अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा छलफल सकारात्मक रूपमा अगाडि बढेको बताएपछि सोमबार एसियाली सेयर बजारमा ठूलो उत्साह देखियो। इरानसँग अमेरिका र इजरायलबिचको युद्ध अन्त्य हुने र सम्झौता हुन सक्ने आशाले विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आयो भने वित्तीय बजारहरू उकालो लागे।
जापानको मुख्य सेयर बजार सूचकांक निक्केई २२५ इतिहासमै पहिलो पटक ६५,००० को ऐतिहासिक विन्दु पार गर्दै ३.०१ प्रतिशत (वा २.८७ प्रतिशत) ले बढेर ६५,१५८.१९ (तथा ६५,३२१.५६ को विन्दु) मा बन्द भयो। यस्तै, अष्ट्रेलियाको मुख्य सेयर बजार सूचकांक ०.४ प्रतिशतले बढेर ८,६९२.७० तथा सांघाई कम्पोजिट ०.४ प्रतिशतले बढेर ४,१२७.५३ मा पुग्यो।
शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानसँग सम्झौताका लागि ‘धेरै हदसम्म वार्ता’ भएको र विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए। उनले साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार र पाकिस्तान जस्ता प्रमुख क्षेत्रीय मुलुकका नेताहरूसँग ‘शान्तिसम्बन्धी समझदारीपत्र’का बारेमा कुराकानी गरेको पनि जानकारी दिए। ट्रम्पले भनेका थिए, ‘संयुक्त राज्य अमेरिका, इरान र अन्य विभिन्न देशबिच सूचीबद्ध सम्झौतालाई अन्तिम रूप दिनेमा धेरै हदसम्म वार्ता भएको छ। सम्झौताको अन्तिम पक्ष र विवरणबारे छलफल भइरहेको छ, र चाँडै घोषणा गरिनेछ।’ उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग पनि सकारात्मक कुराकानी भएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुस्लिम देशका नेताहरूसँग शनिबार टेलिफोन वार्ता गरी इरानसँगको युद्ध अन्त्यका लागि सहमति भएमा इजरायलसँगको सम्बन्ध सामान्य हुने आफूले अपेक्षा गरेको बताए। ट्रम्पले सामाजिक सञ्जालमा इरानले पनि इजरायलसँग सम्बन्ध स्थापना गर्न सक्ने उल्लेख गर्दै ऐतिहासिक अब्राहम सम्झौतामा इस्लामिक गणतन्त्र इरानसमेत सामेल हुन सक्ने कुरा अघि सारेका हुन्।
तर साउदी अरब, कतार र पाकिस्तान जस्ता इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका मुस्लिम नेताहरूले ट्रम्पको यो अनुरोधमा मौनता देखाएका छन्। वार्तामा सहभागी एक अधिकारीका अनुसार ट्रम्पले लाइनमा सन्नाटा छाएपछि ठट्टा गर्दै ‘उनीहरू अझै त्यहाँ छन् कि छैनन्’ भनी सोधेका थिए। ट्रम्पले साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनका नेताहरूसँग कुरा गर्दै वार्ताहरू व्यवस्थित र रचनात्मक तरिकाले अगाडि बढिरहेको र सम्झौता नहुँदासम्म नाकाबन्दी पूर्ण रूपमा लागू हुने बताए।
यो युद्धको सुरुवातदेखि नै पाकिस्तानले दुवै पक्षबिच मध्यस्थता गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। सन् २०२६ को अप्रिलमा सुरु भएको युद्धविराम र इस्लामावादमा भएको शान्ति वार्ताको रूपरेखा पाकिस्तानकै पहलमा तयार भएको थियो। पाकिस्तानले अमेरिका र इरानबिचको कूटनीतिक खाडल पुर्न र सन्देश आदानप्रदान गर्न मुख्य माध्यमको काम गरिरहेको छ। यद्यपि, हालै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले हाल पाकिस्तान भ्रमण गर्ने वा तेहरान आउने पाकिस्तानी अधिकारीको कुनै योजना नभएको स्पष्ट पारेका छन्।
