सन् १८९६ अगस्ट २७ मा बेलायत र जांजिबार सुल्तान बीच भएको एङ्ग्लो–जांजिबार युद्ध इतिहासमा संसारकै सबैभन्दा छोटो युद्धका रूपमा चिनिन्छ। यो युद्ध जम्मा ४५ मिनेट मात्र चलेको थियो।
सुल्तान हामद बिन थुवैनीको आकस्मिक मृत्युपछि उनका भतिज खालिद बिन बारघासले बेलायती स्वीकृति विना सत्ता कब्जा गरे। त्यतिबेला जांजिबार बेलायतको संरक्षकत्वमा रहेकोले नयाँ सुल्तान बन्न बेलायती अनुमति आवश्यक थियो। खालिदले यो प्रक्रिया बेवास्ता गरेपछि बेलायतले उनलाई पद त्याग्न अल्टिमेटम सहित चेतावनी दियो। तर सुल्तानले अटेर गरेपछि निर्धारित समय सकिएलगत्तै बेलायती युद्धपोतहरूले सुल्तानको दरबारमाथि तीव्र गोलाबारी शुरु गरे। केही मिनेटमै दरबारमा आगो लाग्यो, जांजिबारको झण्डा ढल्यो र युद्ध समाप्त भयो।
यस छोटो तर विनाशकारी युद्धमा करिब ५०० जांजिबारीहरू मारिए भने बेलायती पक्षबाट एक जना मात्र सैनिक घाइते भए। खालिद देश छाडेर भागे र बेलायतले आफ्नो समर्थक सुल्तानलाई सत्तामा राख्यो। यस घटनाले जांजिबारको वास्तविक स्वतन्त्रतालाई अन्त्य गरी बेलायती प्रभावलाई पूर्ण रूपमा स्थापित गर्यो।
तान्जानिया पूर्वी अफ्रिकाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले धनी देश हो। यसको निर्माण दुई भिन्न स्वतन्त्र राज्यहरू टाङ्गानिका र जांजिबारको एकताबाट भएको हो। टाङ्गानिका र जांजिबारका नेताहरूले राजनीतिक स्थिरता, आर्थिक सहयोग र सामाजिक एकता सुनिश्चित गर्न संघीय एकता गर्ने निर्णय गरे। जसको फलस्वरूप सन् १९६४ अप्रिल २६ मा दुई देश एक भएर नयाँ देश तान्जानिया बन्यो।
नाम चयनमा दुवै देशको पहिचान समेटिएको छ। दुवै देशको पहिलो तीन–तीन अक्षर “Tan” र “Zan” मिलाएर “Tanzan” मा “ia” थपिएको हो। यसरी बनेको नाम तान्जानियाले दुई भिन्न इतिहास, संस्कृति, भाषा र परम्परा भएका समुदायलाई एक सिंगो राष्ट्रको रूपमा प्रस्तुत गर्छ।
“ia” प्रत्ययको उत्पत्ति प्राचीन ग्रीक र ल्याटिन भाषाबाट भएको हो। यसको अर्थ प्रायः भूमि, क्षेत्र वा कुनै सभ्यता/स्थानसँग सम्बन्धित इलाका भन्ने हुन्छ। यो प्रत्यय युरोप, अफ्रिका, एसिया र अमेरिकाका धेरै देशमा प्रयोग भएको पाइन्छ। इन्डिया, मलेशिया, इथियोपिया, नाइजेरिया, अष्ट्रेलिया, अल्बेनिया अनि आर्मेनिया जस्ता करिब ४० देशहरू यसका उदाहरण हुन्।
टाङ्गानिका सन् १८८५–१९१९ मा जर्मन पूर्वी अफ्रिका अन्तर्गत रह्यो। यस अवधिमा जबरजस्ती मजदुरी, कर र विद्रोह भयो। सन् १९०५–०७ मा माजी माजी विद्रोह भयो जसमा करिब तीन लाख मानिस मारिएको अनुमान छ। पहिलो विश्वयुद्धपछि ब्रिटेनले यहाँको नियन्त्रण लिए र मुख्य भूमि टाङ्गानिका भनियो। त्यसपछि चलेको आन्दोलनको परिणामस्वरूप टाङ्गानिका सन् १९६१ डिसेम्बर ९ मा स्वतन्त्र भयो र १९६२ मा गणतन्त्र घोषणा भयो। राष्ट्रपति जुलियस न्यरेरेको नेतृत्वमा उजाम्मा (African socialism) नीति लागू गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र राष्ट्रिय एकता बलियो बनाए।
