अमेरिका र युरोप पठाइदिने प्रलोभनमा करोडौँ ठगी, कन्सल्टेन्सी सञ्चालकसहित ७ जना पक्राउ



प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार

अमेरिका र युरोप पठाइदिने प्रलोभनमा करोडौँ ठगी, कन्सल्टेन्सी सञ्चालकसहित ७ जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी प्रलोभनमा पारेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ घर भएकी ४० वर्षीया नितु घिमिरे रहेकी छन्। प्रहरीका अनुसार घिमिरेले ३ जनालाई अमेरिका पठाइदिने भन्दै २६ लाख रुपैयाँ लिएर फरार भएकी थिइन्।

पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ–७ बाट पक्राउ गरेको हो। अमेरिकामा आकर्षक तलबको प्रलोभन देखाएर उनले तीन जनालाई ठगेको प्रहरीले जनाएको छ।

पीडितहरूबाट रकम असुल गरेर नितु सम्पर्कविहीन भएकी थिइन्। रकम लिएर अमेरिका पठाइदिन्छु भन्ने व्यक्ति नै फरार भएपछि पीडितहरू उजुरीका लागि प्रहरीकहाँ पुगेका थिए। उजुरी प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। त्यसै क्रममा प्रहरीले नितुलाई पक्राउ गरेको हो।

पक्राउ परेपछिउनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए ।

उनीसँगै प्रहरीले युरोपका विभिन्न देशमा रोजगारीको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा अन्य ६ जनालाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा काठमाडौँ महानगरपालिका–११ स्थित डब्ल्युडब्ल्युआइसिएस इमिग्रेसन सर्भिस नेपालका सञ्चालकहरू काठमाडौँ–२६ बस्ने भारतको पञ्जाब मोहाली घर भएका २६ वर्षीय अमित कुमार र काठमाडौँ–३ बस्ने भारतको हरियाणा फरिदाबाद घर भएका ३९ वर्षीय राहुल कुमार रहेका छन्।

त्यस्तै, काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने चितवनको कालिका नगरपालिका–६ घर भएकी २७ वर्षीया मुस्कान घिमिरे, ललितपुर महानगरपालिका–२३ बस्ने मकवानपुरको बकैया गाउँपालिका–९ घर भएका ३९ वर्षीय जनकबहादुर वाइबा, ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने सुनसरीको रामधुनी नगरपालिका–५ घर भएका २७ वर्षीय मिलन घिमिरे र काठमाडौँ महानगरपालिका–१५ बस्ने मोरङको बेलबारी नगरपालिका–३ घर भएका २७ वर्षीय कमल थापा पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये अमित र राहुलले क्यानडा पठाइदिन्छु भन्दै ४ जनाबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रुपैयाँ ठगी गरेका छन्। त्यस्तै मुस्कानले ग्रिस पठाइदिन्छु भन्दै १ जनाबाट १२ लाख रुपैयाँ, जनकले फ्रान्स पठाइदिन्छु भन्दै १ जनाबाट १६ लाख रुपैयाँ र मिलनले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ३ लाख ३५ हजार रुपैयाँ लिएका थिए। कमलले बेलायत र रोमानिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ३ जनाबाट २७ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।





Source link

Leave a Comment