अहिले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफसँगै सेना प्रमुख एवं फिल्ड मार्सल जनरल असिम मुनीर चीन पुगेका छन्। अमेरिका र इरानबिच वार्ता गर्ने प्रयासमा मुनीरको महत्वपूर्ण भूमिका रहेको विश्वास गरिएको छ। गत साता उनी पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीसँगै इरान गएका थिए। त्यहाँ उनीहरूले अमेरिका र इजरायलबिचको तनाव कम गर्ने र युद्ध रोक्ने विषयमा कुराकानी गरेका थिए।
बेइजिङमा मुनिरसँगै चिनियाँ नेताहरूसँग कुराकानी गर्दै सरिफले भने, ‘विश्व गम्भीर क्षणबाट गुज्रिरहेको छ। चीजहरू सही दिशामा अघि बढिरहेका छन्। म शान्तिलाई प्रबद्र्धन गर्न चीनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु।’ चीनले पनि मध्यपूर्वमा चाँडै शान्ति र स्थिरता ल्याउनका लागि पाकिस्तानसँग सकारात्मक भूमिका खेल्ने बताएको छ। यसबिच अमेरिकी डलरको तुलनामा चीनको मुद्रा युआन तीन वर्षयताकै सबैभन्दा बलियो विन्दुमा पुगेको छ। यसको मुख्य कारण अमेरिका र इरानबिच सम्भावित सम्झौता र होर्मुजलाई पुनः खुल्ने आशा नै हो।
क्षेत्रीय अधिकारीहरूका अनुसार अमेरिका इरानसँग युद्ध अन्त्य गर्ने, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र इरानले अत्यधिक संवर्धित युरेनियमको भण्डार छोड्ने सम्झौताको नजिक पुगेको छ। ट्रम्पले कुनै पनि सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट ‘बिल्कुल’ रोक्ने स्पष्ट पारे। तर आइतबार उनले केही संयमित हुँदै ट्रुथ सोशलमा भने, ‘दुबै पक्षले आफ्नो समय लिनु पर्छ र यसलाई सही बनाउनु पर्छ। त्यहाँ कुनै गल्ती हुन सक्दैन!’ इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले पनि वासिङ्टन र तेहरानको अडान एक भएको बताए।
गत २८ फेब्रुअरीमा द्वन्द्व सुरु भएदेखि विश्वको तेल र तरलीकृत प्राकृतिक ग्याँसको लगभग पाँच भागको एक भाग ओगट्ने साँघुरो जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ बन्द छ। मार्चको सुरुदेखि इरानले जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिएपछि विश्व बजारमा आपूर्तिमा ठूलो धक्का लागेको थियो।
रोयटर्सका अनुसार एलएनजी बोकेका दुई ठूला जहाजले स्ट्रेट पार गरेका छन्। यीमध्ये एउटा जहाज पाकिस्तान गइरहेको छ भने अर्को चीनतर्फ गइरहेको छ। पहिलो जहाज फुएरिट ग्यास बोकेर कतारबाट गएको थियो र मंगलबारसम्म पाकिस्तान पुग्ने अपेक्षा गरिएको छ। दोस्रो जहाज अल रेयान पनि अब होर्मुज छाडेको छ। जहाज जुन २७ सम्म चीन पुग्ने अपेक्षा गरिएको छ।
