अमेरिकाले कसरी भत्कायो लोकतान्त्रिक रक्षाकवच र विश्वलाई दियो ट्रम्प ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अलेक्जेन्डर ह्यामिल्टनले सन् १७८७ मा भनेका थिए, ‘इतिहासको सिकाइ के हो भने, व्यवस्था सिध्याउने मानिसहरू सुरुमा जनताको चाकडी गर्न आइपुग्छन्।’
  • लेविट्स्की र जिब्लाटको पुस्तक ‘हाउ डेमोक्रेसिज डाइ’ ले देखाएको छ कि लोकतन्त्र तब मात्रै बाँच्छ, जब लोकतान्त्रिक नेताहरू यसको रक्षाका लागि लड्छन्।
  • डोनाल्ड ट्रम्पले चुनाव जितेपछि लोकतान्त्रिक स्वतन्त्रताको घोर विरोधी भएर आफ्नो ड्युटी गरिरहेका एफबीआई प्रमुखलाई बर्खास्त गरिदिए।

सन् १७८७ मा अलेक्जेन्डर ह्यामिल्टनले भनेका थिए, ‘इतिहासको सिकाइ के हो भने, व्यवस्था सिध्याउने मानिसहरू सुरुमा जनताको चाकडी गर्न आइपुग्छन्। उनीहरू सुरुमा जनतालाई उचालेर लोकप्रिय (पपुलिस्ट) नेता बन्छन्, तर पछि गएर निरङ्कुश तानाशाह बनेर निस्कन्छन्।’

अर्को शब्दमा भन्नुपर्दा, तानाशाहहरू सधैँ सेनाको फौज लिएर मात्रै आउँदैनन्। जब उनीहरू टेलिभिजन स्टेसनहरू कब्जा गर्छन्, उनीहरूले त्यहाँ सेना होइन, आफ्ना अन्धभक्त र वफादार कार्यकर्ता पठाउँछन्। तिनै कार्यकर्ताले ‘फेक न्युज’ को अन्त्य गर्ने वाचा बाँड्छन्।

उनीहरूले न्यायाधीशहरूलाई जेल हाल्नु पर्दैन; केवल आफ्ना खल्तीका मान्छेहरूले अदालत भर्नु र विपक्षीलाई सिध्याउने गरी संविधान संशोधन गरिदिनु नै पर्याप्त हुन्छ। उनीहरू लोकतान्त्रिक चुनाव नै जितेर आउँछन्, अनि त्यही लोकतन्त्रलाई तहसनहस पार्छन्।

निर्वाचित तानाशाहहरूमा यस्ता केही लक्षण हुन्छन्, जसलाई हामीले धेरै पहिल्यै चिन्न सक्नुपर्थ्यो। उनीहरू लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याउँछन्। सत्तामा पुग्न र टिकिरहन उनीहरू जे पनि गर्छन्, जतिसुकै झुट बोल्न पनि पछि पर्दैनन्। उनीहरू आफ्ना विरोधीहरूलाई हराउन मात्र चाहँदैनन्; बरु विपक्षीलाई र उनीहरूसँगै जोडिएको परिवर्तनको सम्भावनालाई नै निमिट्यान्न पार्न चाहन्छन्।

आफ्ना आक्रमण र हिंसालाई सही साबित गर्न उनीहरू ‘गृहयुद्ध’ कै जस्तो आक्रामक भाषा बोल्छन्। जब उनीहरूका समर्थकहरू हिंसामा उत्रिन्छन्, उनीहरू मौन समर्थन जनाउँछन् वा आँखा झिम्क्याएर उक्साउँछन्। जब विरोधीहरूले उनीहरूको आलोचना गर्छन्, उनीहरूको नजरमा ती आलोचकहरू लोकतान्त्रिक अधिकार प्रयोग गरिरहेका नागरिक हुँदैनन्, बरु देशद्रोह र मानहानि गरिरहेका ‘जनताका शत्रु’ हुन्छन्।

डोनाल्ड ट्रम्पले चुनाव जित्नुअघिसम्म मैले सायद ओर्बान (हङ्गेरी), एर्दोगान (टर्की), चाभेज (भेनेजुएला) वा पुटिन (रुस) को बारेमा मात्र यस्तो कुरा गरिरहेको हुन्थेँ। पाठकहरू पनि यस्तै सोचेर मख्ख पर्थे कि अधिनायकवादी तानाशाहहरू त दक्षिण अमेरिका वा पुराना सोभियत साम्राज्यजस्ता टाढाका देशहरूमा मात्रै हुन्छन्, जसले झुट बोल्छन् र चुनावमा धाँधली गर्छन्। जे भइरहेको छ, त्यो अन्त कतै भइरहेको छ र हाम्रो देशमा त्यस्तो हुन सक्दैन भन्ने भ्रम थियो।

