अमेरिकामा घर किन्न चाहने नेपालीका लागि आवश्यक वित्तीय तयारी



प्रकाशित मिति : ८ असार २०८३, सोमबार

अमेरिकामा घर किन्न चाहने नेपालीका लागि आवश्यक वित्तीय तयारी

अमेरिकामा बसोबास गर्ने धेरै नेपालीको ठूलो सपना आफ्नै घर किन्ने हुन्छ । तर, घर किन्नुअघि क्रेडिट स्कोर, ऋण र आम्दानीको अनुपात, डाउन पेमेन्ट, विभिन्न प्रकारका गृहकर्जा कार्यक्रम तथा लगानीसम्बन्धी विकल्पबारे स्पष्ट जानकारी हुनु आवश्यक हुन्छ । यही विषयमा केन्द्रित भएर खसोखासले अमेरिकामा आवास तथा व्यावसायिक कर्जासम्बन्धी क्षेत्रमा काम गर्दै आउनुभएका यम अधिकारीसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ सो कुराकानीको सम्पादित अंश ।

क्रेडिट स्कोरको महत्त्व कति हुन्छ ? धेरै नेपाली भर्खरै अमेरिका आउनुभएको हुन्छ । घर किन्न कति क्रेडिट स्कोर चाहिन्छ ? क्रेडिट स्कोर नभएका वा कम भएकाहरूले कसरी सुधार गर्न सक्छन् ?
घर किन्न वा अन्य ठूलो ऋण लिन चाहने व्यक्तिका लागि क्रेडिट स्कोरको निकै ठूलो महत्त्व हुन्छ । सामान्यतया ६५० जति वा त्यसभन्दा कम क्रेडिट स्कोर भएमा ऋण पाउन गाह्रो हुन सक्छ । तर, यो कुन प्रकारको ऋण कार्यक्रम हो भन्ने कुरामा पनि निर्भर गर्दछ । कतिपय अवस्थामा कम क्रेडिट स्कोर भएका व्यक्तिहरूलाई पनि ऋण स्वीकृत हुन सक्छ । उदाहरणका लागि एफएचए ऋण (फेडरल हाउजिङ एड्मिनिस्ट्रेसन ऋण) वा भीए ऋण (भेटेरान्स अफेयर्स ऋण)जस्ता कार्यक्रमहरूमा क्रेडिट स्कोर केही कम भए पनि मान्यता पाउने सम्भावना हुन्छ । तर, परम्परागत ऋण (कन्भेन्सनल ऋण) लिनुपरेको अवस्थामा भने क्रेडिट स्कोरको महत्त्व अझ बढी हुन्छ । यदि स्कोर ६५० भन्दा तल छ भने क्रेडिट स्कोरकै कारणले ऋण अस्वीकृत हुन सक्ने सम्भावना पनि रहन्छ ।

क्रेडिट स्कोर सुधार गर्ने विभिन्न उपायहरू पनि हुन्छन् । क्रेडिट स्कोर बढाउनका लागि क्रेडिट कार्ड प्रयोगको तरिका महत्त्वपूर्ण हुन्छ । विशेषगरी क्रेडिट कार्डको अधिकतम सीमा (लिमिट)मध्ये कति प्रतिशत प्रयोग गरिरहनुभएको छ भन्ने कुराले स्कोरमा प्रभाव पार्छ । यदि कसैले आफ्नो क्रेडिट लिमिटको करिब ८० प्रतिशतजति प्रयोग गरिरहेको छ भने क्रेडिट स्कोर घट्ने सम्भावना हुन्छ । तर, त्यही प्रयोगलाई घटाएर ३० प्रतिशत वा त्योभन्दा कममा ल्याउन सके क्रेडिट स्कोर बढ्न सुरु गर्न सक्छ । त्यसैगरी बाँकी रहेको रकम समयमै तिर्न (भुक्तानी गर्न) सके पनि स्कोर सुधार हुन्छ ।

यसका अतिरिक्त कुनै खराब ऋण (ब्याड डेब्ट) वा पुरानो बक्यौता ऋण भएमा त्यसले पनि क्रेडिट स्कोर घटाउने काम गर्छ । व्यक्तिको क्रेडिट योग्यता जति राम्रो हुन्छ त्यति नै राम्रो ब्याजदर (इन्टरस्ट रेट)मा ऋण पाउने सम्भावना बढ्छ । त्यसैले क्रेडिट स्कोर व्यवस्थापन गर्नु अत्यन्त महत्त्वपूर्ण विषय हो । यसबारे थप जानकारी वा क्रेडिट स्कोर सुधार गर्ने उपायहरूका लागि सम्पर्क गरेमा आवश्यक सल्लाह र सहयोग प्रदान गर्न सकिने बताइएको छ ।

