प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार
तस्बिर: जेसी डोनोगो/ अनस्प्लास
मध्यपूर्वमा जारी तनावका कारण बढिरहेको कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच भइरहेको वार्ताले युद्ध अन्त्य गर्न सक्ने सङ्केत गरेपछि तेलको मूल्य घटेको हो।
विश्वव्यापी मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ९९ अमेरिकी डलरभन्दा तल झरेको छ। यसअघि सोही दिन यसको मूल्य प्रतिब्यारेल ११४ डलरसम्म पुगेको थियो। यस्तै, अमेरिकी मानक डब्लुटीआई कच्चा तेलको मूल्य पनि ८ प्रतिशतले घटेर प्रतिब्यारेल ९० डलर कायम भएको छ। यो दिनको सुरुवाती मूल्यभन्दा करिब १० डलर कम हो।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा “अत्यन्तै राम्रो र फलदायी संवाद” भएको बताएका छन्। उनले इरानका विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारहरूमा गरिने “सबै प्रकारका” सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न अमेरिकी सैन्य निकायलाई निर्देशन दिएको पनि जानकारी दिए। यो निर्णय जारी वार्ता र छलफलको सफलतामा निर्भर रहने उनले स्पष्ट पारेका छन्।
वेस्ट पाम बिच विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग १५ बुँदे “महत्त्वपूर्ण सहमति” भएको दाबी गरे। सहमतिअनुसार इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे, जुन कुरा इरानले यसअघि पनि सार्वजनिक रूपमा बताउँदै आएको थियो।
वार्ताप्रति आशावादी देखिँदै ट्रम्पले भने, “यो पूर्ण रूपमा सफल भयो। यदि उनीहरूले यसलाई कार्यान्वयन गरे भने यो समस्या र द्वन्द्व धेरै हदसम्म अन्त्य हुनेछ।” उनका अनुसार अमेरिकी प्रतिनिधि स्टिभ विटकफ र जारेड कुशनर पनि वार्तामा सहभागी थिए। तर, इरानको तर्फबाट को-कोसँग कुरा भइरहेको छ भन्नेबारे उनले केही खुलाएनन्। उनले केवल “सम्मानित नेता” सँग संवाद भइरहेको मात्र उल्लेख गरे।
यता, इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स ले आफ्ना विद्युत् केन्द्रहरूमा आक्रमण भए प्रतिउत्तर दिने र होर्मुज जलमार्गलाई अनिश्चितकालका लागि बन्द गरिदिने चेतावनी दिएको छ।
यी अभिव्यक्तिका कारण आइतबार र सोमबार तेलको मूल्य बढेको भए पनि पछिल्लो कूटनीतिक विकासक्रमसँगै मूल्य पुनः घटेको हो।