लोकतन्त्र कसरी मर्छ भन्ने विषयमा भइरहेका पछिल्ला अध्ययनहरूमा स्टिभन लेविट्स्की र ड्यानियल जिब्लाटको पुस्तक ‘हाउ डेमोक्रेसिज डाइ’ को ठूलो योगदान छ। यसको सबैभन्दा सबल पक्ष भनेको, यसले ‘पश्चिमाहरू यस्ता लोकतान्त्रिक सङ्कटबाट मुक्त छन्’ भन्ने अहङ्कार लाई भत्काइदिएको छ। अमेरिकी (वा बेलायती) संस्कृतिमा हामीलाई यस्ता सङ्कटबाट जोगाउने कुनै जादुयी खोप छैन। हामीसँग केवल काम गर्ने केही पुराना तरिकाहरू छन्, जुन अहिले मक्किइसकेका छन्।

फिलिप रोथको चर्चित उपन्यास ‘द प्लट अगेन्स्ट अमेरिका’मा एउटा वैकल्पिक इतिहासको कल्पना गरिएको छ, जहाँ हिटलर समर्थक र पपुलिस्ट नेता चार्ल्स लिन्डबर्गले सन् १९४० को अमेरिकी राष्ट्रपतीय चुनाव जित्छन्। अमेरिकी संविधानले त्यो षड्यन्त्र केवल एउटा कथा मात्रै हो भनेर सुनिश्चित गर्न सकेको थिएन।

त्यस बेला लिन्डबर्ग मात्र होइन, ह्यु लङ, हेनरी फोर्ड र जर्ज वालेस जस्ता अतिवादीहरू पनि दाबेदार हुन सक्थे। तर, रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका सुझबुझ भएका ‘संस्थापन पक्ष’ ले उनीहरूलाई राष्ट्रिय चुनावको टिकट नै दिँदैनथे।

सोच्नुहोस् त, एक्काइसौँ शताब्दीमा बन्द कोठाभित्र हुने ती राजनीतिक दाउपेचहरू कति अलोकतान्त्रिक देखिन्थे होलान् ! चुरोटको धुवाँ उडिरहेका कोठामा बसेका केही सम्भ्रान्त नेताहरूले जनताको छनोट गर्ने अधिकार नै खोसिरहेका थिए।

यस्तो ‘एलिटिज्म’ (कुलीनतन्त्र) को बचाउ कसले पो गर्छ र? तर इतिहास साक्षी छ, अहिलेको ‘ओपन प्राइमरी’ (खुला आन्तरिक चुनाव) प्रणालीले पार्टीका पाका नेताहरूलाई सन्काहा र खतरनाक व्यक्तिहरू रोक्नबाट वञ्चित गरिदिएको छ । त्यसैले गर्दा रिपब्लिकन पार्टीका साधारण सदस्यहरूले आफ्नै पार्टीको ‘एलिट’ वर्गलाई पन्छाउँदै अमेरिका र सिङ्गो विश्वलाई डोनाल्ड ट्रम्प सुम्पिने मौका पाए।

लेविट्स्की र जिब्लाटले जोड दिएझैँ, लोकतन्त्र तब मात्रै बाँच्छ, जब लोकतान्त्रिक नेताहरू यसको रक्षाका लागि लड्छन्। उनीहरूले पुस्तकमा मैले पहिले कहिल्यै नसुनेका केही प्रेरणादायी कथाहरू उल्लेख गरेका छन्।

जस्तै: दुई विश्वयुद्धको बीचमा बेल्जियम र फिनल्यान्डका अनुदारवादी (कन्जरभेटिभ) र क्याथोलिक राजनीतिज्ञहरूले आफ्ना परम्परागत वामपन्थी विरोधीहरूसँग लड्नुको साटो फासीवादीहरूविरुद्ध मोर्चा कसेका थिए। ‘आफ्नै पक्ष’ विरुद्ध उभिने यस्तो साहस इतिहासका पानामा मात्र सीमित छैन।