सम्झौताको आशाले सोमबार बिहान एसियाली बजारमा अन्तर्राष्ट्रिय तेल सूचकांक ब्रेन्ट क्रूड घटेर ९७.९० डलर प्रति ब्यारेलमा झर्यो। अमेरिकी वेस्ट टेक्सास इन्टरमीडिएट कच्चा तेल पनि घटेर ९०.९९ डलर प्रति ब्यारेलमा झर्यो। विश्लेषक स्टीफन इन्सले बजारले भू-राजनीतिक डरको सट्टा सम्भावित शान्ति लाभांशको मूल्य निर्धारण गर्न थालेको बताए। ऊर्जा अनुसन्धान प्रमुख शाऊल काभोनिकले तेलको मूल्यमा केही राहत मिले पनि क्षतिग्रस्त संरचना मर्मत र भण्डार पुनर्निर्माणका कारण २०२७ सम्म बजार कसिलो नै रहने तर्क गरेका छन्। यता भारतमा तेल कम्पनीहरूले सोमबार पेट्रोलको मूल्य प्रतिलिटर २.६१ भारु र डिजेलको मूल्य प्रतिलिटर २.७१ भारु बढाएका छन्। यो वृद्धिपछि दिल्लीमा एक लिटर पेट्रोलको मूल्य १०२.१२ भारु पुगेको छ भने डिजेलको मूल्य ९५.२० भारु पुगेको छ।
सम्भावित नयाँ सम्झौताका सर्तहरूले जेरुसलममा भने चिन्ता बढाएको छ। वरिष्ठ इजरायली अधिकारीहरूले यो सम्झौता इजरायलको हितमा नभएको भन्दै चेतावनी दिएका छन्। युद्धविरामको ६० दिनको विस्तारबाट सुरु हुने सम्झौताले तेहरानको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम वा क्षेत्रीय प्रतिनिधिहरूको समर्थनलाई सम्बोधन नगरेकोमा उनीहरू चिन्तित छन्। यसले इरानलाई आर्थिक र सैन्य सुधारका लागि समय दिने इजरायली अधिकारीहरूको बुझाइ छ। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले पनि ७२ घण्टाभित्र आणविक सम्झौता गर्न नसकिने बताए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्भावित सम्झौताबारे सार्वजनिक रुपमा कुनै टिप्पणी गरेका छैनन्। यद्यपि, उनले सामाजिक मिडिया प्लेटफर्म एक्समा आफू र ट्रम्पको एआई-जनित तस्वीर साझा गर्दै लेखेका छन्, ‘इरानले कहिल्यै पनि परमाणु हतियार हासिल गर्ने छैन।’
अमेरिकी सिनेटर लिन्डसे ग्राहमले भने ट्रम्पको यो प्रयासलाई ‘शानदार’ भन्दै समर्थन गरेका छन्। उनले यदि अरब र मुस्लिम सहयोगीहरू अब्राहम सम्झौतामा सामेल भए यो मध्यपूर्वको इतिहासकै सबैभन्दा महत्त्वपूर्ण सम्झौता हुने बताए। उनले ट्रम्पको सुझाव अस्वीकार गरेमा भविष्यको सम्बन्धमा गम्भीर असर पर्ने भन्दै चेतावनीसमेत दिए। अमेरिकी डेमोक्र्याट क्रिस मर्फीले युद्ध समाप्त भए राम्रो कुरा हुने भन्दै यसले ट्रम्पको गल्ती नलुकाउने स्पष्ट पारेका छन्। मर्फीले भने, ‘यो युद्धमा हजारौं निर्दोष मानिसले आफ्नो ज्यान गुमाएका छन् र धेरै देशको अर्थव्यवस्थाले ठूलो क्षति बेहोर्नु परेको छ।’
उता, मलेसिया सरकारले इजरायलविरुद्धको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजाने तयारी गरेको छ। गाजा जाने राहत बोकेका जहाजमा भएका कामदारलाई अपहरण र दुर्व्यवहार गरिएको आरोप लगाइएको छ। लेबनानका राष्ट्रपति जोसेप औनले प्रतिरोध र मुक्ति दिवसको अवसरमा एक वक्तव्य जारी गरेर लेबनानको सबैभन्दा ठूलो माग इजरायली सेना पूर्ण रुपमा फिर्ता हुनुपर्छ भन्ने भएको बताए। सन् २००० मा दक्षिणी लेबनानमा इजरायलको २२ वर्ष पुरानो कब्जाको अन्त्यको सम्झनामा यो दिवस मनाइन्छ। इरानको समर्थन पाएको लेबनानी सशस्त्र समूह हिज्बुल्लाहले इजरायलमाथि उत्तरी सिमानाबाट आक्रमण गर्दा यो युद्ध क्षेत्रीय रूपमा फैलिएको छ। हालै हिज्बुल्लाह प्रमुख नइम कासिमले आफ्नो समूहको निःशस्त्रीकरण असम्भव रहेको र इजरायली सेना पूर्ण रूपमा नहटेसम्म लडाइँ जारी राख्ने बताएका थिए।
