प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार

विमानस्थलमा अमेरिकी सीबीपी अधिकारीद्वारा इबोला स्क्रिनिङ ।
तस्विर: डोनर बर्टन
अमेरिकी होमल्याण्ड सेक्युरिटीले हालै फैलिएको इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका देशहरूबाट आउने विदेशी यात्रुहरूका लागि बिहीबारदेखि नयाँ प्रवेश प्रतिबन्धहरू लागू गरेको छ । होमल्याण्ड सेक्युरिटीले नयाँ नियमको मस्यौदा अनुसार पछिल्लो २१ दिनभित्र कंगो, युगान्डा वा दक्षिण सुडान भ्रमण गरेका र अमेरिका आउन लागेका विदेशी यात्रु बोकेका सबै उडानहरूलाई भर्जिनियाको ‘वासिङ्टन-डलेस अन्तर्राष्ट्रिय विमानस्थल’ मा मात्र अवतरण गराउन अनिवार्य गरिएको छ ।
होमल्याण्ड सेक्रेटरी मार्कवेन मुलिनको निर्देशनमा जारी गरिएको यो आगमन प्रतिबन्धको उद्देश्य यात्रुहरूलाई यस्तो विमानस्थलमा केन्द्रित गर्नु हो, जहाँ अमेरिकी सरकारले थप जनस्वास्थ्य उपायहरू लागू गर्न आफ्ना स्वास्थ्य स्रोतहरू परिचालन गरिरहेको छ। मन्त्रालयका अनुसार यो नियम यात्रुवाहक उडानहरूमा मात्र लागू हुनेछ भने कार्गो उडानहरूलाई यस प्रतिबन्धबाट छुट दिइएको छ ।
मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार इबोला भाइरसको संक्रमण फैलने जोखिमलाई कम गर्न सीमा सुरक्षा अधिकारीहरूले जनस्वास्थ्य परीक्षण, यात्रा निगरानी र स्वास्थ्य सुरक्षा प्रतिकार्यका गतिविधिहरूलाई तीव्र पारिरहेका छन्। सीमा अधिकारीहरूले इबोला भाइरसको जोखिममा परेका यात्रुहरूको पहिचान र व्यवस्थापनका लागि विभिन्न वायुसेवा कम्पनी, अन्तर्राष्ट्रिय साझेदार र विमानस्थलका अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएका छन्।
यद्यपि डलेस विमानस्थलमा ओर्लिएपछि विदेशी यात्रुहरूले कस्तो प्रकारको विशिष्ट प्रक्रिया वा स्वास्थ्य परीक्षण पार गर्नुपर्नेछ भन्ने कुरा नियममा स्पष्ट खुलाइएको छैन।
यो कदम अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले इबोला प्रकोपसँग जोडेर यात्रा प्रतिबन्ध जारी गरेको दुई दिनपछि आएको हो। सीडीसीले गत सोमबार अमेरिकी राहदानी नभएका र पछिल्लो तीन हप्तामा कंगो, युगान्डा वा दक्षिण सुडानको यात्रा गरेका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा रोक लगाइने घोषणा गरेको थियो। तर, होमल्याण्ड सेक्युरिटीको यो नयाँ नियमले सीडीसीको पुरानो आदेशलाई कसरी प्रभाव पार्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
गत मे १५ मा अफ्रिका रोग नियन्त्रण केन्द्रले पूर्वी कंगोमा इबोला प्रकोप पुष्टि गरेको थियो। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस गेब्रेयससका अनुसार अहिलेसम्म कम्तीमा ६०० जनामा इबोलाको आशंका गरिएको छ, जसमा १३९ जनाको मृत्यु भइसकेको अनुमान छ।
यो भाइरस पहिचान हुनुभन्दा धेरै अघिदेखि नै फैलिरहेको विश्वास गरिएको छ। कंगोमा कार्यरत एक अमेरिकी डाक्टर पनि इबोलाबाट संक्रमित भएका छन् र उनलाई उपचारका लागि जर्मनी लगिएको छ। यसका साथै कम्तीमा ६ जना अमेरिकी नागरिकहरू पनि यस भाइरसको प्रत्यक्ष जोखिममा परेको बताइएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार यो नयाँ प्रकोप ‘बुन्डिबुग्यो’ स्ट्रेनसँग सम्बन्धित छ, जसका लागि हालसम्म कुनै पनि स्वीकृत खोप वा उपचार उपलब्ध छैन। विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि हालसम्म यो पूर्ण महामारीको चरणमा नपुगेको बताएको छ।