमबाट खेलिसकेर एनपीएल खेल्न आउने उनी पहिलो भारतीय क्रिकेटर हुनेछन् । यसअघिका लिगहरुमा भारतका लागि डोमेस्टिक खेल खेलेका र उमेर समूहबाट खेलेका खेलाडीहरु नेपालमा खेल्न आएका थिए । उनी एनपीएलमा अनुबन्ध हुने मध्ये आईसीसीको प्रतियोगिता र आईपीएल दुवै जित्ने पहिलो खेलाडी हुन् ।
विश्वकै चर्चित र ग्ल्यमरस लिग आईपीएलमा सर्वाधिक रन बनाउनेमा धवन विराट कोहलीपछि दोस्रो स्थानमा छ । धवनले हैदरावादसहित डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबाट आइपीएल खेलिसकेका छन् ।
भारतका लागि उनले सबैखाले फर्म्याटमा गरी १० हजार भन्दा बढी रन बनाएका छन् । आफ्नो क्रिकेट करियरमा भने उनले अन्तर्राष्ट्रिय र रुडोमेस्टिक गरी ३० हजार रन बनाइसकेका छन् ।
भारतमै पुगेर धवनसँग सम्झौता
कर्णाली याक्सले भारतमै पुगेर धवनसँग सम्झौता गरेको थियो । सम्झौताका लागि मालिक झनकदत्त खनाल र सहमालिक गृहेन्द्र घिमिरे भारत पुगेका थिए ।
गुडगाउँस्थित धवन बसेको अपार्टमेन्टको २२औं तल्लामा सम्झौता कार्यक्रम भएको थियो । सम्झौताका लागि भारतका लागि कार्यवाहक राजदुत सुरेन्द्र थापासँग कुराकानी भएको थियो ।
धवनसँग धेरै पटक इमेलमा कुराकानी भएपछि कर्णाली याक्सले ५ खेलको लागि प्रस्ताव गरेको थियो । अनि मिति तय गरेर धवनसँग सम्झौता गर्न कर्णाली याक्सको टोली भारत गयो । मंगलबार बेलुका धवनसँग सम्झौता गरेर टोली काठमाडौं फर्कियो । धवनको नाम सार्वजनिक नहुँदै नेपालमा भने भारतीय क्रिकेटर आउने हल्ला चलिसकेको थियो ।
घिमिरेले धवनको आगमन नेपाली क्रिकेटमा कोशेढुंगा बन्न सक्ने बताए । ‘उहाँलाई एनपीएलमा ल्याउनुपर्छ । यो नेपाली क्रिकेटमा कोशेढुंगा बन्न सक्छ ।’
यस्तै धवनले क्रिकेट खेल्ने बाहेक पशुपति नाथ दर्शन गर्ने प्रस्ताव पनि राखेका थिए । टिमले उनलाई पशुपति दर्शन सहित माउन्टेन फ्लाइट पनि गराउने भएको छ ।
‘खेलसहित धवनले मेरो प्राथमिकता पशुपतिनाथ घुम्ने पनि भन्नुभएको छ । हामीले हुन्छ भन्यौँ । अनी हामीले माउन्ट एभरेष्टमा माउन्टेन फ्ल्इट पनि गर्ने भनेका छौँ ।’ सहमालिक घिमिरेले भने ।
यस बाहेक घिमिरेले धवनलाई कर्णाली प्रदेशको विभिन्न स्थानको बारेमा जानकारी गराउदै रारमा घुम्ने प्रस्ताव पनि राखेका थिए । ‘रारा पनि घुम्ने प्रस्ताव गरेका छौँ मिल्यो भने यसै पटक घुम्ने कुरा छ । यस पटक नभए अर्को पटक आउँदा रारा, शे-फोक्सुन्डो लगायत कर्णाली क्षेत्र घुम्ने भन्नुभाछ ।’
यस्तै धवनले आफू एनपीएल खेल्न आउँदैछु भनेर नेपालका खेलाडीहरुलाई पनि जानकारी गराइदिनु भनेर सन्देश पठाएको घिमिरेले बताए ।
कर्णाली याक्स मालिक झनक दत्त खनालले धवनको आगमन नेपाली क्रिकेटकै लागि उपलब्धि भएको बताए । ‘विश्वकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा हामी खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो ।’ खनालले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभई नेपाली क्रिकेट र खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’
यस्तै कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि सुखद् सन्देश रहेको बताए । ‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवर्द्धनमा कर्णाली याक्सले सुखद् सुरुवात गरेको छ,’ थापाले भने ।
यसैगरी धवनले पनि एनपीएलमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘नमस्ते नेपाल । म कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्न, सबैजनासँग मिल्न र कुरा गर्न आउँदैछु ।’ धवनले कर्णालीले जारी गरेको भिडियो सन्देशमा भनेका छन् ।
धवनको प्रदर्शन
३८ वर्षीय बायाँ हाते ब्याटर धवनले भारतका लागि ३४ टेष्ट, १६७ ओडिआई र ६८ टी-२० आई म्याच खेलेका छन् । टेष्टमा ७ शतक मद्तमा २ हजार ३१५ रन बनाएका धवनले ओडिआईमा ६ हजार ७९३ रन बनाएका छन् जसमा १७ शतक समावेश छ । यस्तै टी-२०आईमा उनले ११ अर्धशतक मद्तमा १ हजार ७५९ रन बनाएका छन् ।
धवनले भारतका लागि पछिल्लो पटक सन् २०२१ मा श्रीलंका विरुद्ध टी-२०आई म्याच खेलेका खेलेका थिए । यस्तै उनले भारतको राष्ट्रिय टिमका लागि पछिल्लो पटक सन् २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध ओडिआई म्याच खेलेका थिए ।
सन् २०१३ मा मोहालीमा धवनले अष्ट्रेलिया विरुद्ध टेष्ट डेब्युमै शतक प्रहार गरेका थिए । डेब्यु टेष्टको पहिलो इनिङ्समै १८७ रन हानेका उनी प्लेअर अफ दि म्याच नै घोषित भए ।
त्यसअघि उनले सन् २०१० मा अष्ट्रेलिया विरुद्ध नै ओडिआईमा डेब्यु गरेका थिए भने २०२१ मा वेष्ट इन्डिज विरुद्ध टी२०आईमा डेब्यु गरेका थिए ।
धवनले पछिल्लो सिजन पञ्जाब किंग्सबाट आईपीएल खेलेका थिए । धवनले आईपीएलमा पाँच फरक टिमबाट गरी कूल २२२ म्याच खेलेका छन् ।
आइपीएलमा उनले २ शतक सहित ६ हजार ७६९ रन बनाएका छन् । धनव आईपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् ।
उनले सबैखाले टी२० गरी ३३४ खेल खेल्दै ९ हजार ७९७ रन बनाएका छन् ।
विश्व क्रिकेटमा यति धेरै चर्चा पाइसकेको खेलाडी नेपाल मा लिग खेल्न आउने खबरले अहिले फ्रेन्चाइज टोली, नेपाली क्रिकेटर, नेपाली समर्थकदेखि सबै जना उत्सहित छ ।
अब टीयू मैदानमा शिखर धवनलाई नेपाली बलरहरु करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अभिनाश बोहरा, किशोर महतो, सागर ढकाल, आकाश चन्द, कमल सिंह ऐरी, सहाब आलमले बलिङ गर्दा कस्तो देखिएला ?
धवनले क्याच लिँदा गर्ने गब्बर सेलेब्रेसन गर्दा कीर्तिपुरको माहोल कस्तो देखिएला ? केही दिनमा हेर्न पाइनेछ ।