News Summary
Generated by OK AI. Editorially reviewed.
- २१ वर्षीया उद्यमी कुसुम रेग्मीले काठमाडौंमा \’थ्रिफ्ट बाइ कुस\’ नामक लोकप्रिय सेकेन्ड ह्यान्ड कपडा स्टोर सञ्चालन गरेकी छन्।
तपाईंको दराजमा कति लुगाफाटो छन् ? महिलाको हकमा भने यसको जवाफ निकै रोचक हुनसक्छ । किनभने उनीहरूको दराज लुगाफाटोले भरिएकै हुन्छ ।
त्यसमध्ये कति पुराना हुन्छन्, कति नयाँ, कति त लगाउँदै नलगाएका ।
तैपनि बजारमा नयाँ लुगा देख्नसाथ महिलाहरूले मन थाम्न सक्दैनन् । कनिहाल्छन् ।
लुगामाथि लुगाको थुप्रो भएपछि के गर्ने ?
यसमा कुसुम रेग्मीले काइदाको तरिका अपनाइन् ।
उनले सेकेन्ड ह्यान्ड सफ अर्थात थ्रिफ्ट सप सुरु गरिन् । अनि आफूसँग भएभरको लुगाफाटोलाई बिक्रीमा राखिन् ।
२१ वर्षीया युवा उद्यमी कुसुम रेग्मीले सुरु यो गरेको ‘थ्रिफ्ट बाइ कुस’ अहिले काठमाडौंका युवामाझ परिचित नाम बनेको छ । आफ्नै दराजमा थुप्रिएका कपडा बिक्री गर्न सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोबाट सुरु भएको यात्रा एक वर्षमै थ्रिफ्ट स्टोरसम्म पुगेको छ ।
आफ्नै कपडाबाट सुरु भएको व्यवसाय
उनी विद्यालयमा पढ्दादेखि नै व्यवसायप्रति आकर्षित थिइन् । कक्षा ११–१२ मा पढ्दा नै बाबासँग स्टोर खोल्ने कुरा गरिरहन्थिन् । तर त्यतिबेला व्यवसायलाई गम्भीर रूपमा अघि बढाउने सोच भने बनेको थिएन ।
भर्खर काम गर्न थालेको समय, नयाँ कपडा किन्ने इच्छा भए पनि बजेट सीमित थियो । अर्कोतर्फ दराजमा प्रशस्तै कपडा थिए, तर ती कपडा लगाउन मन लाग्दैनथ्यो । यही अवस्थामा उनले आफ्नो व्यक्तिगत टिकटक अकाउन्टमा पुराना कपडा बिक्री गर्ने भिडियो पोस्ट गरिन् ।
भिडियोले अप्रत्याशित रूपमा राम्रो प्रतिक्रिया पायो । त्यसपछि उनले नलगाएका सबै कपडा बिक्री गरिन् । भिडियोहरूमा बढ्दो पहुँचसँगै अन्य मानिसहरूले पनि आफ्ना कपडा बिक्रीमा सहयोग गर्न आग्रह गर्न थाले ।
त्यही क्रममा उनलाई विद्यालयमा पढ्दाको स्टोर खोल्ने सपना सम्झना आयो । त्यसपछि उनले थ्रिफ्ट व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरिन् ।
किन रोजिन् थ्रिफ्ट व्यवसाय ?
