प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार

फेब्रुअरी २८, २०२६ मा खिचिएको यस तस्बिरमा इरानको राजधानी तेहरानको मुख्य भागबाट बाक्लो धुवाँको मुस्लो निस्किरहेको देखिन्छ। जेनेभामा हालै भएको अमेरिका-इरान आणविक वार्ता संकट टार्ने कुनै सम्झौता बिना नै असफल भएपछि अमेरिका र इजरायलले शनिबार इरान विरुद्ध “प्रमुख सैन्य कारबाही” सुरु गरेका छन्। (सिन्ह्वा/शादती)
इरानको दक्षिणी क्षेत्रमा अवस्थित एक विद्यालयमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १०८ जनाको ज्यान गएको स्थानीय अभियोजकले पुष्टि गरेका छन्। विस्फोटका कारण विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने मृतकमध्ये अधिकांश विद्यार्थी र सर्वसाधारण नागरिक रहेको आशंका गरिएको छ।
हर्मोजगान प्रान्तको मिनाब सहरमा रहेको उक्त विद्यालयमा तीनवटा क्षेप्यास्त्र प्रहार भएको बताइएको छ। यो विद्यालय इरानको रिभोलुसनरी गार्ड कोर्प्स को सैन्य आधार शिविरबाट करिब ६०० मिटरको दूरीमा अवस्थित थियो। इरानी राष्ट्रपति मसउद पेजेस्कियानले यस घटनालाई “बर्बरतापूर्ण कार्य” र आक्रमणकारीहरूद्वारा लिखित “अपराधको अर्को कालो पाना” भन्दै कडा निन्दा गरेका छन्।
इरानी रेड क्रिसेन्टका अनुसार देशभर भएका यी हवाई आक्रमणहरूमा अहिलेसम्म कम्तीमा २०१ जनाको ज्यान गइसकेको छ भने ७४७ जना घाइते भएका छन्। रेड क्रस र रेड क्रिसेन्टका अधिकारीहरूले विद्यालयमा उद्धार कार्यका लागि टोलीहरू परिचालन गरिएको जनाएका छन्। यद्यपि, पश्चिमी मुलुकहरूले विद्यालयमाथि भएको यस आक्रमणको बारेमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरेका छैनन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी र उनका धेरै वरिष्ठ कमाण्डरहरू सुरुवाती आक्रमणमै मारिएको दाबी गरेका छन्। ट्रम्पले यसलाई “इरानी जनताका लागि न्याय” भएको बताएका छन्। तर, इरानी अधिकारीहरूले भने खामेनी सुरक्षित रहेको र यो दाबी केवल “मनोवैज्ञानिक युद्ध” मात्र भएको प्रतिक्रिया दिएका छन्।
इरानमा विदेशी समाचार संस्थाहरूलाई सूचना संकलनमा कडा प्रतिबन्ध लगाइएकाले हताहतको वास्तविक संख्या स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ। सामाजिक सञ्जालमा इरानी नागरिकहरूले घटनाप्रति तीव्र आक्रोश व्यक्त गर्दै बालबालिकाको मृत्युको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरिरहेका छन्।