उजाम्मा स्वाहिली भाषाको शब्द हो जसको अर्थ “पारिवारिक एकता”, “सामूहिक सहयोग” वा “समुदायवाद” हुन्छ। यो विचार टाङ्गानिका (पछि तान्जानिया) का पहिलो राष्ट्रपति जुलियस न्यरेरेले १९६०–७० को दशकमा प्रस्तुत गरेका थिए। उजाम्माको मुख्य उद्देश्य समाजमा समानता र न्याय स्थापना गर्नु, ग्रामीण क्षेत्रलाई सामूहिक समुदायमा रूपान्तरण गर्नु, स्वदेशी उत्पादनमा जोड दिनु र राष्ट्रिय आत्मनिर्भरता सुनिश्चित गर्नु थियो।
यस अन्तर्गत कृषकहरूलाई ठूलो गाउँमा ल्याएर साझा भूमि र साधनको प्रयोग गरी उत्पादन गर्न लगाइन्थ्यो। बैंक, उद्योग, यातायात र मुख्य स्रोतहरू राष्ट्रियकरण र शिक्षा तथा स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने प्रयास गरिन्थ्यो। उजाम्माको परिणाम मिश्रित रहेको देखिन्छा। सकारात्मक रूपमा ग्रामीण क्षेत्रको आधारभूत विकास, शिक्षा र स्वास्थ्यमा सुधार देखियो तर कृषिमा उत्पादन घट्यो, व्यक्तिगत उद्यमशीलता कम भयो र धेरै गाउँमा आर्थिक समस्या तथा भोकमरी देखा पर्यो।
अर्कोतर्फ, समुद्रतटीय क्षेत्रमा रहेको जांजिबार किनवा र मोंबासा जस्ता विशेष व्यापारिक केन्द्रहरू हुन्। स्टोन टाउन जांजिबार शहरको ऐतिहासिक केन्द्र हो र यो विश्व धरोहर स्थलको रूपमा युनेस्कोमा सूचीकृत छ। यो पुरानो शहर प्राचीन र आधुनिक संस्कृतिको मिश्रणले भरिपूर्ण छ जहाँ साँघुरा गल्ली, पुराना घर, बजार, मसला गोदाम र अरब–फारसी शैलीको वास्तुकला देख्न सकिन्छ। यहाँको वास्तुकलाले स्वाहिली, अरब, फारसी, भारतीय र युरोपेली प्रभावलाई प्रतिबिम्बित गर्दछ।
अहिले तान्जानियाको राजनीति बहुदलीय लोकतान्त्रिक छ र जांजिबार अर्ध–स्वायत्त क्षेत्रको रूपमा रहेको छ। यहाँ आफ्नै अर्ध–संसदीय सरकार, राष्ट्रपति र संसद् सञ्चालन हुन्छ।
यहाँ सन् १४९८ मा पोर्चुगिज अन्वेषक वास्को दा गामा पुगेका थिए। त्यसपछि पोर्चुगिजहरूले प्रारम्भिक रूपमा नियन्त्रण गरे र किल्ला बनाए तर दीर्घकालीन प्रभुत्व कायम गर्न सकेनन्। सन् १६९८ मा ओमानी अरबहरूले पोर्चुगिजलाई पराजित गरी जांजिबारमा शासन स्थापना गरे। सुल्तान सईद बिन सुल्तानले १८४० मा आफ्नो राजधानी मस्कटबाट जांजिबार सार्दै यसलाई पूर्वी अफ्रिकाको व्यापारिक केन्द्र बनाए।
तान्जानियाको मानव इतिहास अत्यन्त पुरानो छ। ओल्डुवाई गोर्ज (अहिलेको उत्तर–पूर्वी तान्जानिया) अवस्थित विश्वप्रसिद्ध पुरातात्विक स्थल हो। यो स्थल मानव इतिहासको अध्ययनका लागि महत्वपूर्ण छ किनभने यहाँ करिब दुई लाख वर्ष पुराना मानव पुर्खाका अवशेष फेला परेका छन्। यसले पूर्वी अफ्रिकालाई “मानव जन्मस्थल” को रूपमा चिनाउन सहयोग पुर्याएको छ। ईसा पूर्व १०००–५०० वर्षको अवधिमा बान्टु भाषी समुदाय पश्चिम र मध्य अफ्रिकाबाट आएका थिए। उनीहरूले समाजमा फलाम निर्माण, कृषि, गाउँले जीवन र सांस्कृतिक संरचना स्थापना गरे। आज पनि अधिकांश तान्जानियालीहरू बान्टु भाषी छन् र स्वाहिली भाषा बोल्छन्। स्वाहिली बान्टु भाषिक परिवारको एक प्रसिद्ध सदस्य हो।