त्यस्तै ऋण लिँदा ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण पक्ष भनेको ऋण र आम्दानीको अनुपात (डेब्ट–टु–इन्कम रेसियो– डीटीआई) हो । कुनै पनि व्यक्तिले ऋण लिनुअघि आफ्नो आम्दानीको तुलनामा कति ऋण भार छ भन्ने कुरा सन्तुलनमा राख्नु आवश्यक हुन्छ । यदि ऋणको मात्रा आम्दानीको तुलनामा धेरै भयो भने बैंक वा वित्तीय संस्थाले ऋण स्वीकृत गर्न हिच्किचाउन सक्छन् । त्यसैले ऋण लिनुअघि आफ्नो डीटीआई सन्तुलित राख्ने रणनीति अपनाउनु अत्यन्त आवश्यक मानिन्छ ।

अमेरिकामा घर किन्न चाहने नेपालीका लागि आवश्यक वित्तीय तयारी

ऋण लिनुअघि हामीले आफ्नो ऋण र आम्दानीको अनुपात कसरी सन्तुलनमा राख्ने ? कतिसम्म ऋण लिनु सुरक्षित मानिन्छ ?
ऋण लिनुअघि आफ्नो ऋण र आम्दानीको अनुपात कसरी सन्तुलनमा राख्ने र कति प्रतिशतसम्म ऋण लिनु सुरक्षित मानिन्छ भन्ने प्रश्न पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यस सम्बन्धमा फ्यानी मे र फ्रेडी म्याकजस्ता संस्थाहरूले निश्चित मार्गदर्शन (गाइडलाइन) तय गरेका हुन्छन् । सामान्यतया कुन प्रकारको ऋण कार्यक्रम हो भन्ने कुरामा निर्भर हुन्छ । उदाहरणका लागि यदि कन्भेन्सनल ऋण हो भने प्रायः डीटीआई अनुपात करिब ५० प्रतिशतभन्दा कम भएमा मात्र ऋण स्वीकृत हुने सम्भावना बढी हुन्छ ।

तर व्यवहारमा कहिलेकाहीं अप्रत्याशित अवस्थाहरू पनि आउन सक्छन् । त्यसैले ऋण लिँदा आफ्नो भुक्तानी गर्ने क्षमतालाई पनि गम्भीर रूपमा विचार गर्नुपर्छ । कतिपय व्यक्तिहरूको आम्दानीका स्रोतहरू फरक–फरक प्रकारका हुन सक्छन् । यस्तो अवस्थामा व्यक्तिगत रूपमा सरसल्लाह गरेर आफ्नो आय, खर्च र सम्भावनाको आधारमा निर्णय लिनु उपयुक्त हुन्छ । यसरी व्यक्तिगत रूपमा छलफल गरियो भने सही र यथार्थपरक सल्लाह दिन पनि सजिलो हुन्छ ।

यदि डीटीआई अनुपात अत्यन्तै उच्च भयो भने धेरैजसो अवस्थामा ऋण आवेदन अस्वीकृत हुन सक्छ । यद्यपि एफएचए ऋणका हकमा अधिकतम करिब ५७ प्रतिशतसम्मको डीटीआई अनुपातलाई पनि मान्यता दिन सकिने व्यवस्था केही अवस्थामा हुन्छ । तर, यो सबै व्यक्तिको परिस्थितिअनुसार फरक हुन सक्छ ।

कतिपय व्यक्तिहरूको भविष्यमा आम्दानी बढ्ने सम्भावना हुन्छ । जस्तै– नयाँ रोजगारी सुरु हुन लाग्नु, परिवारका सदस्यले राम्रो जागिर पाउनु वा आम्दानीका अन्य नयाँ स्रोतहरू थपिनु । यस्ता परिस्थितिहरूमा कहिलेकाहीं उच्च डीटीआई अनुपात भए पनि ऋण लिन सकिने सम्भावना रहन्छ । तर, यदि भविष्यमा आम्दानी बढ्ने सम्भावना कम छ भने सुरक्षित पक्षलाई ध्यानमा राख्दै ऋणको अनुपात कम राखेर अघि बढ्नु नै उचित मानिन्छ । यस्ता विषयमा व्यक्तिगत अवस्थाअनुसार सरसल्लाह गरेर उचित निर्णय लिन सकिन्छ ।

