अमेरिकामा विमान ठुलो दुर्घटनाबाट जोगियो, चालकको उच्च प्रशंसा



प्रकाशित मिति : १४ असार २०८३, आइतबार

अमेरिकामा विमान ठुलो दुर्घटनाबाट जोगियो, चालकको उच्च प्रशंसा

openverse

अमेरिकामा एउटा विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ। अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान ठुलो दुर्घटना हुनबाट जोगिएको हो।

बर्मुडा जान लागेको अमेरिकी एयरलाइन्सको यात्रुवाहक विमानले उडान भर्ने अन्तिम क्षणमा आकस्मिक रूपमा टेकअफ रद्द गरेपछि दुर्घटना टरेको हो। सोही रनवेमा एउटा व्यावसायिक निजी जेट प्रवेश गरेपछि टेकअफ रद्द गर्नु परेको थियो।

विमानमा कम्तीमा १३२ जना यात्रु सवार थिए। टेकअफका लागि अनुमति पाइसकेको अवस्था भए पनि धावनमार्गमा अर्को जहाज देखेपछि पाइलटले उडान रोकेका थिए। ‘लाइभ एटीसी डट कम’ को अडियोमा घटना हुँदा बिजनेस जेटका पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीच तनावपूर्ण भनाभन भएको सुनिन्छ।

नियन्त्रण कक्षका अधिकारीले पाइलटलाई, “तिमीले सक्रिय रनवे पार गरेका छौ,” भन्दै सचेत गराएका थिए। त्यसको जवाफमा निजी जेटका चालकले, “तिमीहरूले नै मलाई रनवे पार गर्न अनुमति दिएका थियौ,” भनेका थिए।

तर नियन्त्रण कक्षले उक्त निर्देशन अर्को विमान ‘अमेरिजेट ४६१’ लाई दिइएको स्पष्ट पारेको थियो। घटनाका क्रममा दुई विमानबीचको दूरी एक तिहाइ माइल (करिब ५३० मिटर) मात्र बाँकी रहेको बताइएको छ।

अमेरिकामा विमान ठुलो दुर्घटनाबाट जोगियो, चालकको उच्च प्रशंसा

घटनामा संलग्न निजी जेट ‘नेटजेट्स फ्लाइट ईजेए४३४’ रहेको र त्यसको सञ्चालन तेस्रो पक्षको मर्मतसम्भार सेवा प्रदायकमार्फत भइरहेको नेटजेट्स कम्पनीले जनाएको छ।

अमेरिकी एयरलाइन्सले आफ्ना चालक दलको उच्च सतर्कताका कारण सम्भावित दुर्घटना टरेको भन्दै उनीहरूको प्रशंसा गरेको छ। टेकअफ रद्द गरिएपछि केही समय ढिलो गरी उक्त विमान सुरक्षित रूपमा बर्मुडातर्फ प्रस्थान गरेको कम्पनीका प्रवक्ताले जानकारी दिएका छन्।

घटनाबारे अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले अनुसन्धान गरिरहेको छ। पछिल्ला केही दिनयता अमेरिकामा हवाई सुरक्षासम्बन्धी घटनाहरू लगातार भइरहेका छन्। शुक्रबार पनि न्यू जर्सीमा अवतरण गर्न लागेको युनाइटेड एयरलाइन्सको एउटा विमान ड्रोनसँग ठोक्किनबाट जोगिएको थियो।





Source link

Leave a Comment