अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व उपराष्ट्रपति ह्यारिसको ‘सिक्रेट सर्भिस’ खारेज



प्रकाशित मिति : भाद्र १२, २०८२ शुक्रबार


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति कमला ह्यारिसलाई दिइएको ‘सिक्रेट सर्भिस’ सुरक्षा औपचारिकरूपमा खारेज गरेका छन्। अबदेखि ह्यारिसलाई संघीय सुरक्षा एजेन्टहरूले निरन्तर संरक्षण नदिने भएका हुन् ।

संघीय कानुनअनुसार पूर्व राष्ट्रपतिहरूले जीवनभर ‘सिक्रेट सर्भिस’को सुरक्षा पाउँछन् भने पूर्व उपराष्ट्रपतिले पदत्यागपछि ६ महिनासम्म मात्र यस्तो सुरक्षा पाउँछन्। कमला ह्यारिसको सुरक्षाको आधिकारिक अवधि यसै वर्ष जुलाई २१ मा समाप्त भएको थियो।

तर, तत्कालीन राष्ट्रपति जो बाइडेनले पद छोड्नु अघि एक (सार्वजनिक नगरिएको) आदेशमार्फत ह्यारिसको सुरक्षा अवधि थप १ वर्षका लागि लम्ब्याएका थिए। यही आदेशलाई ट्रम्पले बिहीबार खारेज गरेका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व उपराष्ट्रपति ह्यारिसको ‘सिक्रेट सर्भिस’ खारेज

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व उपराष्ट्रपति ह्यारिसको ‘सिक्रेट सर्भिस’ खारेज

“होमल्याण्ड सेक्युरिटी सेक्रेटरीको लागि ज्ञापनपत्र” शीर्षकमा पठाइएको उक्त पत्रमा भनिएको छ, “पूर्व उपराष्ट्रपति कमला डी. ह्यारिसलाई कानुनले तोकेको भन्दा बाहेक कार्यकारी आदेशमार्फत दिइएको कुनै पनि सुरक्षा प्रक्रिया १ सेप्टेम्बर २०२५ देखि लागू हुने गरी खारेज गरियो।”

यो निर्णय त्यतिबेला आएको हो, जब ह्यारिस आफ्नो नयाँ आत्मकथा “१०७ डेज” सार्वजनिक गर्ने तयारीमा छिन्। पुस्तक सेप्टेम्बर २३ मा प्रकाशन हुँदैछ। यस अवसरमा उनी विभिन्न शहरहरुमा जाने कार्यक्रम छ। पदत्यागपछि थोरै मात्र सार्वजनिक कार्यक्रममा भाग लिएकी ह्यारिसलाई यसपटक मिडिया र जनताको ध्यान आकर्षित गर्ने अनुमान गरिएको छ।

ह्यारिसकी वरिष्ठ सल्लाहकार कर्स्टन एलेनले भनिन्, “उप–राष्ट्रपति ह्यारिस संयुक्त राज्य ‘सिक्रेट सर्भिस’को व्यावसायिकता, समर्पण र सुरक्षाप्रतिको अटल प्रतिबद्धताप्रति आभारी छिन्।”

अमेरिकी राष्ट्रपतिहरू र उम्मेदवारहरू निरन्तर सुरक्षा खतरामा पर्ने गरेका छन्। गत वर्ष चुनावी अभियानका क्रममा ट्रम्पमाथि दुई पटक हत्या प्रयास भएको थियो।

ह्यारिसमाथि पनि विशेष सुरक्षा चिन्ता रहेको जानकारहरुले बताएका छन्। पहिलो महिला र पहिलो अश्वेत महिला उपराष्ट्रपति भएकाले सुरक्षाबारे अतिरिक्त सावधानी अपनाइएको थियो। उनी राष्ट्रपति उम्मेदवार बनेपछि जोखिम अझै बढेको थियो र चुनावपश्चात् पनि जनवरीसम्म उच्च स्तरमै कायम रहेको बताइन्छ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व उपराष्ट्रपति ह्यारिसको ‘सिक्रेट सर्भिस’ खारेज

सुरक्षा खारेजसँगै ह्यारिसले २४ घण्टा व्यक्तिगत सुरक्षा मात्रै होइन, खतरासम्बन्धी सूचना विश्लेषण, सामाजिक सञ्जाल निगरानी, इमेल/सन्देश सुरक्षा लगायतका सेवाबाट समेत वञ्चित हुनेछिन्।

उनको लस एन्जलसस्थित निवास पनि अब संघीय सुरक्षाबाट बाहिरिनेछ। यस्तै, स्तरको निजी सुरक्षा व्यवस्थापन वार्षिक करोडौँ डलर खर्चिलो हुने अनुमान गरिएको छ।

ह्यारिसका पति डग इम्होफले भने जुलाई २१ मै आफ्नो व्यक्तिगत सुरक्षा गुमाइसकेका थिए।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यु्समलाई बिहीबार बेलुकी यसबारे जानकारी दिइएको थियो। तर उनको कार्यालयले वैकल्पिक सुरक्षा उपायबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

न्यु्समका प्रवक्ता बॉब साल्लाडेले भने, “सार्वजनिक पदाधिकारीहरूको सुरक्षा अस्थिर र प्रतिशोधी राजनीतिक आवेगको भरमा कहिल्यै हुनु हुँदैन।”

त्यस्तै, लस एन्जलसकी मेयर करेन बासले पनि आक्रोश प्रकट गर्दै भनिन्, “यो लामो समयदेखि हुँदै आएको राजनीतिक प्रतिशोधको अर्को उदाहरण हो, जसमा जागिरबाट निकाल्ने, सुरक्षा अनुमति खारेज गर्ने जस्ता कदमहरू परेका छन्। यसले पूर्व उपराष्ट्रपतिलाई प्रत्यक्ष खतरामा पार्छ। म गभर्नरसँग मिलेर ह्यारिस लस एन्जलसमा सुरक्षित रहून् भन्ने सुनिश्चित गर्न काम गर्नेछु।”





Source link

Leave a Comment