प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले संयुक्त राज्य अमेरिका र युक्रेनबीच वार्ता पुनः सुरु हुने सम्भावना अझै बाँकी रहेको सङ्केत गरेका छन् ।
सोमबार फक्स न्युजको ‘ह्यानिटी’ कार्यक्रममा दिएको अन्तर्वार्तामा अमेरिकी उपराष्ट्रपति भान्सले अमेरिका र युक्रेनबीच वार्ता पुनः सुरु हुने सम्भावना अझै बाँकी रहेको सङ्केत गरेका हुन् ।
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन रुससँग शान्ति सम्झौतासम्बन्धी छलफलमा संलग्न भइसकेको जिकिर गरे । उनले भने, ‘हामी यस विषयमा पहिले नै रुसीहरूसँग काम गरिरहेका छौँ । हाम्रा केही सहयोगीहरूसँग पनि यसबारे छलफल भइरहेको छ।’
यदि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की वार्ताको टेबलमा फर्कन इच्छुक देखिए ट्रम्प प्रशासनले उनलाई स्वागत गर्छ ? भन्ने प्रश्नमा जवाफ दिँदै उपराष्ट्रपति भान्सले जेलेन्स्की वार्ताको टेबलमा फर्किन इच्छुक रहे अमेरिका वार्ता गर्न तयार रहेको बताए । उनले भने, ‘यदि जेलेन्स्कीले गम्भीर प्रस्ताव राखे र वार्तामा वास्तविक रूपमा संलग्न भए भने हामी अवश्य पनि छलफल गर्न चाहन्छौँ ।’
भान्सले युक्रेनसँगको कच्चा खनिज सम्झौता वार्ताको एउटा महत्त्वपूर्ण पक्ष हुन सक्ने सङ्केत गरे। उनले भने, ‘सुरक्षा मात्र होइन, युक्रेनको आर्थिक स्थायित्व सुनिश्चित गर्न पनि यस सम्झौताले ठुलो भूमिका खेल्नेछ।’