उनका अनुसार थ्रिफ्टको अवधारणाले उनलाई सुरुदेखि नै आकर्षित गर्थ्यो । उच्च गुणस्तरका ब्रान्डेड कपडा सस्तो मूल्यमा पाउन सकिने भएकाले यो अवधारणा मन परेको थियो ।
‘नेपालमा सजिलै उपलब्ध नहुने भिन्टेज र उच्च गुणस्तरका कपडा कम मूल्यमा उपलब्ध गराउने सोच थियो’ उनी भन्छिन् । त्यसपछि उनले विभिन्न देशका सप्लायरबारे अनुसन्धान सुरु गरिन् । अन्ततः बैंककबाट कपडा आयात गर्ने निर्णय गरिन् । बैंककमा थ्रिफ्ट तथा भिन्टेज कपडाको ठूला बजार र सप्लाई नेटवर्क उपलब्ध छन् ।
विज्ञानदेखि फेसनसम्मको यात्रा
कोटेश्वरस्थित कान्जिरोवा नेसनल स्कुलबाट विद्यालय शिक्षा पूरा गरेपछि उनले युनिग्लोब कलेजमा विज्ञान विषय अध्ययन गरिन् । तर उनको रुचि सुरुदेखि नै व्यवसाय र फेसन क्षेत्रमा थियो ।
बुबा व्यवसायी भएकाले सानैदेखि व्यवसायिक वातावरण देखेकी उनी फेसन डिजाइनिङतर्फ आकर्षित भइन् । विज्ञान अध्ययनसँगै फेसन डिजाइनिङमा डिप्लोमा गरिन् । त्यसपछि ब्याचलर्स अध्ययनका क्रममा इस्लिङ्टन कलेज र फेसन अध्ययनलाई एकैसाथ अघि बढाइन् ।
इस्लिङ्टन कलेजमा अध्ययनका क्रममा व्यवसायिक योजना प्रस्तुत गर्नुपर्ने परियोजनामा उनले थ्रिफ्ट व्यवसायकै अवधारणा प्रस्तुत गरिन् । उक्त प्रस्तुतीले पुरस्कार समेत प्राप्त गर्यो । शिक्षकहरूको प्रोत्साहनले उनको आत्मविश्वास अझ बढ्यो ।
परिवारको साथले सहज बनायो यात्रा
व्यवसाय सुरु गर्दा सबैभन्दा ठूलो सहयोग परिवारबाट प्राप्त भएको उनी बताउँछिन् ।
‘आइडिया मेरो थियो, तर सामान कहाँबाट ल्याउने, कस्टम प्रक्रिया कसरी पूरा गर्ने, ढुवानी कसरी गर्ने जस्ता विषयमा मम्मी–बाबाले धेरै सहयोग गर्नुभयो’ उनी भन्छिन् ।
उनका बुबा शैक्षिक परामर्श व्यवसायमा संलग्न छन् । आयात प्रक्रिया, कानुनी पक्ष र व्यवसाय सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञानले उनलाई व्यवसाय विस्तार गर्न सहज बनाएको छ ।
दुई महिनामै स्टोर
उनले आफ्नै टिकटक पेजबाट सन् २०२४ को जाडोयामतिर बिक्री सुरु गरिन् । माग बढ्दै गएपछि थप सामान मगाइन् । सुरुमा आफ्नै कोठाबाट व्यवसाय सञ्चालन गरेकी उनी दुई महिनाभित्रै स्टोर खोल्न सफल भइन् ।
विशेषगरी भिन्टेज लो–राइज जिन्सको माग अत्यधिक थियो । ग्राहकहरू कपडा ट्राइ गरेर किन्न चाहन्थे । यही आवश्यकताले स्टोर खोल्ने निर्णयमा भूमिका खेलेको उनी बताउँछिन् ।
स्टोर स्थापना, सामान आयात र आवश्यक व्यवस्थापनका लागि सुरुमा करिब १० देखि १२ लाख रुपैयाँ लगानी भएको उनको भनाइ छ ।
टिकटकले दियो पहिचान
व्यवसाय विस्तारमा टिकटकको ठूलो भूमिका रहेको उनी बताउँछिन् । ‘नयाँ व्यवसाय सुरु गर्न चाहनेका लागि टिकटक उत्कृष्ट प्लेटफर्म हो । त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा व्यक्तिमा निर्भर गर्छ,’ उनी भन्छिन् । उनका अनुसार अहिले पनि टिकटकमा पोस्ट गरेको केही मिनेटमै धेरै कपडा र अन्य वस्तु बिक्री हुने गरेका छन् । थ्रिफ्ट भनेको पुरानो मात्र होइन
नेपालमा अझै पनि धेरै मानिसले थ्रिफ्ट भनेको अरूले लगाइसकेको पुरानो कपडा भन्ने बुझाइ राख्छन् । तर वास्तविकता फरक रहेको उनी बताउँछिन्। उनका अनुसार थ्रिफ्ट स्टोरमा रहेका धेरै वस्तु नयाँ वा ब्रान्डका बाँकी स्टक हुन्, जुन प्रयोग नै भएका हुँदैनन् । कतिपय वस्तु एक–दुई पटक मात्र प्रयोग गरिएका हुन्छन् ।
‘थ्रिफ्ट भनेको पुरानो भएकाले बेच्ने होइन । यो मेरो स्टाइल होइन, मेरो साइज होइन, वा म अब प्रयोग गर्दिनँ भनेर अर्को व्यक्तिलाई उपयोगका लागि उपलब्ध गराउनु हो,’ उनी भन्छिन् ।
वातावरण संरक्षणसँग जोडिएको अवधारणा
उनी थ्रिफ्ट व्यवसायलाई केवल व्यापारका रूपमा मात्र हेर्दिनन् । यसलाई वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा लिन्छिन् । उनका अनुसार विश्वमा अहिले कपडाको अत्यधिक उत्पादन भइरहेको छ । ठूलो परिमाणमा कपडा प्रयोगविहीन अवस्थामा थन्किरहेका छन् । त्यस्ता कपडालाई पुनः प्रयोगमा ल्याउँदा टेक्सटाइल फोहोर कम गर्न सकिन्छ ।
‘नयाँ उत्पादन मात्रै गरिरहने भन्दा पहिले नै बनेका कपडालाई पुनः प्रयोग गर्नु आवश्यक छ,’ उनी भन्छिन् ।
भविष्यमा आफ्नै ब्रान्ड सुरु गरे पनि पूर्ण रूपमा दिगो (सस्टेनेबल) फेसनमा आधारित भएर अघि बढ्ने योजना रहेको उनको भनाइ छ ।

ग्राहक को हुन् ?