अहिले धेरै विज्ञहरू रुस र इरानबिचको सम्बन्ध वास्तविक विश्वासमा नभई आवश्यकतामा मात्र निर्भर रहेको बताउँछन्। रुस र इरान सम्बन्धकी विज्ञ निकिता स्मागिनले अल जजिरासँग कुरा गर्दै दुई देश एक्लोपन र पश्चिमा दबाबका कारण मात्र नजिक आएको बताइन्। कुवेत विश्वविद्यालयका राजनीतिक जानकार अब्दुल्लाह अलशाइजीले इरानमा यो युद्ध आवश्यकताका कारण नभई आफ्नो इच्छाले सुरु भएको बताएका छन्।
इरानले होर्मुजको नियन्त्रण आफ्नो वरपरका देशको हातमा हुनुपर्ने बताउँदै आएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता बघाईले इरानले ती जहाजमा छुट्टै कर नलिने बताएका छन्। तर सुरक्षा वा अन्य सुविधा उपलब्ध गराइयो भने त्यसको बदलामा पैसा लिनु स्वभाविक हो। उनले भने, ‘इरानले यस क्षेत्रका अन्य देशसँग लगातार कुराकानी गरिरहेको छ, ताकि समुद्री मार्ग सुरक्षित होस् र सबै देशको हित सुरक्षित होस्।’
अमेरिका-इरान वार्ता र ट्रम्प-नेतान्याहूबिच हालै भएको टेलिफोन वार्ताबारे इस्माइल बाघेईले इजरायलले वार्तालाई कमजोर पार्न सक्ने बताए। उनले भने, ‘सियोनी इकाईले सम्झौतालाई कमजोर पार्न सक्दो प्रयास गरिरहेको छ र हामी इजरायलले केही गर्ने अपेक्षा गर्दछौं।’ उनले थपे, ‘कुनै पनि कुरालाई इन्कार गरिएको छैन। यद्यपि युद्ध र शत्रुताको आह्वान गर्ने ती देशहरू, जसमा यहुदी संस्था पनि समावेश छ, मिडियामा व्यापक रूपमा महसुस गरिएको छ, र उनीहरूले अमेरिकी अधिकारीहरूलाई असर गर्न सक्छन्।’
यसैबिच, इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा छापा मार्न जारी राखेको छ भने तुलकारेमको उत्तरमा रहेको जाइटा सहरमा दुई प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ। इजरायली सेनाले उत्तरी जोर्डन उपत्यकाका धेरै समुदायहरूमा कृषि उपकरण र सवारी साधनहरू जफत गर्न अभियान सुरु गरेको छ। अर्कोतर्फ, अमेरिकी भिसासम्बन्धी समस्याका कारण इरानका विदेशमन्त्री अब्बास अरागचीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा भाग नलिने भएका छन्। जानकारी अनुसार भिसा नपाएका कारण यस्तो भएको हो।
इजरायली नेताहरूले वासिङ्टन र तेहरानबिचको सम्भावित सम्झौतालाई कमजोर पार्न काम गरिरहेको समाचारका बिच इजरायली राजनीतिक टिप्पणीकार ओरी गोल्डबर्गले ट्रम्पले इजरायलको भन्दा अमेरिकी हितलाई प्राथमिकता दिने विश्वास व्यक्त गरेका छन्। गोल्डबर्गले एक्समा लेखेका छन्, ‘इजरायलले उनलाई कुनै पनि प्रयोगको प्रस्ताव दिन सक्दैन। इजरायल पहिलेको जस्तो कमजोर छ र उसले गाजामा आफ्नो नरसंहारको मूल्य तिर्न पनि सुरु गरेको छैन।’ गोल्डबर्गले भने, ‘इजरायल र अमेरिका कहिल्यै पनि इरानमा पूर्ण रूपमा मेल खाएनन्। ट्रम्पले आणविक कार्यक्रमको विरोध गरे। इजरायलले नाममात्रको सत्ता परिवर्तन चाहेको थियो तर प्रायः मृत्यु र विनाश चाहन्थ्यो।’
