आइसले पक्राउ गरेका ३०० कोरियाली कामदार अमेरिकाबाट डिपोर्ट



प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार

आइसले पक्राउ गरेका ३०० कोरियाली कामदार अमेरिकाबाट डिपोर्ट

अमेरिकाको जर्जियामा आप्रवासन अधिकारीहरूले पक्राउ गरेका दक्षिण कोरियाली कामदारहरूलाई फिर्ता पठाइएको छ। पक्राउ परेका करिब ३०० जना कागजातविहीन आप्रवासी कामदारहरूलाई लिएर कोरियन एयरको विमान अमेरिकाको एटलान्टाबाट उडेको छ। विमान कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।

पक्राउ गरिएका र डिपोर्ट गरिएका कामदारहरूलाई यस पटक हत्कडी नलगाई फिर्ता पठाइएको हो। यसअघि, अमेरिकाले डिपोर्ट गरेका आप्रवासीहरूलाई हत्कडी लगाएर फिर्ता पठाउने गरेको थियो।

विमानमा ३०० भन्दा बढी दक्षिण कोरियालीसँगै छापामा पक्राउ परेका १४ जना गैर-कोरियाली पनि छन्। एक जना कोरियाली भने अमेरिकामा नै स्थायी बसोबासको प्रयास गर्ने निर्णय गरेका छन्।

आइसले पक्राउ गरेका ३०० कोरियाली कामदार अमेरिकाबाट डिपोर्ट

आइसले पक्राउ गरेका ३०० कोरियाली कामदार अमेरिकाबाट डिपोर्ट

गत हप्ताको छापामा अमेरिकी अधिकारीहरूले ४७५ जनालाई पक्राउ गरेका थिए, जसमा ३०० भन्दा बढी दक्षिण कोरियाली थिए। उनीहरूमध्ये धेरैजसो ठेकेदारमार्फत उत्पादन लाइन जडान गर्ने मेकानिक रहेको बताइएको छ।

उनीहरूलाई जर्जियाको इलाबेलमा निर्माणाधीन ब्याट्री प्लान्टबाट पक्राउ गरिएको थियो। यो कारखाना हुन्डाइ र एलजी इनर्जी सोलुसनको संयुक्त लगानीमा बनिरहेको छ। अमेरिकी भूमिमा ठूलो लगानी गर्ने कम्पनीहरूमध्ये यो पनि एक हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली कामदारहरूको भविष्यबारे छलफल गर्न अस्थायी रूपमा निर्वासन प्रक्रियामा रोक लगाएको कोरियाली अधिकारीहरूले बताएका छन्।

ट्रम्पले सीपयुक्त कामदारहरूलाई अमेरिकामा नै काम गर्न दिने सम्भावनाबारे विचार सुन्न चाहेको उनीहरूको दाबी छ। तर, दक्षिण कोरियाले भने ढिला नगरी पक्राउ परेका आफ्ना नागरिकको सुरक्षित फिर्ती सुनिश्चित गर्नुपर्ने स्पष्ट गरेको थियो।

दक्षिण कोरियाली कामदारहरूको फिर्ती सुरु भएपछि यस घटनाले अमेरिका–दक्षिण कोरिया सम्बन्ध, विशेष गरी आर्थिक साझेदारीमा दीर्घकालीन असर पार्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।

आइसले पक्राउ गरेका ३०० कोरियाली कामदार अमेरिकाबाट डिपोर्ट

दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेटवार्ता गरेर पक्राउ परेकालाई अपराधीको रूपमा व्यवहार नगर्न र भविष्यमा अमेरिका भ्रमण गर्दा कुनै अवरोध नहुने व्यवस्था गर्न आग्रह गरेका थिए।

तर, आइसले सार्वजनिक गरेका तस्बिरहरूमा आप्रवासी कामदारहरूलाई लामो साङ्लोले बाँधिएको देखिएपछि दक्षिण कोरियामा व्यापक आक्रोश फैलिएको छ। कोरियाली सञ्चारमाध्यम र बौद्धिक वर्गले अमेरिकाले आफ्ना सबैभन्दा नजिकका सहयोगीलाई यो अवस्थामा राख्नु “मित्रवत व्यवहार होइन” भन्दै आलोचना गरेका छन्।

कोरियाली व्यवसायी समुदायले सरकारलाई अमेरिकासँग विशेष भिसा कोटा सुनिश्चित गर्न औपचारिक वार्ता गर्न दबाब दिइरहेको छ। यस घटनाले अमेरिकामा कोरियाली सीपयुक्त कामदारहरूका लागि पर्याप्त भिसा नपाइने दीर्घकालीन समस्या उजागर गरेको कानुनविद्हरूले बताएका छन्। अमेरिकी सांसदहरूले पनि यस विषयमा कदम चाल्न थालेका छन्।

तर, अमेरिकासँगको सुरक्षा सम्बन्ध र २८,५०० अमेरिकी सैनिक कोरियामा तैनाथ रहेको पृष्ठभूमिमा सोलले यो स्थिति चाँडै समाधान गर्ने रणनीति अपनाएको देखिन्छ।

ह्वाइट हाउसले भने छापाको बचाउ गर्दै यसले वैदेशिक लगानीलाई असर गर्दैन भनेको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत विदेशी कम्पनीहरूले अमेरिकामा अमेरिकी कामदारलाई रोजगारी दिनुपर्ने बताएका छन्।

उनले अमेरिकी कानुनको सम्मान गर्ने विदेशी कम्पनीलाई कानुनी ढंगले छिट्टै कामदार ल्याउन सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।





Source link

Leave a Comment