फ्रान्सका नेता फ्रान्स्वा फिलोनले वामपन्थी र दक्षिणपन्थीबीचको पर्खालभन्दा लोकतन्त्रको रक्षा ठूलो हो भन्ने बुझे। त्यसैले उनले फ्रान्सेली कन्जरभेटिभहरूलाई अतिवादी मारिन ले पेनको सट्टा मध्यमार्गी इमानुएल म्याक्रोनलाई भोट हाल्न आह्वान गरेका थिए।

‘अतिवादले फ्रान्समा दुःख र विभाजन मात्र ल्याउँछ’ भन्ने फिलोनको चेतावनीले त्यहाँको अतिवादी पार्टी ‘फ्रन्ट नेसनल’ लाई हराउन मद्दत गर्‍यो। तर यसका लागि ठूलो हिम्मत चाहिन्थ्यो।

यसको गम्भीरता बुझ्न एकपटक बेलायतको राजनीतिलाई सम्झिनुहोस् त! यदि लेबर पार्टीका नेताहरूले आफ्ना समर्थकलाई ‘जेरेमी कोर्बिनलाई रोक्न कन्जरभेटिभलाई भोट देऊ’ भने वा कन्जरभेटिभ नेताहरूले ‘बोरिस जोन्सन वा रिस–मोगजस्ता ढोँगीलाई रोक्न लेबर पार्टीलाई भोट देऊ’ भनेर आह्वान गरे भने यहाँ कस्तो तहल्का मच्चिएला?

तर, अमेरिकी कन्जरभेटिभ (रिपब्लिकन) हरूसँग त्यस्तो साहस देखिएन। ट्रम्पले पार्टीको टिकट पाइसकेपछि उनलाई रोक्ने एक मात्र उपाय भनेको हिलारी क्लिन्टनलाई समर्थन गर्नु थियो।

सुरुमा हरेक वरिष्ठ रिपब्लिकन नेताले ट्रम्पको विरोध गरेका थिए, किनकि उनमा एउटा निरङ्कुश शासकका सबै गुण विद्यमान थिए। उनले ‘गृहयुद्ध’ को जस्तो भाषा बोले: क्लिन्टन उनका लागि केवल चुनावकी प्रतिस्पर्धी मात्र थिइनन्, एक ‘अपराधी’ थिइन्।

ट्रम्प लोकतान्त्रिक स्वतन्त्रताको घोर विरोधी थिए। उनले सार्वजनिक व्यक्तिहरूलाई मानहानिको मुद्दा हाल्न सहज बनाउने (प्रेसलाई तर्साउने) कानुन ल्याउने चाहना व्यक्त गरेका थिए। यो त्यस्तै कदम थियो, जस्तो आज इक्वेडरमा राफेल कोरियाको शासनले गरिरहेको छ, वा जसरी अमेरिकी सर्वोच्च अदालतले रोक लगाउनुअघि अमेरिकाका दक्षिणी राज्यका श्वेत–सर्वोच्चतावादी प्रहरी अधिकारीहरूले नागरिक अधिकार आन्दोलनलाई समर्थन गर्ने सम्पादकहरूलाई भारी जरिबानाको धम्की दिएर तर्साउने गर्थे।

ट्रम्पले आफ्ना चुनावी र्‍यालीहरूमा खुलेआम हिंसा भड्काए। ‘यदि तिमीले कसैलाई गोलभेँडा हान्न ठिक्क परिरहेको देख्यौ भने,’ उनले आफ्ना समर्थकहरूलाई उक्साउँदै भने, ‘त्यसलाई कुटेर हैरान पारिदेऊ, हुन्न?’ सत्तामा आएपछि उनले आफ्नो ड्युटी गरिरहेका एफबीआईका प्रमुखलाई नै बर्खास्त गरिदिए; ठ्याक्कै त्यसरी नै जसरी पुटिन, ओर्बान, चाभेज र एर्दोगानले आफ्नो नियन्त्रणमा नबस्ने सरकारी अधिकारीहरूलाई फाल्ने गरेका छन्।

खराबी सानासाना कुराहरूमा पनि लुकेको हुन्छ र साना अश्लीलताहरू ठूला अपराधजत्तिकै अर्थपूर्ण हुन्छन्। कस्तो खालको नेता, कस्तो खालको मानिसले एउटी महिला पत्रकारको बारेमा यसरी बोल्न सक्छ कि उनी ट्रम्पलाई भेट्न ‘नयाँ वर्षको अघिल्लो साँझ आइन्, र मसँगै बस्न जिद्दी गरिन्। उनको अनुहारका फेसलिफ्ट (प्लास्टिक सर्जरी) बाट नराम्ररी रगत बगिरहेको थियो। मैले नाइँ भनेँ!’