हाल उनका अधिकांश ग्राहक जेन–जेड पुस्ताका युवा छन् । विशेषगरी विद्यालय तथा कलेज अध्ययनरत विद्यार्थीहरू थ्रिफ्ट फेसनप्रति बढी आकर्षित छन् । एसईई परीक्षा सकिएपछि ग्राहकको संख्या झन् बढेको उनले बताइन् । काठमाडौंबाहिरबाट समेत अनलाइन अर्डर उल्लेख्य मात्रामा आउने गरेको छ।
एकपटक खरिद गरिसकेपछि पुनः खरिदका लागि फर्किने ग्राहकको संख्या पनि धेरै रहेको उनको अनुभव छ ।
थ्रिफ्ट बाइ कुस किन फरक ?
उनका अनुसार थ्रिफ्ट बाइ कुसलाई अन्य स्टोरभन्दा फरक बनाउने दुई मुख्य कारण छन् ।पहिलो, स्टोरमा उपलब्ध डिजाइन र उत्पादनको गुणस्तर । दोस्रो, मूल्य निर्धारण ।
धेरै थ्रिफ्ट स्टोरले बजार मूल्यभन्दा थोरै कम मूल्यमा सामान बेच्ने गरे पनि उनीहरूको स्टोरमा भने अन्तर धेरै हुने गरेको छ । उच्च गुणस्तरका ब्रान्डेड वस्तुहरू अत्यन्तै किफायती मूल्यमा उपलब्ध गराउने प्रयास गरिएको उनी बताउँछिन् ।
के–के पाइन्छ स्टोरमा ?
स्टोरमा भिन्टेज लो–राइज जिन्स, भिन्टेज फेसन आइटम, ब्याग, विभिन्न ब्रान्डका कपडा लगायतका सामग्री उपलब्ध छन् । ब्याग र विशेष डिजाइनका वस्तुहरू प्रायः एक–एकवटा मात्र हुने भएकाले छिट्टै बिक्री हुने गरेको उनी बताउँछिन् ।
हाल स्टोर मुख्यतः महिलामै केन्द्रित भए पनि पुरुषहरूका लागि समेत केही उत्पादन परीक्षणका रूपमा ल्याउन सुरु गरिएको छ ।
भविष्यको योजना
स्टोर सञ्चालन गरेको एक वर्ष पूरा हुन लागेको छ । भविष्यमा थप शाखा विस्तार गर्ने सोच भए पनि अहिले उनको प्राथमिकता सप्लाई चेन बलियो बनाउने र सेवाको गुणस्तर सुधार गर्ने रहेको छ ।
‘पहिले सप्लाई बढाउनुपर्छ । त्यसपछि मात्रै विस्तारबारे सोच्न सकिन्छ,’ उनी भन्छिन् ।
दीर्घकालीन रूपमा भने उनी दिगो फेसन र पुनः प्रयोगमा आधारित आफ्नै कपडा ब्रान्ड स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेकी छन् । सामान्य वार्डरोब सफाइबाट सुरु भएको यो यात्रा अहिले युवा पुस्तालाई दिगो फेसन, पुनः प्रयोग र उद्यमशीलताको नयाँ सन्देश दिने उदाहरण बनेको छ ।
