प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार

अमेरिकामा आफ्नी श्रीमती समुद्रमा बेपत्ता भएपछि एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकी नागरिक ब्रायन हुकरलाई बहामासमा श्रीमती हराएको घटनाको अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको हो।
उनका वकिलका अनुसार अनुसन्धानकर्ताहरूले घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्। प्रहरीका अनुसार उनकी ५५ वर्षीया श्रीमती लिनेट हुकर डुङ्गाबाट समुद्रमा खसेर बेपत्ता भएकी हुन्।
ब्रायनले तीव्र हावा र समुद्री लहरका कारण उनी आफूबाट अलग्गिएको दाबी गर्दै आएका छन्। हालसम्म ब्रायनमाथि औपचारिक रूपमा कुनै आरोप भने लगाइएको छैन र उनकी श्रीमती पनि फेला परेकी छैनन्। उनका वकिलका अनुसार ब्रायनले कुनै पनि गलत कार्यमा आफ्नो संलग्नता स्वीकार गरेका छैनन्।
प्रहरी अधिकारीहरूका अनुसार केही शङ्कास्पद आधार भेटिएकाले उनलाई थप सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। तर, वकिलले भने सोधपुछका क्रममा डुङ्गा वा उपकरणसँग सम्बन्धित प्रमाणभन्दा दम्पतीको व्यक्तिगत जीवनबारे बढी प्रश्न सोधिएको बताएकी छन्। वकिलका अनुसार ब्रायन हाल अत्यन्त दुःखी र मानसिक रूपमा कमजोर अवस्थामा छन्।
यता लिनेटकी छोरी कार्ली एयल्सवर्थले भने आफ्नी आमा बेपत्ता भएको घटनाप्रति शङ्का व्यक्त गरेकी छन्। ब्रायनको बयानले धेरै प्रश्न उब्जाएको बताउँदै उनले भनिन्, “मेरी आमा कसरी हराउन सक्नुहुन्छ? म सत्य जान्न चाहन्छु।”
परिवारका अन्य सदस्यहरू पनि घटनाबारे स्पष्ट जानकारीको प्रतीक्षामा छन्। लिनेटकी आमा डार्लिन ह्यामलेटले आफ्नी छोरी पौडी खेल्न जान्ने भएकाले उनी जीवितै हुने आशा व्यक्त गरेकी छन्।
प्रहरीका अनुसार यो दम्पती आफ्नो याट बाट फर्किँदै गर्दा एउटा सानो डुङ्गाबाट लिनेट समुद्रमा खसेकी थिइन्। ब्रायनले तीव्र समुद्री धारले उनलाई बगाएको र आफूले उनलाई अन्तिम पटक किनारतर्फ पौडिँदै गरेको देखेको दाबी गरेका छन्। यस घटनामा अमेरिकी तटरक्षक बलले पनि हवाई खोजी कार्यमा सहयोग गरेको थियो।