एउटै दिन दुई विश्व कीर्तिमान : कामी रिताको ३२ औं र लाक्पाको ११ औं सगरमाथा आरोहण



प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार

तस्वीर स्रोत : कामी रिता शेर्पाको फाइल र लाक्पा शेर्पाको उनको इन्स्टाग्रामबाट

विश्वकै सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमान राख्दै आएका नेपाली शेर्पा गाइड कामी रिता शेर्पाले फेरि इतिहास रचेका छन्। उनले आइतबार ३२ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै गत वर्ष बनाएको आफ्नै कीर्तिमानलाई थप उचाइमा पुर्‍याएका हुन्।

५६ वर्षीय कामी रिताले विदेशी आरोहीलाई मार्गदर्शन गर्दै ‘१४ पिक्स एक्सपेडिसन’ कम्पनीमार्फत सगरमाथाको चुचुरोमा पुगेका हुन्। विश्वकै सर्वोच्च शिखर ८,८४८.८६ मिटर (२९,०३२ फिट) अग्लो सगरमाथाको शिखरमा उनी आइतबार बिहान १० बजेर १२ मिनेटमा पुगेको पर्यटन विभागले जनाएको छ।

यसैबीच,  ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९ः३० बजे सगरमाथा आरोहण गरिन् । ५२ वर्षीया शेर्पा महिला लाक्पाले योसँगै ११ औँ पटक सगरमाथा आरोहण गरेकी हुन् ।  यो कुनै महिलाले गरेको सबैभन्दा धेरै सगरमाथा आरोहणको कीर्तिमान हो। 

पर्यटन विभागले विज्ञप्ति जारी गर्दै यो ऐतिहासिक उपलब्धिको लागि दुवै पर्वतारोहीलाई बधाई दिएको छ। 

कामी रिता सोलुखुम्बुको थामे गाउँका बासिन्दा हुन्। यही गाउँ सगरमाथाका पहिलो सफल आरोहीमध्येका एक तेन्जिङ नोर्गेको पनि जन्मस्थल हो। तेन्जिङ नोर्गे र न्यूजिल्यान्डका सर एडमन्ड हिलारीले सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेर विश्व इतिहास रचेका थिए।

कामी रिताले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनले २०१४, २०१५ र २०२० बाहेक प्रत्येक वर्ष सगरमाथाको सफल आरोहण गर्दै आएका छन्। ती वर्षहरूमा विभिन्न कारणले सगरमाथा आरोहण अभियान स्थगित गरिएको थियो। कतिपय वर्ष उनले एउटै सिजनमा दुई पटकसम्म सगरमाथा चढेका थिए।

सन् १९५३ मा पहिलो आरोहण सम्पन्न भएयता हालसम्म ८ हजारभन्दा बढी व्यक्तिले सगरमाथा आरोहण गरिसकेका छन्। तीमध्ये धेरैले एकभन्दा बढी पटक चुचुरोमा पाइला टेकिसकेका छन्।

यस वर्षको मार्चदेखि मेसम्मको सगरमाथा आरोहण सिजनका लागि नेपाल सरकारले ४९२ जनालाई आरोहण अनुमति दिएको छ। तर, यसै महिनामा सगरमाथा क्षेत्रमा तीन नेपाली आरोहीको मृत्यु भइसकेको छ ।

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

प्रधानमन्त्री वालेन्द्र शाहले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११ औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन् । 

“विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्”, प्रधानमन्त्रीले शाहले भनेका छन् ।

“निरन्तरको अदम्य साहस, कठोर आत्म अनुशासन र कर्मप्रतिको इमानदार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ”, प्रधानमन्त्री शाहले भनेका छन्, “खुसीको यो क्षणलाई सबै जनासँग साझा गर्दै दुवै जना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको उनले उल्लेख गरेका छन् । हिमाललाई ईश्वर झैं पूजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने बताएका छन् । 





Source link

Leave a Comment