घर किन्दा २० प्रतिशत डाउन पेमेन्ट नै हुनुपर्छ भन्ने भ्रम छ । के कम डाउन पेमेन्टमा पनि घर किन्न सकिन्छ ? त्यसका फाइदा र बेफाइदा के–के हुन् ?
घर किन्दा अनिवार्य रूपमा २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ भन्ने धेरै मानिसमा भ्रम रहेको पाइन्छ । तर, वास्तवमा कम डाउन पेमेन्टमा पनि घर किन्न सकिने विभिन्न विकल्पहरू उपलब्ध छन् । कतिपय अवस्थामा करिब ३ प्रतिशतजति डाउन पेमेन्ट गरेर पनि घर किन्न सकिन्छ । यो व्यक्तिको पेसा, आम्दानीको सम्भावना र वित्तीय अवस्थाअनुसार फरक–फरक हुन सक्छ । उदाहरणका लागि चिकित्सकजस्ता पेसामा संलग्न केही व्यक्तिहरूका लागि शून्य प्रतिशत डाउन पेमेन्टमा पनि घर किन्न सक्ने व्यवस्था केही ऋण कार्यक्रमहरूमा हुन्छ । कारण के भने उनीहरूको हालको पेसा र भविष्यमा रेजिडेन्सीपछि हुने आम्दानीको सम्भावना राम्रो हुने भएकाले कम डाउन पेमेन्टमै घर किन्ने अवसर दिइन्छ ।

त्यस्तैगरी अन्य सामान्य रोजगारी गर्ने वा व्यवसाय गर्ने व्यक्तिहरूले पनि करिब ३ प्रतिशत वा एफएचए ऋणअन्तर्गत करिब ३.५ प्रतिशत डाउन पेमेन्ट गरेर घर किन्न सक्ने व्यवस्था हुन्छ । त्यसैले घर किन्न अनिवार्य रूपमा २० प्रतिशत डाउन पेमेन्ट नै आवश्यक हुन्छ भन्ने छैन । तर, यदि २० प्रतिशत डाउन पेमेन्ट गर्न सकियो भने एउटा फाइदा के हुन्छ भने प्राइभेट मोर्टगेज इन्स्योरेन्स तिर्नुपर्दैन । २० प्रतिशतभन्दा कम डाउन पेमेन्टमा भने यो बिमा अनिवार्य हुने भएकाले अतिरिक्त प्रिमियम तिर्नुपर्ने हुन्छ । त्यसैले २० प्रतिशत डाउन पेमेन्ट गर्न सकेमा यो अतिरिक्त खर्चबाट बच्न सकिन्छ । तर, आफ्नो घर किन्ने सपना पूरा गर्नका लागि धेरै अवस्थामा शून्य प्रतिशतदेखि ३ प्रतिशत वा ३.५ प्रतिशतसम्म डाउन पेमेन्टका विकल्पहरू पनि उपलब्ध हुन्छन् ।

धेरै नेपाली दाजुभाइ–दिदीबहिनीको आफ्नै व्यवसाय वा ठेक्का काम हुन्छ । कर विवरणमा कम आम्दानी देखिए पनि १२ महिनाको बैंक विवरण देखाएर कसरी ऋण लिन सकिन्छ ?
व्यवसाय गर्ने व्यक्तिहरू वा १०९९ आधारमा काम गर्ने व्यक्तिहरूका लागि पनि विशेष प्रकारका ऋण विकल्पहरू उपलब्ध छन् । धेरै व्यवसायीहरू वा स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिहरूले कर विवरण (ट्याक्स रिटर्न)मा कम आम्दानी देखाउने गरेका हुन्छन् । तर, त्यस्तो अवस्थामा पनि पछिल्ला १२ महिनाको बैंक स्टेटमेन्ट देखाएर ऋण लिन सकिने व्यवस्था केही कार्यक्रमहरूमा हुन्छ । यसलाई बैंक स्टेटमेन्ट ऋण भनेर चिनिन्छ ।

यदि कसैसँग करसम्बन्धी कागजात पूर्ण छैन भने नाफा–नोक्सान विवरणका आधारमा ऋण पाउने प्रक्रिया के हुन्छ ?
प्रमाणित सीपीएबाट प्राप्त प्रोफिट एन्ड लस स्टेटमेन्ट वा सीपीएको पत्रका आधारमा पनि ऋण लिन सकिने विकल्पहरू हुन्छन् । यसले व्यवसाय गर्ने व्यक्तिहरूलाई सहयोग पुग्छ । किनकि, ट्याक्स फाइल गर्दा आम्दानी कम देखिएको भए पनि वास्तविक रूपमा आम्दानीको क्षमता राम्रो छ भन्ने कुरा बैंक स्टेटमेन्ट वा प्रोफिट–लस विवरणमार्फत प्रमाणित गर्न सकिन्छ । यस्तो अवस्थामा व्यक्तिको वास्तविक आर्थिक क्षमता देखाउन सकिएमा आफूले चाहेको घर किन्नका लागि ऋण प्राप्त गर्ने सम्भावना पनि बढ्छ ।

