अमेरिकी राष्ट्रपति ट्रम्पको भाषण सम्पादन विवादपछि बीबीसीका निर्देशक र समाचार प्रमुखले दिए राजीनामा



प्रकाशित मिति : कार्तिक २३, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति ट्रम्पको भाषण सम्पादन विवादपछि बीबीसीका निर्देशक र समाचार प्रमुखले दिए राजीनामा

बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबराह टर्नेसले राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सम्पादन विवादपछि बढेको दबाबका कारण उनीहरूले राजीनामा दिएका हुन्।

यो राजीनामाको निर्णय बीबीसीको “प्यानोरामा” वृत्तचित्रले अमेरिकी राष्ट्रपति ट्रम्पको भाषण सम्पादन गरी दर्शकलाई भ्रममा पारेको आरोप लागेपछि आएको हो। “प्यानोरामा” बीबीसीको एउटा प्रसिद्ध अनुसन्धानात्मक टेलिभिजन कार्यक्रम हो, जसले विभिन्न सामाजिक, राजनीतिक र अन्तर्राष्ट्रिय विषयहरूमा गहिरो रिपोर्टिङ गर्छ।

डेभी पाँच वर्षदेखि बीबीसीको महानिर्देशकका रूपमा कार्यरत थिए। पछिल्ला महिनाहरूमा उनले विभिन्न विवाद र पक्षपातका आरोपको सामना गर्दै आएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पको भाषण सम्पादन विवादपछि बीबीसीका निर्देशक र समाचार प्रमुखले दिए राजीनामा

“प्यानोरामा” कार्यक्रममा ट्रम्पको जनवरी ६, २०२१ मा वासिङ्टन डीसीमा भएको भाषणका दुई फरक भाग जोडेर देखाइएको थियो। यसले उनलाई क्यापिटल हिलमा भएको हिंसालाई उकास्दै गरेको जस्तो देखाएको थियो। सम्पादन गरिएका यी भागहरूबीच वास्तवमा ५० मिनेटको अन्तर थियो।

यस घटनाले बीबीसीमाथि गम्भीर आलोचना निम्त्यायो। ह्वाइट हाउसले समेत बीबीसीलाई “१०० प्रतिशत नक्कली समाचार” भनेर टिप्पणी गरेको थियो।

डेभीले राजीनामा घोषणा गर्दै बीबीसी पनि अरू सार्वजनिक संस्थाहरूझैं परिपूर्ण नभएको भन्दै सधैं खुला, पारदर्शी र उत्तरदायी रहनुपर्छ भनेका छन्।

“‘प्यानोरामा’ विवादले बीबीसीलाई क्षति पुर्‍याउने अवस्थामा पुगेको छ। जिम्मेवारी मेरो हो, त्यसैले म पदत्याग गर्दैछु,” टर्नेसले भनेकी छन्।

टर्नेस तीन वर्षदेखि बीबीसीका समाचार तथा समसामयिक मामिला की प्रमुख थिइन्।

कन्जर्भेटिभ नेतृ केमी बाडेनोचले भने, “डेभी र टर्नेसको राजीनामा सही हो, तर समस्याहरू यसभन्दा गहिरा छन्। बीबीसीले निष्पक्षता प्रमाणित नगरेसम्म जनताबाट अनिवार्य करदाताको लाइसेन्स शुल्कको अपेक्षा गर्न सक्दैन।”

लिबरल डेमोक्र्याट नेता एड डेभीले भने, “यो बीबीसीका लागि नयाँ सुरुवातको अवसर हो।” त्यस्तै रिफर्म यूकेका नेता नाइजेल फराजले सरकारलाई आग्रह गरे, “अब बीबीसीमा व्यापक सुधार ल्याउन सक्ने नयाँ नेतृत्व नियुक्त गर्नुपर्छ।”

टिम डेभी २० वर्षदेखि बीबीसीसँग आबद्ध थिए। उनी २०२० मा १७ औँ महानिर्देशक बनेका थिए। बीबीसीका अघिल्ला महानिर्देशक जर्ज एन्टविसलले पनि २०१२ मा राजीनामा दिएका थिए।





Source link

Leave a Comment