प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार

अन्तर्राष्ट्रिय अपराध नियन्त्रण गर्ने निकाय (इन्टरपोल) ‘रेड नोटिस’ मा अहिले पनि १५ नेपालीहरु रहेका छन् । अमेरिका, भारत र केन्याका न्यायिक अधिकारीहरूको अनुरोधमा इन्टरपोलले यी नेपालीहरूविरुद्ध विश्वव्यापी रूपमा खोजी र पक्राउका लागि यो नोटिस जारी गरेको हो। इन्टरपोलको सूचीअनुसार यी व्यक्तिहरूमाथि मानव तस्करी, आतंकवाद, ठगी, जबर्जस्ती करणी र हत्या जस्ता गम्भीर अपराधका आरोपहरू रहेका छन्।
यो सूचीमा रहेका ४४ वर्षीय उमेश सापकोटालाई अमेरिकाले गम्भीर यौन दुराचारको आरोपमा खोजी गरिरहेको छ। सन् १९८१ डिसेम्बर ५ मा जन्मिएका सापकोटाको उचाइ १.५५ देखि १.६० मिटर र तौल ६१ देखि ७८ केजीको बीचमा रहेको उल्लेख छ। अंग्रेजी र नेपाली भाषा बोल्ने सापकोटाको एउटा मुख्य शारीरिक पहिचान भनेको उनको एउटा तिघ्राको पछाडिपट्टि ठुलो कोठी रहेको छ। उनी अमेरिकाबाट भागेर नेपालमा नै बसिरहेको श्रोतको दावी छ ।
यसैगरी पूर्वी अफ्रिकी मुलुक केन्याले दुई जना नेपाली पुरुषहरूलाई मानव तस्करी र अध्यागमन कानुन उल्लंघनको गम्भीर आरोपमा खोजी गरिरहेको छ। ४१ वर्षीय विक्रान्त थापा र ५३ वर्षीय वीरबहादुर मगरमाथि केन्यामा मानव तस्करी गरेको, नक्कली राहदानी तथा यात्रा अनुमति पत्र बनाएको, अध्यागमन कानुनविपरीत विना अनुमति काम गरेको र अवैध रूपमा केन्यामा बसेको जस्ता समान ६ वटा मुद्दाहरू दर्ता छन्। वीरबहादुर मगर अंग्रेजी, हिन्दी र नेपाली तीनवटै भाषामा पोख्त रहेको इन्टरपोलको विवरणमा उल्लेख छ।
बाँकी १२ जना नेपाली नागरिकहरूलाई भने छिमेकी मुलुक भारतका विभिन्न सुरक्षा निकायहरूले खोजी गरिरहेका छन्, जसमा आतंकवाद र नक्कली नोटको कारोबार जस्ता देशकै सुरक्षासँग जोडिएका गम्भीर मुद्दाहरू समेत छन्। नेपालको बारा जिल्ला कलैयाका ४१ वर्षीय नूर मोहम्मद अन्सारीलाई भारतले आतंकवादी गतिविधि, आपराधिक षड्यन्त्र र नक्कली भारतीय रुपैयाँको उत्पादन तथा ओसारपसार गरेको आरोपमा खोजी गरिरहेको छ। अरबी, उर्दू र हिन्दी भाषा बोल्ने अन्सारीको उचाइ १.७२ मिटर र तौल ६५ केजी रहेको छ।
भारतले अन्य तीन नेपालीहरूलाई हत्याको अभियोगमा खोजी गरिरहेको छ। ४८ वर्षीय सूर्य बिनबहादुर तामाङमाथि हत्या, डकैती र आपराधिक षड्यन्त्रको मुद्दा छ, जसको दाहिने नाकको छेउमा कोठी रहेको छ। त्यस्तै ४४ वर्षीय भिमे दमाई र ४७ वर्षीय थुलराम बहादुर पनि भारतमा हत्याकै मुद्दामा फरार सूचीमा छन्। अर्कातर्फ, राजेश बहादुर (३७), प्रेम सिंह (३९), र रमेश बहादुर (३२) लाई भारतको दक्षिणी क्षेत्रमा रातिको समयमा घर फुटाई चोरी र डकैती गरेको आरोप लागेको छ। यी तीनै जना नेपाली र हिन्दीका साथै तमिल भाषा समेत बोल्न सक्छन्।