आफ्नो व्यक्तिगत आम्दानी नदेखाई घरको भाडाबाट आउने पैसाका आधारमा मात्र घर किन्न सकिने डीएससीआर ऋणको बारेमा बताइदिनुस् न । यो नेपाली समुदायका लगानीकर्ताका लागि कत्तिको फाइदाजनक छ ?
व्यक्तिगत आम्दानी नदेखाई घरको भाडाबाट आउने आम्दानीकै आधारमा घर किन्न सकिने डीएससीआर ऋणबारे पनि धेरै चासो देखिएको छ । विशेषगरी लगानीका उद्देश्यले घर किन्ने व्यक्तिहरूका लागि यो एक महत्त्वपूर्ण विकल्प मानिन्छ । यसमा ऋण स्वीकृत गर्दा व्यक्तिको व्यक्तिगत तलब वा आम्दानीभन्दा पनि उक्त घरबाट आउने सम्भावित भाडा आम्दानीलाई मुख्य आधार बनाइन्छ ।

यस सन्दर्भमा चर्चित पुस्तक ‘रिच ड्याट पुअर ड्याड’का लेखक रोबर्ट कियोसाकीले पनि ठूलो मात्रामा ऋण लिएर घरजग्गामा लगानी गरेको उदाहरण दिइन्छ । उहाँले करिब चार अर्ब डलरबराबरको ऋण लिएर विभिन्न घरहरूमा लगानी गर्नुभएको बताइन्छ । यसले पनि घरजग्गामा लगानी गर्दा ऋणलाई कसरी रणनीतिक रूपमा प्रयोग गर्न सकिन्छ भन्ने देखाउँछ ।

डीएससीआर ऋणको मुख्य अवधारणा भनेको घरबाट आउने भाडा आम्दानीले त्यस घरसँग सम्बन्धित खर्च धान्न सक्छ कि सक्दैन भन्ने मूल्यांकन गर्नु हो । उदाहरणका लागि यदि कसैले करिब २५ प्रतिशत डाउन पेमेन्ट राख्यो भने बाँकी ऋणको भुक्तानीका लागि आउने भाडा आम्दानी पर्याप्त हुनुपर्छ । घरको मासिक मोर्टगेज भुक्तानीअन्तर्गत सामान्यतया चारवटा मुख्य पक्ष समावेश हुन्छन्– मूलधन (प्रिन्सिपल), ब्याज (इन्टरेस्ट), कर (ट्याक्स) र बिमा (इन्स्योरेन्स) । यदि घरबाट आउने भाडा आम्दानीले यी सबै खर्च धान्न सक्ने देखियो भने उक्त घरलाई डीएससीआर ऋणअन्तर्गत किन्न सकिने सम्भावना हुन्छ ।

यस प्रकारको ऋणमा व्यक्तिगत आम्दानीको विस्तृत प्रमाण दिनुपर्ने आवश्यकता धेरै अवस्थामा हुँदैन । यसको सट्टा घरको मूल्य र सम्भावित भाडा आम्दानीको आधारमा निर्णय गरिन्छ । घरको मूल्य कति हो, बजारमा त्यस घरबाट कति भाडा आउन सक्छ भन्ने मूल्यांकन एप्रेजरले तयार पार्ने रिपोर्टमार्फत गरिन्छ । सोही रिपोर्टमा उल्लेख गरिएको रेन्टल कम्प अर्थात् आसपासका समान घरहरूको भाडा दरको आधारमा ऋण स्वीकृत गर्ने निर्णय लिइन्छ ।

यस कारणले गर्दा डीएससीआर ऋण विशेषगरी लगानीकर्ताहरूका लागि सहज र व्यावहारिक विकल्प मानिन्छ । नेपाली समुदायका धेरै लगानीकर्ताहरूका लागि पनि यो फाइदाजनक हुन सक्छ । किनकि, यसले व्यक्तिगत तलब वा कर विवरणभन्दा पनि घरबाट आउने सम्भावित आम्दानीलाई प्राथमिकता दिन्छ । हाल विभिन्न राज्यहरूमा यस प्रकारका ऋण सुविधा उपलब्ध छन् र घरजग्गामा लगानी गर्न चाहनेहरूका लागि यो एक लोकप्रिय विकल्प बन्दै गएको छ ।

