प्रकाशित मिति : ८ असार २०८३, सोमबार

ट्रम्प प्रशासनले अमेरिकी नागरिकता लिन चाहने कानुनी आप्रवासीहरूका लागि आवेदन शुल्कमा ५७० डलर वृद्धि गर्ने र न्यून आय भएका आवेदकहरूले पाउँदै आएको शुल्क छुट तथा कटौतीको व्यवस्था खारेज गर्ने योजना सार्वजनिक गरेको छ।
युएससीआईएसद्वारा प्रस्तावित नयाँ नियमअनुसार, कागजमार्फत गरिने नागरिकता आवेदनको शुल्क ७६० डलरबाट बढाएर १,३३० डलर र अनलाइनमार्फत गरिने आवेदनको शुल्क ७१० डलरबाट बढाएर १,२८० डलर पुर्याइनेछ। यसका साथै, अस्वीकृत भएको नागरिकता आवेदनमाथि पुनर्विचार गर्नका लागि गरिने अनुरोधको शुल्कमा समेत ६४५ डलरको वृद्धि हुनेछ।
यो योजनाले नागरिकताका मुद्दाहरूमा दिइँदै आएको शुल्क छुटलाई पूर्ण रूपमा हटाउनेछ। हाल संघीय गरिबी रेखाको ४०० प्रतिशत वा सोभन्दा कम घरायसी आम्दानी भएका आप्रवासीहरूले पाउँदै आएको शुल्क कटौतीको विकल्प पनि अब रहने छैन। यद्यपि, अमेरिकी सेनामा कार्यरत र नागरिकता लिन चाहने सेवावद्ध सदस्यहरूका लागि भने शुल्क छुटको व्यवस्था यथावत राखिनेछ।
यी परिवर्तनहरू तत्कालै लागू हुने छैनन्। यो केवल एक प्रस्तावित नियम मात्र भएकाले संघीय सरकारको नियम निर्माण प्रक्रियाका अन्य चरणहरू पार गर्न बाँकी नै छ। यस प्रस्तावको पक्ष वा विपक्षमा सर्वसाधारणले आगामी ६० दिनभित्र आफ्ना राय-सुझावहरू पेश गर्न सक्नेछन्।
युएससीआईएस लाई रेखदेख गर्ने डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीका अनुसार, नागरिकता आवेदन प्रक्रियाको सम्पूर्ण खर्च धान्नका लागि यो शुल्क वृद्धि आवश्यक भएको हो। विशेष गरी ट्रम्प प्रशासनले आवेदकहरूको थप सूक्ष्म र कडा जाँचबुझ गर्न सुरु गरेकाले पनि खर्च बढेको मन्त्रालयको भनाइ छ। अन्य अधिकांश संघीय निकायहरू जस्तो नभई, युएससीआईएस मुख्य रूपमा आफैंले लिने सेवा शुल्कबाटै सञ्चालित हुने गर्दछ।
यसअघिका प्रशासनहरूले “नागरिकता प्राप्ति र समाजमा आबद्धतालाई प्रोत्साहन गर्न” अन्य सुविधाहरूको तुलनामा नागरिकता आवेदन शुल्क तुलनात्मक रूपमा कम राखेका थिए। तर वर्तमान ट्रम्प प्रशासनले भने फरक रणनीति अपनाएको अधिकारीहरूले बताएका छन्।
प्रस्तावित नियममा मन्त्रालयले भनेको छ, “यसअघिका प्रशासनहरूले अङ्गिकृत प्रोत्साहन गर्ने प्राथमिकताका आधारमा शुल्क सीमित राखेका थिए। तर, अन्य आप्रवासन सुविधाहरूलाई असर पर्ने गरी अङ्गिकृतआवेदनका लागि मात्रै कम शुल्क राखिरहनु उचित हुँदैन भन्ने निष्कर्षमा अहिले विभाग पुगेको छ।”
अमेरिकी सरकारले कानुनी आप्रवासीहरूलाई नागरिकता प्रक्रिया पूरा गर्न लामो समयदेखि प्रोत्साहित गर्दै आएको छ। सामान्यतया, विगत ३ देखि ५ वर्षदेखि ‘ग्रीन कार्ड’ (स्थायी बसोबासको अनुमति) भएका कानुनी स्थायी बासिन्दाहरू अमेरिकी नागरिकताका लागि योग्य मानिन्छन्।
नागरिकताका आवेदकहरूले अंग्रेजी भाषा र नागरिक शास्त्रको परीक्षा उत्तीर्ण गर्नुपर्छ, र उनीहरूको कुनै गम्भीर आपराधिक इतिहास हुनु हुँदैन।
आप्रवासनमा कडाइ गर्ने आफ्नो नीतिको हिस्सा स्वरूप, दोस्रो ट्रम्प प्रशासनले कानुनी आप्रवासन सुविधाहरूमा पहुँचलाई थप कडा र सीमित बनाउने प्रयास गरिरहेको छ। यसअन्तर्गत जाँचबुझ प्रक्रियामा थप कडा तहहरू थपिएका छन्।
नागरिकता आवेदनका सन्दर्भमा, प्रशासनले आवेदकको “सत्चरित्र” प्रमाणित गर्नुपर्ने प्रावधानलाई थप आक्रामक रूपमा जाँच गर्न थालेको छ। यसका साथै, लामो समयदेखि रोकिएको “छिमेकी जाँच”को अभ्यासलाई पनि ब्युँताइएको छ, जसअन्तर्गत नागरिकता माग गर्ने व्यक्तिका छिमेकी र सहकर्मीहरूसँग सोधपुछ गरिन्छ।
यति मात्र नभई, गैरकानुनी रूपमा वा आफ्नो आपराधिक पृष्ठभूमि लुकाएर जालसाजीपूर्वक अमेरिकी नागरिकता लिएको आरोप लागेका विदेशी मूलका अमेरिकी नागरिकहरूको नागरिकता खारेज गर्ने प्रयासलाई पनि ट्रम्प प्रशासनले तीव्र पारेको छ।
