प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार
अमेरिकाको टेक्सासमा एकजना प्रसूति सहायक अर्थात (मिडवाइफ) लाई पक्राउ गरिएको छ । अवैध गर्भपतन गराएको र ह्यूस्टन क्षेत्रमा अवैध क्लिनिकहरूको नेटवर्क सञ्चालन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
प्रसूति सहायक मारिया मर्गारिता रोहासलाई गर्भपतन गराएको र बिना लाइसेन्स चिकित्सा अभ्यास गरेको आरोपमा टेक्सासको एटर्नी जनरल केन पक्सटनको कार्यालयले आरोप लगाएको छ ।
अधिकारीहरूले उनलाई क्लिनिकहरू बन्द गर्न अस्थायी प्रतिबन्ध आदेश दिएको बताएका छन्।
अधिकारीहरुका अनुसार ४८ वर्षीय रोहासलाई ह्यूस्टनमा विभिन्न क्लिनिकहरू सञ्चालन गर्दै अवैध गर्भपतन गराएको र राज्यका कडा गर्भपतन सम्वन्धि कानून उल्लङ्घन गरेको आरोप लगाइएको छ ।
रोहासका विरुद्ध दोस्रो दर्जाका जघन्य अपराधका आरोप लगाइएको छ । यो आरोप प्रमाणित भएमा २० वर्षको जेल सजाय र १० हजार डलर जरिवाना हुनसक्नेछ ।
टेक्सास ह्युमन लाइफ प्रोटेक्शन एक्ट २०२१ को कानूनी प्रावधानले प्रायः सबै गर्भपतनलाई प्रतिबन्ध लगाएको छ । राज्यका अधिकारीहरूले रोहासलाई प्रत्येक उल्लङ्घनमा कम्तिमा १ लाख जरिवाना पनि लगाउन सक्नेछन ।
एटर्नी जनरल पक्सटनले टेक्सासको जीवन रक्षा गर्ने कानूनी प्रावधान स्पष्ट रहेको बताएका छन । उनले यसलाई उल्लङ्घन गर्नेहरुलाई जवाफदेही बनाउनेछौं भनेका छन ।
टेक्सासमा गर्भको शिशुको मुटुको धडकन पत्ता लागेपछि चिकित्सकलाई गर्भपतन गर्न प्रतिबन्ध छ । अर्थात गर्भ रहेको ६ हप्तापछि गर्भपतन गर्न पाइदैन । यो बेला धेरै महिलाहरुले गर्भवती भएको नै थाहा पाउदैनन ।
स्वास्थ्य वा जीवनको संकट भएमा भने अपवादको रुपमा गर्भपतन गर्न पाइन्छ । अदालतले गत वर्ष २० महिलाहरूको गर्भपतन गर्न पाउनु पर्ने चुनौतीलाई एकमतले अस्वीकृत गरेको थियो ।