प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर अब चाँडै अमेरिकी कागजी मुद्रा (नोट) मा समावेश गरिने भएको छ। अर्थ मन्त्रालयले राष्ट्रपति ट्रम्पको हस्ताक्षर छिट्टै अमेरिकी मुद्रामा समावेश गरिने घोषणा गरेको हो।
यो कदमसँगै पहिलो पटक बहालवाला अमेरिकी राष्ट्रपतिको हस्ताक्षर कानुनी मुद्रामा राखिने ऐतिहासिक निर्णय भएको छ। यस परिवर्तनसँगै सन् १८६१ पछि पहिलो पटक कोषाध्यक्षको हस्ताक्षर हटाइने पनि जनाइएको छ।
अर्थ मन्त्रालयका अनुसार यो निर्णय अमेरिकाको आगामी २५०औँ वार्षिकोत्सवको अवसरमा गरिएको हो।
अर्थमन्त्री स्कट बेसन्टले भने, “राष्ट्रपति ट्रम्पको नेतृत्वमा हामी अभूतपूर्व आर्थिक वृद्धि, डलरको दीर्घकालीन प्रभुत्व र वित्तीय स्थायित्वतर्फ अघि बढिरहेका छौँ। अमेरिकी डलरमा उनको नाम समावेश गर्नुभन्दा ठूलो सम्मान अरू हुन सक्दैन, र यस्तो ऐतिहासिक मुद्रा २५०औँ वार्षिकोत्सवमा जारी हुनु उपयुक्त छ।”
ट्रम्प र बेसन्टको हस्ताक्षर भएका पहिलो १०० डलरका नोटहरू जुन महिनामा छापिनेछन् र त्यसपछि अन्य दरका नोटहरू पनि क्रमशः जारी गरिनेछन्।
यो निर्णय ट्रम्पले अमेरिकी सांस्कृतिक संस्थाहरूमा आफ्नो नाम र प्रभाव स्थापित गर्ने प्रयासको पछिल्लो उदाहरण हो। यसअघि उनले अमेरिकी शान्ति संस्थान, केनेडी केन्द्र (प्रदर्शन कला स्थल) तथा नयाँ युद्धपोतहरूको नाम परिवर्तन गरेका थिए।
यसै महिनाको सुरुमा संघीय कला आयोगले ट्रम्पको तस्बिर अंकित २४ क्यारेट सुनका स्मारक सिक्का उत्पादन गर्न अनुमति दिएको थियो। यद्यपि, संघीय कानुनअनुसार जीवित अमेरिकी राष्ट्रपतिको तस्बिर मुद्रा वा सिक्कामा राख्न नपाइने व्यवस्था रहेको छ।