प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार

अमेरिकी वैज्ञानिकहरूले उच्च कोलेस्ट्रोल नियन्त्रणका लागि नयाँ दिशानिर्देश (गाइडलाइन) सार्वजनिक गरेका छन्। अमेरिकाका प्रमुख मुटुरोग विशेषज्ञहरूले उच्च कोलेस्ट्रोल व्यवस्थापनका लागि नयाँ दिशानिर्देश सार्वजनिक गरेका हुन्। यसले मुटुरोग र स्ट्रोकको जोखिम घटाउन महत्त्वपूर्ण सहयोग गर्ने विश्वास गरिएको छ।
अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनका विशेषज्ञहरूले तयार पारेको यो गाइडलाइनले सन् २०१८ को पुरानो गाइडलाइनलाई प्रतिस्थापन गरेको हो। नयाँ गाइडलाइनमा कम उमेरमै कोलेस्ट्रोल परीक्षण सुरु गर्ने, जीवनशैली सुधारमार्फत कोलेस्ट्रोल नियन्त्रण गर्ने तथा व्यक्तिअनुसार मुटुरोगको जोखिम मूल्याङ्कन गर्ने नयाँ तरिका समावेश गरिएको छ।
विशेषज्ञहरूका अनुसार, जीवनको प्रारम्भिक अवस्थादेखि नै रोकथाममा ध्यान दिँदा भविष्यमा मुटुरोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। कोलेस्ट्रोल शरीरका लागि आवश्यक बोसोयुक्त तत्व हो, जसले कोष र हर्मोन निर्माणमा भूमिका खेल्छ। तर यसको असन्तुलन स्वास्थ्यका लागि हानिकारक हुन्छ। ‘खराब’ एलडीएल कोलेस्ट्रोल बढी हुँदा धमनीहरूमा अवरोध सिर्जना हुन्छ भने ‘राम्रो’ एचडीएल कोलेस्ट्रोलले त्यस्तो बोसो हटाउन मद्दत गर्छ।
नयाँ दिशानिर्देशले परिवारमा मुटुरोगको इतिहास भएका व्यक्तिहरूलाई छिट्टै परीक्षण गर्न सुझाव दिएको छ। साथै, आवश्यक परे औषधि उपचार पनि चाँडै सुरु गर्न सिफारिस गरिएको छ। मुटुरोगको जोखिम मूल्याङ्कनका लागि अब ‘प्रिभेन्ट’ नामक नयाँ प्रणाली प्रयोग गर्न सल्लाह दिइएको छ, जुन उच्च रक्तचाप भएका व्यक्तिहरूका लागि पनि उपयोगी मानिएको छ।
विशेषज्ञहरूले स्वस्थ आहार, नियमित व्यायाम, तौल नियन्त्रण, पर्याप्त निद्रा र धूम्रपान त्यागलाई कोलेस्ट्रोल नियन्त्रणका मुख्य उपायका रूपमा दोहोर्याएका छन्। केही अवस्थामा भने औषधि सेवन पनि आवश्यक हुन सक्छ। उनीहरूका अनुसार, एलडीएल कोलेस्ट्रोल जति कम हुन्छ, हृदयाघात र स्ट्रोकको जोखिम त्यति नै घट्ने विज्ञहरूले बताएका छन्।
अमेरिकामा करिब चारमध्ये एक वयस्कमा उच्च एलडीएल कोलेस्ट्रोल रहेको अनुमान गरिएको छ, जसले मुटुरोगको प्रमुख कारण मानिने एएससीभीडी को जोखिम बढाउँछ।
तर करिब ८० प्रतिशत मुटुरोग रोकथाम गर्न सकिने भएकाले समयमै सचेत हुनु आवश्यक रहेको विशेषज्ञहरूको भनाइ छ। यसैबीच, मुटुरोगसँग सम्बन्धित अन्य जोखिम कारकहरू मधुमेह, मदिरा सेवन र शरीरमा बोसोको मात्रा बारे पनि नयाँ अध्ययन सार्वजनिक गरिएको छ।
विशेषज्ञहरूले उच्च कोलेस्ट्रोलले किशोरावस्थादेखि नै असर पार्न थाल्ने भएकाले प्रारम्भिक चरणमै सावधानी अपनाउनु अत्यन्त आवश्यक हुने कुरामा जोड दिएका छन्। एजेन्सीहरुको सहयोगमा