बाँकी रहेका पाँच जना नेपालीहरू भने संगठित रूपमा चोरी, घरेलु डकैती र आपराधिक षड्यन्त्रको एउटै सञ्जालमा संलग्न रहेको आरोपमा भारतद्वारा खोजिएका छन्। यसरी खोजिनेहरूमा ४३ वर्षीया महिला चित्रा इन्द्रबहादुर साउदसहित ४२ वर्षीय शिवराज फूलचन्द शर्मा, ५८ वर्षीय राजबहादुर डोलबहादुर शाही, ४६ वर्षीय खुमराज थापा र ४४ वर्षीय नान्नु मगर रहेका छन्। यी सबै अभियुक्तहरू हिन्दी र नेपाली भाषा बोल्दछन् र यिनीहरूको कपाल तथा आँखाको रङ कालो रहेको छ। इन्टरपोलले यी व्यक्तिहरू फेला परेमा तुरुन्तै स्थानीय प्रहरी वा इन्टरपोलको सचिवालयमा खबर गर्न विश्वभरका नागरिकहरूलाई आग्रह गरेको छ।
सुरक्षा क्षेत्रका जानकारहरूका अनुसार नेपालले ‘मोस्ट वान्टेड’ को सूचीमा राखेका व्यक्तिहरू विदेशमा खुलेआम घुमिरहेका पाइन्छन् भने विदेशमा अपराध गरेर मोस्ट वान्टेडमा परेका व्यक्तिहरू समेत नेपालभित्रै खुल्ला रूपमा घुमिरहेको तथ्यहरू बाहिर आउने गरेका छन्। अमेरिकाले मोस्ट वान्टेडको सूचीमा राखेका व्यक्ति नेपालमा खुलेआम घुमेको घटना यसको एउटा बलियो उदाहरण हो। यसका साथै, विदेशी मुलुकमा सुरक्षित रूपमा बसेर नेपालभित्र आपराधिक क्रियाकलाप सञ्चालन गर्ने र गराउने प्रवृत्ति र घटनाहरू पनि पछिल्लो समय निकै बढिरहेका छन्।
विदेशमा अपराध गरेर नेपालमा आई लुकेका नेपाली नागरिकहरूलाई सम्बन्धित देशमा सुपुर्दगी गर्ने वा पठाउने सन्दर्भमा भने कानुनी जटिलताहरू रहेका छन्। नेपाल प्रहरीका अनुसार मानव अधिकारको विश्वव्यापी घोषणापत्रका साथै अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूमा पनि यससम्बन्धी स्पष्ट व्यवस्थाहरू छन्। नेपालको संविधानमा देश निकाला विरुद्धको हकलाई मौलिक अधिकारभित्र राखिएको छ, जसअनुसार नेपालले आफ्ना नागरिकलाई अन्य देशमा सजिलै सुम्पने प्रावधान छैन।
नेपाल प्रहरीका अनुसार यदि कुनै पनि नेपाली नागरिकले विदेशमा अपराध गरेर नेपालमै लुकिछिपी बसेको छ भने, ऊ नेपालकै नागरिक भएका कारण उसलाई सीधै विदेश पठाउन सक्ने अवस्था रहँदैन। तर, उसले विदेशमा बसेर जे-जस्तो कसुर गरेको हो, त्यसको सम्बन्धमा नेपालको समान कानुन (इक्विभ्यालेन्ट ल) अनुरुपको कानुनी व्यवस्थाका आधारमा उजुरी परेमा कारबाही अगाडि बढाउन सकिन्छ।
यस्ता घटनामा कूटनीतिक माध्यम (डिप्लोम्याटिक च्यानल) बाट उजुरी वा अनुरोध प्राप्त भएर यहाँको अदालतले समेत कारबाही गर्नुपर्ने उपयुक्त आधार र अवस्था देखेमा सोही कसुरमा नेपालकै कानुनबमोजिम कारबाही गर्न सक्ने कानुनी व्यवस्था रहेको नेपाल प्रहरीले स्पष्ट पारेको छ।