इरानले गोप्य रूपमा परमाणु हतियार निर्माण गरिरहेको र ब्यालिस्टिक मिसाइलको भण्डारण बढाएको आरोप लगाउँदै अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि २८ फेब्रुअरीमा अचानक हवाई आक्रमण सुरु गरेका थिए। इरान युद्धको पहिलो दिनमै तेहरानमा भएको भीषण बमबारीमा इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो। त्यसले इरानलाई ठूलो धक्का दियो। तर तत्कालै उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरियो। नेतृत्व गुमाए पनि इरानी सेना र ‘एक्सिस अफ रेसिस्टेन्स’ ले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य क्याम्पहरू, विमानस्थलहरू र इजरायलमाथि सयौँ मिसाइल र आत्मघाती ड्रोनहरू प्रहार गरेका थिए।
इरानले संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जस्ता देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाउँदा त्यहाँ कार्यरत नेपालीहरू प्रत्यक्ष जोखिममा परे। इरानी मिसाइल आक्रमणका कारण युएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो।
यसैबिच इरानले आफ्नो आधार शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। फिफाले इरानको २०२६ विश्वकप प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सार्ने अनुरोधलाई आधिकारिक रूपमा स्वीकृति दिएको छ। टोलीले खेलको व्यवस्थापन, भिसा प्रक्रिया र सुरक्षाको कारण देखाउँदै अमेरिकी सीमा नजिकैको क्षेत्र रोजेको हो। टोलीले लस एन्जलस र सियाटलमा हुने आफ्ना समूह ‘जी’ का खेलहरू खेल्नुअघि मेक्सिकोमै तयारी गर्नेछ। इरान फुटबल संघका अध्यक्ष मेहदी ताजले यो जानकारी दिएका हुन्।
सन् २०२६ को इरान युद्ध ४० दिनको तीव्र सैन्य द्वन्द्वपछि हाल वार्ताको टेबलमा आइपुगेको छ। शान्ति सम्झौता भएमा अमेरिकाले विदेशमा रोक्का राखेको इरानको २५ अर्ब डलर बराबरको सम्पत्ति फुकुवा गर्नेछ र अमेरिकी नौसैनिक नाकाबन्दी हटाइनेछ। राष्ट्रपति ट्रम्पले सम्झौता पूर्ण रूपमा नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहने स्पष्ट पारेका छन्।
प्रारम्भिक सहमति अनुसार इरानले आफ्नो युरेनियम भण्डार त्याग्न र आणविक हतियार नबनाउन प्रतिबद्धता जनाउनेछ। यद्यपि, इरानले आणविक मुद्दाहरूमा ६० दिनभित्र थप छलफल गर्ने सर्त राखेको छ। गत अप्रिलमा भएको युद्धविरामपछि हाल अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी अधिकारीहरूबिच स्थायी शान्ति स्थापनाका लागि सघन कूटनीतिक प्रयास भइरहेको छ। पाकिस्तानको मध्यस्थतामा भइरहेको यस वार्तामा केही महत्वपूर्ण प्रगति भए पनि अझै पूर्ण सहमति जुटिसकेको छैन। यदि अमेरिका र इरानबिचको यो सम्झौता सफल भयो भने विश्व बजारमा तेलको मूल्य पुनः सामान्य हुने र खाडीमा रहेका नेपालसहित देशका श्रमिकहरूको सुरक्षा सुनिश्चित हुनेछ। एजेन्सीको सहयोगमा
प्रकाशित: ११ जेष्ठ २०८३ १६:१९ सोमबार
