प्रकाशित मिति : १६ असार २०८३, मंगलबार

अमेरिकामा रहेको नेपाली दूतावास । फोटो: खसोखास
अमेरिकाको भर्जिनिया राज्यस्थित लाउडन काउन्टीको ‘वान लाउडन’ मा आगामी अक्टोबर ११, २०२६ मा आयोजना हुने ‘डीटी फेस्ट २०२६’ मा नेपाली दूतावासको औपचारिक सहभागिता रहने भएको छ।
नेपाली दूतावासमा भएको एक भेटवार्तापछि उक्त निर्णय गरिएको हो। बैठकमा ३ई इन्टरटेनमेन्टका प्रतिनिधिहरू सुरेश सापकोटा, प्रबिन भट्टराई र प्रयास भुसाल तथा कार्यवाहक राजदूत शरदराज आरण सहभागी थिए।
दक्षिण एसियाली समुदायका लागि महत्त्वपूर्ण सांस्कृतिक कार्यक्रमका रूपमा लिइने दशैं–तिहार महोत्सव ‘डीटी फेस्ट’ नेपाली परम्परा, सांस्कृतिक सम्पदा र सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ। आयोजकका अनुसार, यसले अमेरिकाभरिका नेपाली प्रवासी र नेपालप्रति रुचि राख्ने समुदायलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।
यस वर्षको महोत्सवमा विशेष लेआउट अवधारणा प्रस्तुत गरिनेछ, जसअन्तर्गत कार्यक्रम स्थलका विभिन्न क्षेत्रहरूलाई नेपालका प्रमुख हिमाल—अन्नपूर्ण, कञ्चनजङ्घा, मकालु र धवलागिरी—का नामबाट नामाकरण गरिनेछ।
उक्त योजना अन्तर्गत नेपाली दूतावासको स्टल प्रतिष्ठित “माउन्ट एभरेष्ट जोन”मा रहनेछ। दूतावासको यो विशेष प्याभिलियन सूचना तथा अन्तरक्रियाको केन्द्रका रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ, जहाँ कूटनीतिक प्रतिनिधिहरूले आगन्तुकसँग प्रत्यक्ष संवाद गर्ने, सांस्कृतिक सामग्री प्रदर्शन गर्ने र नेपालसम्बन्धी जानकारी प्रदान गर्नेछन्। साथै, प्रवासी नेपालीलाई दूतावासका सेवाबारे जानकारी दिने व्यवस्था पनि गरिनेछ।

बैठकका क्रममा कार्यवाहक राजदूत आरनले प्रवासी नेपालीसँग सहकार्य गर्दै स्वदेश र विदेशबीच दिगो सम्बन्ध मजबुत बनाउने आवश्यकता औंल्याए। उनले सांस्कृतिक कूटनीतिका माध्यमबाट समुदायसँगको सम्बन्ध थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, ३ई इन्टरटेनमेन्टका प्रतिनिधि सुरेश सापकोटाले यस्ता कार्यक्रमहरूमा नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सक्रिय र निरन्तर सहभागिता आवश्यक रहेको बताए। उनले अमेरिकामा जन्मिएका दोस्रो पुस्ताका नेपाली–अमेरिकीलाई आफ्नो सांस्कृतिक जरोसँग जोड्न ‘डीटी फेस्ट’ प्रभावकारी मञ्च हुने धारणा व्यक्त गरे।
आयोजकहरूले यस महोत्सवले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान प्रवर्द्धन गर्न र पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
