प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार

अमेरिका र इरान शान्ति सम्झौताको नजिक पुगेका छन्। इरानसँग भइरहेको वार्तामा प्रगति भइरहेको र अहिले भाषागत विषयमा छलफल चलिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्।
भान्सले वार्तामा केही प्रगति भएको स्वीकार गर्दै इरानको आणविक कार्यक्रम र उच्च प्रशोधित (संवर्द्धित) युरेनियमसँग सम्बन्धित केही महत्त्वपूर्ण विषय अझै टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिए।
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्ने वा नगर्ने विषय अझै निश्चित नभएको बताएका छन्। भान्सले आगामी दिनमा वार्तामा थप प्रगति हुने आशा व्यक्त गर्दै राष्ट्रपति ट्रम्प सम्झौतालाई समर्थन गर्ने अवस्थामा पुग्न सक्ने उल्लेख गरे। यद्यपि, उनले अन्ततः सम्झौता अवश्य हुन्छ भन्ने ग्यारेन्टी दिन भने अस्वीकार गरे।
दुवै पक्षबीच फाट्टफुट्ट आक्रमणहरू भइरहेको भए पनि युद्धविराम भने कायम नै रहेको भान्सले बताए। साथै, आवश्यक परे अमेरिकाले प्रतिरक्षात्मक आक्रमण गर्न सक्ने अधिकार सुरक्षित राखेको पनि उनले स्पष्ट पारे।
सम्भावित सम्झौताअनुसार ६० दिनका लागि युद्धविराम लम्ब्याइने र इरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता सुरु गरिने बताइएको छ। दुवै देशबीच सम्झौताको प्रारम्भिक ढाँचामा सहमति बनेको तर त्यसका लागि ट्रम्प र इरानको नेतृत्वको अन्तिम स्वीकृति आवश्यक रहेको उनले बताएका थिए।
गत अप्रिल ८ देखि अमेरिका र इरानबीच प्रारम्भिक युद्धविराम लागू भएयता ट्रम्पले पटक–पटक सम्झौता नजिक पुगेको र वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै आएका छन्। तर, हालसम्म कुनै ठोस नतिजा भने सार्वजनिक भएको छैन।
मध्यपूर्वको यो तनाव अन्त्य गर्न राष्ट्रपति ट्रम्पमाथि दबाब बढ्दै गएको छ। खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरू, युद्धको विरोध गर्ने डेमोक्र्याट नेताहरू तथा अमेरिकी कंग्रेसका केही रिपब्लिकन सांसदहरूले समेत लामो समयसम्म सङ्घर्ष जारी रहनुप्रति चिन्ता व्यक्त गरेका छन्।
युद्धविरामको अवधि थपिएमा अमेरिका र इरानका वार्ता टोलीहरूले इरानको आणविक कार्यक्रम तथा उच्च संवर्द्धित युरेनियमको बाँकी मौज्दातबारे थप जटिल प्राविधिक विषयमा छलफल गर्न समय पाउनेछन्। राष्ट्रपति ट्रम्पले अमेरिकाले उक्त युरेनियम नियन्त्रणमा लिन सक्ने वा इरानसँग मिलेर त्यहीँ वा तेस्रो स्थानमा त्यसको संवर्द्धन क्षमता घटाउन (कमजोर बनाउन) सकिने सुझाव दिएका थिए।