अहिले तान्जानियाको राजनीति बहुदलीय लोकतान्त्रिक छ र जांजिबार अर्ध–स्वायत्त क्षेत्रको रूपमा रहेको छ। यहाँ आफ्नै अर्ध–संसदीय सरकार, राष्ट्रपति र संसद् सञ्चालन हुन्छ। राष्ट्रपति प्रमुख कार्यकारी हुन् र उनले मन्त्रिपरिषद्मा बढीमा २० मन्त्री चयन गर्न सक्छन्। संसद्मा करिब ७६ सदस्य छन्। जांजिबारले आफ्नै ढंगले आन्तरिक प्रशासन, शिक्षा, स्वास्थ्य र कानून चलाउँछ तर विदेश नीति, सुरक्षा, रक्षा र मुद्रा भने तान्जानियाको संघीय सरकारको अधीनमा रहन्छ।
संसारमा जांजिबार जस्ता अर्ध–स्वायत्त क्षेत्र अन्यत्र पनि केही छन् जस्तै हङकङ (चीन), फारो आइल्यान्ड्स (डेनमार्क), ग्वाम र प्यूर्टो रिको (अमेरिका)। यी क्षेत्रहरूले आन्तरिक प्रशासन स्वतन्त्र राख्छन् तर बाह्य मामिला मुख्य राष्ट्रको नियन्त्रणमा रहन्छ।
तान्जानियाको अर्थतन्त्र मुख्य रूपमा कृषि, खानी, माछा मार्ने, निर्माण र पर्यटनमा आधारित छ। प्रमुख कृषि उत्पादनमा कफी, चिया, कासावा, मकै, धान, गहुँ, मसला, सुर्ती पर्दछन्। खानीमा सुन, हीरा, कोबाल्ट, तामा, फलाम र प्राकृतिक ग्यासको उत्खनन हुन्छ। तान्जानियाका हीरा विश्वव्यापी रूपमा प्रसिद्ध छन् र “डाइमन्डको देश” को रूपमा मान्यता प्राप्त छ। पर्यटनमा सेरेन्गेटी राष्ट्रिय निकुञ्ज, किलिमाञ्जारो हिमाल, जांजिबार प्रमुख आकर्षण हुन्।
सांस्कृतिक रूपमा तान्जानिया बान्टु भाषी समुदाय, स्वाहिली भाषा, विभिन्न जातीय समूह र स्थानीय परम्परामा आधारित छ। संगीत, नृत्य, मसला खेती, ऐतिहासिक वास्तुकला र समुद्री व्यापारको महत्त्वले यहाँको सांस्कृतिक पहिचान बनाएको छ। आज तान्जानिया राजनीतिक, सांस्कृतिक तथा प्राकृतिक रूपमा धनी र आर्थिक रूपमा प्रगतिशील देशको रूपमा परिचित छ।
तान्जानियाको राष्ट्रपति सामिया सुलुहु हसन हुन्। उनीले १९ मार्च २०२१ मा पूर्ववर्ती राष्ट्रपति जोन मागुफुलीको निधनपछि पदबहाली गरेकी थिइन्। जांजिबारमा जन्मेकी सामिया सुलुहु हसन तान्जानियाको संयुक्त गणराज्यकी पहिलो महिला राष्ट्रपति हुन्। उनले अक्टोबर २०२५ को राष्ट्रपति निर्वाचनमा करिब ९८ प्रतिशत मतका साथ दोस्रो कार्यकालका लागि विजय प्राप्त गरिन्, यद्यपि निर्वाचनमा अनियमितता र विरोध प्रदर्शनका आरोपहरू लागेका थिए।
अर्ध–स्वायत्त जांजिबारको वर्तमान राष्ट्रपति डा. हुसेन अली म्विन्यी हुन्। उनले ३ नोभेम्बर २०२० देखि सेवा दिंदै आएका छन् र २०२५ को निर्वाचनमा करिब ८० प्रतिशत मत प्राप्त गरी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भए।
टाङ्गानिका (मुख्य भूमि) करिब ९,४५,००० वर्ग किलोमिटर भूभागमा फैलिएको छ भने जांजिबार करिब २,४६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। तान्जानियाको कुल जनसंख्या करिब ७ करोड छ भने जांजिबारको जनसंख्या लगभग १९ लाख छ। जांजिबारको राजधानी स्टोन टाउन हो भने तान्जानियाको राजनीतिक राजधानी डोडोमा हो र आर्थिक तथा व्यापारिक केन्द्र दार ए सलाम रहेको छ।
