प्रकाशित मिति : मंसिर २७, २०८२ शनिबार

सिरियामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकसहित ३ अमेरिकीको मृत्यु भएको छ। इस्लामिक स्टेट (आईएस) का एक बन्दुकधारीले गरेको घातक आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको हो। घटनामा एक अमेरिकी नागरिक दोभाषेको पनि मृत्यु भएको अमेरिकी केन्द्रीय कमान्डले जनाएको छ।
अधिकारीहरूका अनुसार आक्रमणमा तीन जना अन्य अमेरिकी सैनिक घाइते भएका छन्। आक्रमणका क्रममा बन्दुकधारीसँग भिडन्त भएको र आक्रमणकारी मारिएको अमेरिकी केन्द्रीय कमान्डले बताएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा यो घटना “आईएसआईएसद्वारा गरिएको आक्रमण” भएको बताएका छन्।
उनले अमेरिका र सिरियामाथि गरिएको यस आक्रमणको कडा प्रतिशोध गरिने चेतावनी दिएका छन्। सिरिया सरकारले पनि आक्रमणको निन्दा गरेको छ।
अमेरिकी केन्द्रीय कमान्डले यो आक्रमण “एक्लो आईएसआईएस बन्दुकधारीले गरेको आक्रमण” भएको जनाएको छ। पेन्टागनका अधिकारीले प्रारम्भिक मूल्याङ्कनअनुसार आक्रमण इस्लामिक स्टेट समूहले नै गरेको सम्भावना बढी रहेको बताएका छन्।
यद्यपि बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले आक्रमणकारी सिरियाली सुरक्षा बलको सदस्य भएको दाबी गरेको छ।
हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। आक्रमणकारीको पहिचान सार्वजनिक गरिएको छैन।
पेन्टागनका प्रवक्ता सीन पार्नेलका अनुसार यो आक्रमण सिरियाको केन्द्रीय भागमा पर्ने पाल्माइरा सहरमा भएको हो। अमेरिकी सैनिकहरू आक्रमणका बेला “महत्त्वपूर्ण नेतासँगको भेटघाटमा संलग्न” थिए।
राष्ट्रपति ट्रम्पले घाइते तीनै जना अमेरिकी सैनिकको अवस्था खतरामुक्त रहेको जानकारी दिएका छन्। सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार सो आक्रमणमा दुई जना सिरियाली सुरक्षा कर्मचारी पनि घाइते भएका छन्।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकन नागरिकलाई लक्षित गर्नेहरूले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।
गत महिना सिरियाका राष्ट्रपति अहमद अल–शराले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गरेका थिए। सो भेटलाई उनले दुई देशबीचको “नयाँ युगको सुरुआत” भनेका थिए।
सिरिया हालै इस्लामिक स्टेटविरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी भएको छ र अमेरिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
यो अन्तर्राष्ट्रिय गठबन्धनको उद्देश्य आईएसका बाँकी संरचनालाई पूर्ण रूपमा समाप्त गर्नु र विदेशी लडाकुहरूको मध्यपूर्वतर्फको आवागमन रोक्नु हो।
सन् २०१९ मा अमेरिकी समर्थन प्राप्त सिरियाली गठबन्धनले आईएसले नियन्त्रणमा लिएको अन्तिम क्षेत्र पनि गुमाएको घोषणा गरेको थियो। तर त्यसयता पनि उक्त उग्रवादी समूहले छिटफुट आक्रमण गर्दै आएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार हाल पनि सिरिया र इराकमा आईएसका ५,००० देखि ७,००० लडाकु सक्रिय छन्।
अमेरिकाले सन् २०१५ देखि सिरियामा आफ्नो सैनिक उपस्थिति कायम राख्दै आएको छ, जसको उद्देश्य इस्लामिक स्टेटविरुद्धको अभियानमा अन्य सुरक्षाबललाई तालिम र सहयोग प्रदान गर्नु हो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्