प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार

तस्बिर: ओलिभिएर डार्बोनभिल / अनस्प्ल्यास
स्विट्जरल्यान्डले मध्यपूर्वमा भइरहेको सैन्य कारबाहीसँग सम्बन्धित दुईवटा अमेरिकी उडानलाई आफ्नो आकाशमार्ग प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको छ।
सरकारका अनुसार, देशको तटस्थता सम्बन्धी कानुनले द्वन्द्वमा संलग्न पक्षहरूलाई सैन्य उद्देश्यका लागि गरिने उडानमा अनुमति दिँदैन। यद्यपि, स्विस सरकारले अन्य तीनवटा उडानलाई भने अनुमति दिएको जनाएको छ। तीमध्ये एउटा मर्मतसम्भारका लागि र दुईवटा यातायात विमानका लागि अनुमति दिइएको स्विट्जरल्यान्ड सरकारले स्पष्ट पारेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल कुनै पनि सम्झौता हुने सम्भावना नरहेको बताएका थिए । ट्रम्पका अनुसार इरान सम्झौता गर्न इच्छुक देखिए पनि उसका प्रस्तावित सर्तहरू पर्याप्त नभएकाले अमेरिका अहिले सम्झौता गर्ने पक्षमा छैन।
“इरान सम्झौता गर्न चाहन्छ, तर म अहिले त्यसका लागि तयार छैन किनकि सर्तहरू अझै राम्रा छैनन्,” ट्रम्पले भने। उनले सम्भावित सम्झौता “धेरै बलियो र ठोस” हुनुपर्ने पनि बताएका छन्।
सम्झौताका सर्तहरू के हुन सक्छन् भन्ने प्रश्नमा भने ट्रम्पले कुनै विवरण दिन अस्वीकार गरे। उनले भने, “म त्यो कुरा अहिले भन्न चाहन्न।”
उता, लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको एक स्वास्थ्य केन्द्रमा इजरायलले गरेको आक्रमणमा १२ जना स्वास्थ्यकर्मी मारिएका छन्। मृतकहरूमा चिकित्सक र नर्सहरू समेत रहेका छन्।
यस घटनाप्रति विश्व स्वास्थ्य सङ्गठन का प्रमुखले कडा शब्दमा निन्दा गरेका छन्। उनले भने, “यी घटनाहरूले लेबनानको स्वास्थ्य प्रणालीमाथि भइरहेको आक्रमणलाई दर्शाउँछन्। जनताका लागि स्वास्थ्य सेवा अपरिहार्य छ र स्वास्थ्यकर्मीहरू सधैं सुरक्षित रहनुपर्छ।”
इजरायली सेनाले भने दक्षिणी लेबनानको बोर्ज क्षेत्रमा भएको उक्त आक्रमणबारे आफूहरू अवगत रहेको र यसबारे थप जानकारी लिइरहेको बताएको छ।