प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेस । फाइल तस्वीर : जुआन बार्रेटो/ एएफपी-रासस
अमेरिकाले पक्राउ गरेका भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोका छोरा निकोलस मदुरो गुयराले आफ्ना बुबा र पूर्व प्रथम महिला सिलिया फ्लोरेस जेलभित्र पनि “उत्साहित र बलियो” रहेको दाबी गरेका छन्।
मदुरो गुयराले बुबाको तौल घट्नुको कारण व्यायाम भएको बताएका छन्। यद्यपि, जेलभित्रको खानाको गुणस्तर पनि यसको एउटा कारण हुन सक्ने आशंका गरिएको छ।
जेलभित्र व्यायाम गर्न पाइने भए तापनि यसको समय र स्थान अत्यन्त सीमित हुन्छ। कैदीहरूलाई कडा निगरानीमा कहिलेकाहीँ दिनको एक घण्टा मात्र कोठाबाहिर निस्कन दिइन्छ।
धेरैजसो कैदीहरूले आफ्नै कोठाभित्र ‘पुशअप’, ‘सिटअप’ वा हिँडडुल गरेर समय बिताउने गर्छन्। यस्तो गतिविधिले उनीहरूलाई मानसिक तनाव र एकान्तपनबाट जोगिन सहयोग पुर्याउँछ।
तर, उनीहरूलाई राखिएको न्यूयोर्कको ब्रुकलिनस्थित ‘मेट्रोपोलिटन डिटेन्सन सेन्टर’ भित्रको अवस्था भने त्यति सहज नभएको जानकारहरू बताउँछन्।
मदुरो र फ्लोरेसलाई गत जनवरीमा अमेरिकी सैनिकले भेनेजुएलाबाट पक्राउ गरी न्यूयोर्क ल्याएको थियो। उनीहरूविरुद्ध लागूऔषध तस्करी, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) र भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको छ। उनीहरूले भने यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।
ब्रुकलिनस्थित यो जेल लामो समयदेखि असुरक्षित र अमानवीय अवस्थाका लागि आलोचित हुँदै आएको छ। केही वकिल र कैदीहरूले यसलाई “नरकजस्तै” स्थानसमेत भनेका छन्। त्यहाँ सरसफाइको कमी, असुरक्षा र लामो समयसम्म एकान्तवास (सोलिटरी कन्फाइनमेन्ट) जस्ता समस्या रहेको बताइन्छ।
उच्च प्रोफाइलका कैदी भएकाले मदुरोलाई अझ कडा सुरक्षा व्यवस्थासहित अलग राखिएको हुन सक्ने अनुमान गरिएको छ। पूर्वजेल निर्देशक क्यामरन लिन्डसेका अनुसार, यस्तो अवस्थामा कैदीहरूलाई दिनको २३ घण्टासम्म एकान्त कोठामा राखिन्छ।
मदुरो र उनकी पत्नी फ्लोरेस एउटै जेलमा भए तापनि उनीहरूबीच भेटघाट वा प्रत्यक्ष संवाद सम्भव छैन। पुरुष र महिला कैदीहरू अलग राखिने र सह-अभियुक्तहरूबीच सम्पर्क रोक्ने कानुनी प्रावधानका कारण उनीहरूलाई एक-अर्कासँग भेट्न दिइँदैन।
उनीहरूको बाहिरी संसारसँगको सम्पर्क पनि सीमित हुन्छ। भेटघाट पूर्वस्वीकृत हुनुपर्छ, फोन कल छोटो हुन्छ र इन्टरनेटको पहुँच हुँदैन। विगतमा कैदीहरूले त्यहाँ बिग्रिएको, राम्रोसँग नपाकेको वा किरा परेको खाना दिइने गुनासो समेत गरेका थिए।
मदुरो र फ्लोरेसको अर्को अदालती सुनुवाइ मार्च २६ मा तय गरिएको छ। यो सुनुवाइ मुख्य रूपमा मुद्दाको प्रगति समीक्षामा केन्द्रित हुनेछ। मदुरोका छोरा गुयराले यस सुनुवाइमार्फत “सत्य उजागर हुने र मदुरो तथा सिलियाको निर्दोषिता प्रमाणित हुने” आशा व्यक्त गरेका छन्।