इरानमा शासन परिवर्तन भइसक्यो: ट्रम्प भन्छन् – वार्ता र आक्रमण सँगसँगै



प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार

इरानमा शासन परिवर्तन भइसक्यो: ट्रम्प भन्छन् – वार्ता र आक्रमण सँगसँगै

फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन भएको दाबी गरेका छन्। एयर फोर्स वान विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन्।

ट्रम्पले भने, “यदि तपाईं अहिलेको अवस्था हेर्नुहुन्छ भने त्यहाँ शासन परिवर्तन भइसकेको छ। पहिलेको शासन पूर्ण रूपमा ध्वस्त भएको छ र उनीहरू सबै मारिएका छन्। अर्को तहको नेतृत्व पनि प्रायः समाप्त भइसकेको छ; अहिले हामी बिल्कुलै फरक समूहका मानिसहरूसँग व्यवहार गरिरहेका छौँ।”

उनले थपे, “म यसलाई शासन परिवर्तन नै मान्छु, र साँचो कुरा भन्नुपर्दा उनीहरू अहिले धेरै नै लचिलो देखिएका छन्।”

ट्रम्पले इरानको अघिल्लो नेतृत्वलाई “खराब” र “दुष्ट” संज्ञा दिँदै दोस्रो तहको नेतृत्व पनि समाप्त भएको दाबी गरे। उनले भने, “दोस्रो समूह नियुक्त गरिएको थियो, तर उनीहरू पनि अब छैनन्। लगभग सबै मारिएका छन्, सायद एक जना मात्र बाँकी हुन सक्छन्।”

उनले एक महिनासम्म चलेको युद्धमा धेरै इरानी नेताहरू मारिएको दाबी समेत गरे। ट्रम्पले अमेरिका र इरानबीच सम्झौता हुन सक्ने विश्वास व्यक्त गर्दै भने, “मलाई लाग्छ हामी उनीहरूसँग सम्झौता गर्नेछौँ, यो लगभग निश्चित छ, तर नहुन पनि सक्छ।”

उनले अगाडि थपे, “इरानसँग के हुन्छ भन्न सकिँदैन, किनभने अमेरिकाले उनीहरूसँग वार्ता पनि गर्छ र कहिलेकाहीँ आक्रमण पनि गर्नुपर्ने हुन्छ।”





Source link

Leave a Comment