अमेरिकी वैज्ञानिकहरूको रहस्यमयी मृत्यु र बेपत्ता प्रकरण: एफबीआई र संसदद्वारा छुट्टाछुट्टै अनुसन्धान सुरु



प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार

अमेरिकी वैज्ञानिकहरूको रहस्यमयी मृत्यु र बेपत्ता प्रकरण: एफबीआई र संसदद्वारा छुट्टाछुट्टै अनुसन्धान सुरु

अमेरिकामा आणविक तथा अन्तरिक्ष अनुसन्धानसँग सम्बन्धित वैज्ञानिक र विज्ञहरूमाथि घातक आक्रमण बढेपछि संघीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ।

पछिल्ला केही वर्षमा भएका कम्तीमा १० वटा घातक हमलापछि संघीय अनुसन्धान ब्युरोले अनुसन्धान तीव्र पारेको जनाएको हो।

म्यासाचुसेट्सस्थित आफ्नै घरबाहिर गोली हानी हत्या गरिएका आणविक वैज्ञानिक तथा एमआईटीका प्राध्यापक, न्यू मेक्सिकोबाट बेपत्ता भएका अवकाशप्राप्त अमेरिकी वायुसेनाका अधिकारी र लस एन्जलसमा पदयात्राका क्रममा हराएका अन्तरिक्ष इन्जिनियरलगायतका घटनाले विभिन्न अड्कलबाजी बढाएका छन्।

घटनाको श्रृंखला सन् २०२३ मा नासा को जेट प्रोपल्सन प्रयोगशालामा लामो समय कार्यरत वैज्ञानिक माइकल डेभिड हिक्सको मृत्युसँगै सुरु भएको बताइएको छ।

अन्तरिक्ष अनुसन्धान विशेषज्ञ फ्र्याङ्क माइवाल्डको सन् २०२४ मा मृत्यु भएको थियो भने अन्तरिक्ष इन्जिनियर मोनिका रेजा सन् २०२५ मा लस एन्जलसस्थित जंगल क्षेत्रमा पदयात्राका क्रममा बेपत्ता भएकी थिइन्।

अमेरिकी वायुसेनाका अवकाशप्राप्त मेजर जनरल विलियम निल म्याकक्यासल्यान्ड पनि गत फेब्रुअरी २७ देखि न्यू मेक्सिकोस्थित घरबाट हराइरहेका छन्। उनी अमेरिकी रक्षा मन्त्रालयको उन्नत अन्तरिक्ष अनुसन्धान कार्यक्रमसँग जोडिएका अधिकारी थिए।

न्यू मेक्सिकोस्थित प्रसिद्ध आणविक अनुसन्धान केन्द्र “लस अलामोस नेसनल ल्याबोरेटरी” सँग सम्बन्धित दुई अन्य व्यक्ति पनि बेपत्ता भएका छन्। ५३ वर्षीया मेलिसा क्यासियास र ७८ वर्षीय एन्थोनी चाभेजको खोजी अझै जारी रहेको प्रहरीले जनाएको छ।

एमआईटीका आणविक वैज्ञानिक नुनो लुरेइरोको डिसेम्बर २०२५ मा गोली हानी हत्या गरिएको थियो। उनी स्वच्छ ऊर्जा तथा आणविक अनुसन्धानमा सक्रिय थिए।

क्यालिफोर्नियाका खगोल भौतिकविद् कार्ल ग्रिलमायरको पनि फेब्रुअरीमा हत्या गरिएको थियो। प्रहरीले यस घटनाका एक संदिग्धलाई पक्राउ गरिसकेको जनाएको छ।

एफबीआईले मृत्यु र बेपत्ता भएका वैज्ञानिकहरूबीच कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको पुष्टि गरेको छ। अमेरिकी ऊर्जा मन्त्रालय, रक्षा मन्त्रालय तथा स्थानीय सुरक्षा निकायहरूसँग समन्वय गरेर अनुसन्धान अघि बढाइएको एफबीआईको भनाइ छ।

यसैबीच, रिपब्लिकन नेतृत्वको अमेरिकी प्रतिनिधिसभा अन्तर्गतको निगरानी समितिले पनि घटनाबारे छुट्टै अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ। समितिले ती व्यक्तिहरूसँग संवेदनशील वैज्ञानिक जानकारीमा पहुँच रहेको उल्लेख गर्दै यी घटनाहरूले “गम्भीर सुरक्षा प्रश्न” उठाएको जनाएको छ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले सम्बन्धित निकायहरूसँग सहकार्य भइरहेको जनाएको छ। तर, हालसम्म राष्ट्रिय सुरक्षामा प्रत्यक्ष खतरा देखिने कुनै प्रमाण नभएको नासाको भनाइ छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई “गम्भीर विषय” भन्दै संघीय निकायहरूले सबै पक्षबाट अनुसन्धान गरिरहेको बताएका छन्।

प्रतिनिधिसभा निगरानी समितिका अध्यक्ष जेम्स कोमरले यी घटनाहरू सामान्य संयोग मात्र हुन नसक्ने बताएका छन्। उनले यसलाई राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा हेरिएको उल्लेख गरे।

तर, समितिकै डेमोक्र्याट सदस्य जेम्स वाकिन्शाले अनुसन्धान आवश्यक भए पनि सबै घटनामा एउटै योजनाबद्ध उद्देश्य रहेकोमा आफू विश्वस्त नभएको बताएका छन्।





Source link

Leave a Comment