तपाईं यस्तो मानिसलाई सत्ताको हजार माइल वरपर पनि देख्न चाहनुहुन्न।

तर, जब समय आयो, तब म्याकेन, म्याककोनेल, रुबियो, रायन र क्रुज जस्ता प्रत्येक बहालवाला रिपब्लिकन नेताले देशभन्दा पार्टीलाई माथि राखे। स्वतन्त्र संस्थाहरूका लागि ट्रम्प कति ठूलो खतरा हुन् भन्ने राम्ररी थाहा हुँदाहुँदै पनि उनीहरूले त्यही पपुलिस्ट नेतालाई समर्थन गरे।

पुस्तकका लेखकहरू विगतको मोह (नोस्टाल्जिया) बाट पूर्ण रूपले मुक्त छन्। उनीहरूले एउटा तीतो यथार्थ औँल्याएका छन्: अमेरिकी गृहयुद्धपछिको ‘मेलमिलाप’ वास्तवमा उत्तरी राज्यहरूले दक्षिणी राज्यहरूलाई अश्वेत (अफ्रिकी–अमेरिकी) हरूको भोट हाल्ने अधिकार खोस्न दिएको छुटमा टिकेको थियो। जबसम्म दक्षिणका श्वेत–सर्वोच्चतावादी डेमोक्र्याटहरू र सम्भ्रान्त रिपब्लिकनहरू मिलेर बसेका थिए, तबसम्म अमेरिकी राजनीतिमा ‘शिष्टता’ र ‘दुई दलीय सहमति’ कायम राख्न सजिलो थियो।

तर, सन् १९६० को दशकमा नागरिक अधिकार आन्दोलनले ल्याएको जागरणविरुद्ध उठेको आक्रोश नै अमेरिकी दक्षिणपन्थी राजनीतिको पतन बुझ्ने सुरुवाती बिन्दु हुन सक्छ।

एउटा प्रसङ्ग, जसमा लेविट्स्की र जिब्लाटले अझै विस्तृत व्याख्या गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ, त्यो हो- उनीहरूले भनेका छन्, ‘इतिहासमा यस्तो सफल बहुजातीय लोकतन्त्रको कुनै उदाहरण छैन, जहाँ त्यहाँका मूलबासी जनसङ्ख्या नै अल्पमतमा परेको होस्।’

अमेरिकामा गोरा प्रोटेस्टेन्टहरू अहिले नै धार्मिक रूपमा अल्पमतमा परिसकेका छन्। निकट भविष्यमै गोराहरू जातीय रूपमा पनि अल्पमतमा पर्नेछन्। आफ्नो हैसियत र दबदबा गुम्दै गएकोमा उनीहरूमा जुन आक्रोश छ, त्यसैले रिपब्लिकन पार्टीलाई ‘ट्रम्प ब्रान्ड’ को फ्रेन्चाइजीमा परिणत गरिदिन सक्छ।

त्यसपछि अश्वेत र आप्रवासीहरूको भोटलाई जसरी पनि दबाउने रिपब्लिकन रणनीतिले उनीहरूलाई सत्तामा टिकिरहन मद्दत गर्न सक्छ। आखिर, पुटिन र ओर्बानका लागि चुनावमा धाँधली गर्ने उपायले राम्रैसँग काम गरिरहेकै छ।

ट्रम्पलाई रूससँगको कनेक्सनबारेको अनुसन्धान रोक्न नदिने रिपब्लिकन पार्टीको अडान र राष्ट्रपतिको रूपमा ट्रम्पको घट्दो लोकप्रियतामा तपाईंले आशाको किरण देख्न सक्नुहुन्छ। सायद अमेरिका फेरि सामान्य अवस्थामा फर्किनेछ। तर यो उत्कृष्ट पुस्तकका लेखकहरू- जसले प्राज्ञिक गहिराइ र सहजता, चेतावनी र संयमको गज्जब सन्तुलन मिलाएका छन्- ले भन्न सक्ने पहिलो कुरा यही हुनेछ: यसको कुनै ग्यारेन्टी छैन।

(८ वर्षअघि गार्जियनमा प्रकाशित सामग्रीको भावानुवाद)





Source link

Leave a Comment