आइस अधिकारीहरूलाई ट्र्याक गर्ने मोबाइल एपहरू तत्काल हटाउन गुगल र एप्पललाई चेतावनी


अमेरिकाको हाउस कमिटी अन होमल्यान्ड सेक्युरिटीले गुगल र एप्पललाई फेडरल इमिग्रेशन अधिकारीहरूलाई ट्र्याक गर्ने मोबाइल एप हटाउन विस्तृत कदमबारे जानकारी दिन आग्रह गरेको छ।

कमिटीले विशेष गरी ‘आइस ब्लक’ नामक एपलाई चिन्हित गरेको छ। यो एप अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का एजेन्टहरूको गतिविधि निगरानी गर्न प्रयोग हुँदै आएको थियो। कमिटीका नेताहरूले यी एपहरू एप स्टोरमा रहनु आइसका कर्मचारीहरूको सुरक्षाका लागि जोखिमपूर्ण रहेको बताएका छन् । सांसदहरूले डिसेम्बर १२ सम्ममा कम्पनीबाट ब्रिफिङ मागेका छन्।

पत्रमा गुगल र एप्पललाई चेतावनी दिँदै भनिएको छ, “यी एपहरूले अधिकारीहरूलाई लक्षित गर्न वा कानुनी इमिग्रेशन कार्यमा बाधा पुर्‍याउन प्रयोग हुन नदिन सुनिश्चित गर्नुपर्छ।”

कमिटीले भनेको छ, “अभिव्यक्ति स्वतन्त्रता सुरक्षित भए तापनि यसले तत्काल गैर कानुनी गतिविधि उत्प्रेरित गर्ने क्रियाकलापलाई अनुमति दिँदैन।”

अक्टोबरमा गुगलले आइस ब्लक कहिल्यै प्ले स्टोरमा उपलब्ध नभएको र नीति उल्लङ्घनका कारण अन्य समान एपहरू हटाइएको बताएको थियो । एप्पलले पनि सोही समयमा आइस ब्लक र अन्य ट्र्याकिङ एपहरू आफ्नो स्टोरबाट हटाएको थियो।

अटर्नी जनरल प्याम बोन्डीले भनेकी छिन्, “यी एपहरूले आइस एजेन्टहरूको कामकै क्रममा जोखिम सिर्जना गर्छन्।”



Source link

Leave a Comment