प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार

इरानसँगको जारी युद्धमा हालसम्म २९० अमेरिकी सैनिक घाइते भएका छन्। इरानलाई लक्षित गरी सञ्चालन गरिएका सैन्य कारबाहीका क्रममा ती सैनिकहरू घाइते भएको तथ्याङ्क सार्वजनिक गरिएको हो।
अमेरिकी सेन्ट्रल कमाण्ड का प्रवक्ताका अनुसार, गत साता करिब २०० को संख्यामा रहेका घाइतेहरूको संख्या बढेर अहिले २९० पुगेको हो। घाइतेमध्ये २५५ जना सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेका छन् भने १० जनाको अवस्था अझै गम्भीर रहेको छ।
हालसम्मको कारबाहीमा १३ जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेको पुष्टि गरिएको छ। अधिकांश सैनिकहरू इरानद्वारा गरिएका ड्रोन आक्रमणका कारण घाइते भएको बताइएको छ।
सैन्य विश्लेषकहरूका अनुसार, यस्ता युद्धकालीन परिस्थितिमा घाइतेहरूको संख्या समयसँगै थपघट हुनु वा बढ्नु स्वाभाविक हो। कतिपय सैनिकहरूले घटनालगत्तै उपचार नखोज्ने र पछि मात्र चोटपटकको लक्षण देखिने भएकाले संख्यामा फेरबदल हुने गर्दछ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरी सर्वोच्च नेता अली खामेनीसहितको नेतृत्वलाई मारेपछि इरानले जवाफी कारबाही सुरु गरेको थियो।
इरानले विशेष गरी मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरू र इराकस्थित अमेरिकी दूतावासलाई निशाना बनाउँदै आएको छ।