अमेरिका पठाइदिन्छु भनेर १० लाख ठगी गर्ने पक्राउ



प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार

अमेरिका पठाइदिन्छु भनेर १० लाख ठगी गर्ने पक्राउ

अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ३ की तुलसा मगर रहेकी छन् । उनले अमेरिकामा आकर्षक रोजगारीको प्रलोभन देखाएर पीडितबाट १० लाख रुपैयाँ लिई फरार भएकी थिइन् ।

विशेष सुराकीका आधारमा उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको हो । उनीसहित वैदेशिक रोजगारीको प्रलोभन देखाएर ९७ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा अन्य पाँच जना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११ का प्रवीण श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका मध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जनाबाट ३९ लाख ५८ हजार, आशिषले न्युजिल्यान्ड पठाइदिने भनेर तीन जनाबाट १३ लाख, लोकबहादुरले बेलायत पठाइदिन्छु भनेर एक जनाबाट १९ लाख, कृष्णप्रसादले दुबईमा राम्रो जागिरको अवसर छ भनेर एक जनाबाट १० लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भनेर एक जनाबाट छ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको र कसुर अनुसारको कारबाही हुने प्रहरीको भनाइ छ ।





Source link

Leave a Comment