अमेरिकाले नेपाल सरकारसँगको एमसीसी परियोजना सहयोग ५० मिलियन डलर बढाउने



प्रकाशित मिति : पुस ९, २०८१ मंगलबार

white concrete building under clear blue sky

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले नेपाल सरकारसँगको विद्यमान मिलेनियम च्यालेन्ज कम्प्याक्ट अन्तर्गत आर्थिक सहयोग बढाउने आफ्नो लक्ष्यबारे अमेरिकी संसदमा आधिकारिक रूपमा सूचित गरेको छ। प्रस्तावित बृद्धिले अनुमानित कोषको अन्तरलाई सम्बोधन गर्ने अर्थात् बजेट अभाव पूर्ति गर्ने र कम्प्याक्टका उद्देश्यहरूको सफल उपलब्धि सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

एमसीसीका कंग्रेसनल एण्ड पब्लिक अफेयर्स उपाध्यक्ष आयशा हाउसले हस्ताक्षर गरेको पत्रमा कम्प्याक्टमा उल्लिखित लक्ष्यहरू पूरा गर्न नेपाललाई सहयोग गर्न थप स्रोतसाधनको आवश्यकता रहेको सूचनामा उल्लेख गरिएको छ । यसमा महत्वपूर्ण पूर्वाधार परियोजनाहरू बृद्धि गर्ने र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने समावेश छ।

पारदर्शिता र पहुँच सुनिश्चित गर्दै कम्प्याक्टमा संशोधन र यससँगको औचित्य फेडरल रजिष्ट्रर र एमसीसीको वेबसाइट मार्फत सार्वजनिक रूपमा उपलब्ध गराइने एमसीसीले जनाएको छ। सहायता वृद्धि जनवरी २ पछाडि प्रभावकारी हुने जनाइएको छ ।

प्रस्तावित वृद्धि वा बृहत् एमसीसी गतिविधिहरूबारे छलफल गर्न अमेरिकी संसदका सरोकारवालाहरूलाई आवश्यक भएमा एमसीसीको सम्पर्क बिन्दु ब्रायन फोर्नीलाई सम्पर्क गर्न सुचित गरिएको छ ।

अमेरिकाले नेपाल सरकारसँगको एमसीसी परियोजना सहयोग ५० मिलियन डलर बढाउने

२०१७ मा हस्ताक्षर गरिएको नेपाल कम्प्याक्टको प्रारम्भिक बजेट ५०० मिलियन डलर थियो। यो विद्युत् प्रसारण परियोजना र सडक मर्मतसम्भार परियोजना जस्ता मुख्य पहलहरूमा केन्द्रित छ । यी परियोजनाहरूले नेपालको विद्युत् सञ्जाललाई सुदृढ गर्दै जलविद्युत् क्षमता उपयोग गर्न र मुख्य सडक सञ्जालको गुणस्तर कायम राख्न मद्दत पुर्‍याउने एमसीसीको विश्वास छ । कम्प्याक्ट २०२३ अगस्ट ३० मा कार्यान्वयनमा आएको थियो तर बढ्दो लागतका कारण थप रकमको आवश्यकता देखिएको छ।

थप गरिने ५० मिलियन डलर विद्युत् प्रसारण परियोजनाअन्तर्गत प्रसारण लाइन गतिविधिका लागि प्रयोग हुनेछ। २०२३ मा यस परियोजनाका लागि प्राप्त आर्थिक प्रस्तावहरू उपलब्ध बजेटभन्दा बढी भएकोले पुनः प्रस्ताव आह्वान गर्नुपरेको थियो।

थप रकमले कम्प्याक्टको पूर्ण दायरालाई सुरक्षित राख्नका लागि समयमै सम्झौता गर्न र निर्माणको क्रममा आउने लागत परिवर्तनलाई समायोजन गर्न यो रकम उपयोग हुने एमसीसीले जनाएको छ । त्यस्तै अमेरिका र नेपाल साझेदारी सुदृढ पार्नका लागि समेत मद्दत गर्ने एमसीसीको अपेक्षा छ । नेपालजस्तो न्यून आय भएका देशहरूका लागि आवश्यक नभएपनि नेपालले २०२३ मा एमसीसीका लागि आफ्ना योगदानहरू १३० मिलियन डलरबाट १९७ मिलियन डलरमा वृद्धि गरेको छ ।

अमेरिकाले नेपाल सरकारसँगको एमसीसी परियोजना सहयोग ५० मिलियन डलर बढाउने

उच्च प्रतिफल दिने परियोजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न यस सहयोगले सकारात्मक सन्देश प्रवाह गर्दै महत्वपूर्ण क्षेत्रमा अमेरिकाको विकास दृष्टिकोणलाई उजागर गर्ने एमसीसीको भनाई छ । थप गरिएको ५० मिलियन डलरसँगै नेपाल कम्प्याक्टको कुल एमसीसी योगदान ५५० मिलियन डलर पुग्नेछ भने नेपाल सरकारले १९७ मिलियन डलर योगदान गरेको छ। कार्यक्रमको कुल बजेट ७४७ मिलियन डलर भएको छ।





Source link

Leave a Comment