प्रकाशित मिति : ४ असार २०८३, बिहिबार

Photo: Martin Zenker/Unsplash
लाखौं युवा अमेरिकीहरूका लागि आफ्नो छुट्टै घरमा सर्नु अब वयस्क जीवनको सामान्य प्रक्रिया रहेन। यो अब सीमित व्यक्तिहरूले मात्र धान्न सक्ने एक किसिमको विलासिता बन्दै गएको छ ।
रियल्टर डट कमको नयाँ विश्लेषण अनुसार, गत वर्ष ३५ वर्ष मुनिका २ करोड ५२ लाख युवाहरू आफ्ना आमाबाबुसँगै बसिरहेका थिए। यो संख्या इतिहासकै सबैभन्दा बढी हो, जसले कोरोना महामारीको समयमा देखिएको वृद्धिलाई समेत उछिनेको छ।
यस प्रतिवेदनले देशमा व्याप्त आवास संकटका कारण वयस्क बन्ने जीवन-तालिका नै परिवर्तन भइरहेको संकेत गरेको छ । हाल ३५ वर्ष मुनिका झन्डै एक-तिहाइ अमेरिकीहरू आफ्ना आमाबाबुसँग एउटै छानामुनि बस्छन् । बलियो श्रम बजार र रोजगारीका अवसरहरू हुँदाहुँदै पनि यो संख्या विगत केही वर्षदेखि लगातार उच्च रहँदै आएको छ ।
प्रतिवेदनका अनुसार यसको मुख्य कारण घरजग्गा र कोठा भाडाको अत्यधिक मूल्य वृद्धि नै हो ।
अहिले आमाबाबुसँग बस्ने युवाहरूमध्ये धेरैजसो रोजगारीमा आबद्ध छन् र धेरैले कलेजको डिग्री पनि हासिल गरिसकेका छन्, रियल्टर डट कमकी वरिष्ठ अर्थशास्त्री हन्ना जोन्सले भनिन्, उनीहरू पछि पर्नुको कारण योग्यताको कमी होइन, बल्कि उनीहरूले धान्न सक्ने किफायती घरको अभाव हो। यो रोजगारीको समस्या नभएर घरको आपूर्तिको समस्या हो ।
हाल अमेरिकामा बिक्रीका लागि सूचीकृत सामान्य घरको औसत मूल्य ४ लाख ३० हजार डलर पुगेको छ, जुन कोरोना महामारी अघिको तुलनामा एक-तिहाइभन्दा बढी हो । यसैगरी, कोठा भाडाको मूल्य पनि तीव्र गतिमा बढेकाले युवा पुस्ताका लागि नयाँ घर किन्नु वा भाडामा लिनु दुवै असम्भव बन्दै गएको छ ।
यदि युवाहरूको बसाइँसराइको ढाँचा सन् २००० को सुरुवाती दशक जस्तै सामान्य हुन्थ्यो भने, आज आफ्ना आमाबाबुसँग बस्ने युवाहरूको संख्या अहिलेको भन्दा झन्डै ४९ लाखले कम हुने अध्ययनले देखाउँछ ।
यो प्रवृत्ति भर्खरै कलेज सकेर संघर्ष गरिरहेका युवाहरूमा मात्र सीमित छैन। आमाबाबुसँग बस्ने २५ देखि ३४ वर्ष उमेर समूहका युवाहरूमध्ये ७० प्रतिशतसँग जागिर छ । विगत २५ वर्षमा, रोजगारीमा रहेर पनि आमाबाबुसँगै बस्न बाध्य युवाहरूको अनुपात लगातार बढिरहेको छ ।
यस तथ्याङ्कले अर्को एउटा भ्रमलाई पनि चिरेको छ- घरमा बस्ने अधिकांश युवाहरू अविवाहित छन् र उनीहरूसँग उच्च शैक्षिक योग्यता छ । आमाबाबुसँग बस्ने २५ देखि २९ वर्षका युवाहरूमध्ये करिब एक-तिहाइले स्नातक वा सोभन्दा माथिको डिग्री हासिल गरेका छन् । यसले के देखाउँछ भने उच्च शिक्षाले पनि युवाहरूलाई आवास महँगीको मारबाट जोगाउन सकेको छैन ।
यो समस्या ३० देखि ३४ वर्ष उमेर समूहमा झनै डरलाग्दो रूपमा देखिएको छ । हाल यस उमेर समूहका झन्डै ३० लाख युवाहरू आमाबाबुसँग बसिरहेका छन्, जुन यस शताब्दीको सुरुवाती संख्याको तुलनामा झन्डै दोब्बर हो ।
विज्ञहरूका अनुसार यो समस्याको जरा धेरै वर्ष पुरानो छ । सन् २००८ को आर्थिक मन्दी पछि देशको आवास बजार पूर्ण रूपमा तंग्रिन सकेन, जसका कारण देशभर झन्डै ४० लाख घरहरूको अभाव हुन गयो । त्यसपछि महामारीले मूल्य र बैंकको ब्याजदर दुवैलाई आकाशमा पुर्याइदियो, जसले गर्दा घर किन्न चाहनेहरू हेरेको हेर्यै भए ।
महामारीको सुरुवाती चरणमा थोरै युवाहरूले सस्तो ब्याजदरको फाइदा उठाएर घर किन्न सके पनि, त्यसपछिका युवाहरूले भने उच्च ब्याजदर, सिमित घरहरू र महँगो भाडाको सामना गर्नु परिरहेको छ ।
नतिजास्वरूप, आफ्नो छुट्टै परिवार बसाउनु पर्ने उमेरका धेरै अमेरिकीहरू अझै पनि बाल्यकालकै कोठामा खुम्चिन बाध्य छन् । यसले गर्दा विवाह, गृहस्वामित्व र व्यक्तिगत सम्पत्ति जोड्ने जस्ता जीवनका महत्त्वपूर्ण माइलस्टोनहरू पछि धकेलिइरहेका छन् ।
अर्थशास्त्री जोन्सका अनुसार, आमाबाबुसँग बस्ने यी २५ मिलियन युवाहरू भविष्यको बजारका लागि घरको ठूलो ‘लुकेको माग’ हुन् । उनी भन्छिन्, “अहिले पहिलो पटक घर किन्ने व्यक्तिको औसत उमेर ४० वर्ष पुगेको छ । यो कुनै संयोग होइन, यो पर्याप्त घर निर्माण नभएको बजारको गणितीय परिणाम हो ।
