इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको मनोनयन दर्ता, महिला उम्मेदवार शून्य


२४ चैत, इलाम । १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् ।

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराएका छन् ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनबाट निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौको राति निधन भएपछि खाली रहेको प्रतिनिधिसभा सदस्य पदमा चुनाव हुन लागेको हो ।

एमाले उम्मेदवार सुहाङ् नेम्वाङ

एमालेले सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । उनलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ । कांग्रेस उम्मेदवार डम्बर खड्का ४ मंसिर २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका लिम्बु माओवादी निकट पत्रकार हुन् र उनी चुनावको केही दिनअघि मात्र रास्वपाको उम्मेदवार चयन भएका थिए ।

इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको मनोनयन दर्ता, महिला उम्मेदवार शून्य
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु ।

इलाम २ मा पहिचान पक्षधर विभिन्न ४१ राजनीतिक शक्ति र संघसंस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बु थेगिम उम्मेदवार बनेका छन् । उनलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

त्यस्तै राप्रपा नेपालका गणेशबहादुर चौकान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले पनि मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेमा इलामका ४ जना छन् । इलाम नगरपालिका ११ का केशवकुमार चापागाई, इलाम नगरपालिका-७ का डाकप्रसाद गौतम, फाकफोकथुम गाउँपालिका- १ का दिपेश बोहरा र फाकफोकथुम-३ इलामका डकेन्द्रसिं लिम्बु (थेगिम) रहेका छन् ।

इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको मनोनयन दर्ता, महिला उम्मेदवार शून्य
पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ।

अछामका अर्जुनबहादुर शाही, बिर्तामोड झापाका मनोज निरौला, अर्जुनधारा झापाका योगेन्द्र गुरुङ, पोखरा कास्कीका राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रस्तावक र समर्थक नपाएका कारण स्वतन्त्र उम्मेदवारी दिन सर्लाहीबाट आएका उमेश दहालको भने मनोनयन दर्ता भएन । इलाम-२ को उपनिर्वाचनमा सबै प्रतिस्पर्धी पुरुष रहेका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार २५ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ गते उजुरीउपर जाँचबुझ गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्तालिका छ । २७ चैतमै उम्मेदवारहरुले चुनाव चिह्न पाउनेछन् ।

इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको मनोनयन दर्ता, महिला उम्मेदवार शून्य
कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का ।





Source link

Leave a Comment