ग्यास स्टेसन, ग्रोसरी स्टोर वा अन्य व्यवसाय किन्न चाहनेका लागि साना व्यवसाय प्रशासनको ऋण कसरी सहयोगी हुन्छ ?
ग्यास स्टेसन, ग्रोसरी स्टोर वा अन्य व्यवसाय किन्न चाहनेहरूका लागि एसबीए ऋण निकै सहयोगी हुन सक्छ । अमेरिकामा धेरै मानिसहरूले कुनै सपना देखेपछि त्यसलाई साकार पार्नका लागि साहस, योजना र लगानीको संयोजन गर्छन् । राम्रो बिजनेस प्लान बनाएर र करिब १० देखि १५ प्रतिशत जति डाउन पेमेन्ट राखेर पनि कसैले चलिरहेको व्यवसाय किन्न सक्ने सम्भावना हुन्छ । यदि कुनै व्यवसाय पहिले नै राम्रो ट्र्याक रेकर्डसहित सञ्चालनमा छ भने त्यसलाई किनेर अघि बढ्न सकिन्छ ।

विशेषगरी कुनै क्षेत्रमा अनुभव भएका व्यक्तिहरूका लागि यो अझ सहज हुन सक्छ । उदाहरणका लागि यदि कसैले लामो समयसम्म ग्यास स्टेसनमा काम गरेको छ भने त्यस व्यवसायको क्यास फ्लो, सञ्चालन प्रक्रिया र भित्र–बाहिरका गतिविधिहरू राम्रोसँग बुझिसकेको हुन्छ । यस्तो अनुभव भएपछि धेरैले ‘अब आफ्नै व्यवसाय सुरु गर्छु’ भन्ने आत्मविश्वास पनि प्राप्त गर्छन् । त्यस्तो अवस्थामा एसबीए ऋणले व्यवसाय किन्ने वा सुरु गर्ने प्रक्रियालाई सहज बनाइदिन सक्छ ।

त्यस्तै विभिन्न पेसामा रहेका व्यक्तिहरूले पनि आफ्नो पेसालाई व्यवसायमा रूपान्तरण गर्न सक्छन् । उदाहरणका लागि डाक्टरहरूले आफ्नै क्लिनिक खोल्न सक्छन् । दन्त चिकित्सकहरूले डेन्टल क्लिनिक सञ्चालन गर्न सक्छन् वा अन्य व्यक्तिहरूले पनि साना व्यवसायका विभिन्न क्षेत्रमा लगानी गर्न सक्छन् । यदि कसैले आफ्नै व्यवसाय सुरु गर्न वा कुनै व्यवसाय किन्न चाहन्छ भने एसबीएमार्फत उपलब्ध हुने ऋण कार्यक्रमहरू उपयोगी हुन सक्छन् । त्यस ऋण प्रक्रियामा आवश्यक सहयोग पनि प्राप्त गर्न सकिन्छ ।

उदाहरणका लागि यदि कसैले करिब १० लाख डलर मूल्यको कुनै व्यवसाय किन्न चाहन्छ भने त्यसमा करिब १० देखि १५ प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्न सक्छ । यसको अर्थ करिब एक लाखदेखि डेढ लाख डलरसम्म प्रारम्भिक लगानी राखेर बाँकी रकम ऋणमार्फत व्यवस्थापन गर्न सकिन्छ । यदि आवश्यक कागजात, व्यवसाय योजना र केही नगद प्रवाह (क्यास फ्लो) उपलब्ध छ भने यस्तो ठूलो मूल्यको व्यवसाय सञ्चालन गर्ने अवसर पनि प्राप्त हुन सक्छ ।

यसरी व्यवसाय सफलतापूर्वक सञ्चालन गर्न सकेमा भविष्यमा अझ ठूलो स्तरमा विस्तार गर्ने अवसर पनि प्राप्त हुन्छ । त्यसैले एसबीए ऋण धेरैका लागि व्यवसाय सुरु गर्ने वा किन्न सक्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा पनि हेरिन्छ ।


अमेरिका आएको एक–दुई वर्ष मात्र भएकाहरूले घर किन्ने सपना कसरी पूरा गर्न सक्छन् ? उनीहरूले सुरुमै के–के तयारी गर्नुपर्छ ?

अमेरिका आएको एक–दुई वर्ष मात्रै भएका नयाँ आप्रवासीहरूले घर किन्ने सपना कसरी पूरा गर्न सक्छन् र सुरुमै के–के तयारी गर्नुपर्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ । नयाँ आप्रवासीहरूले सबैभन्दा पहिले आफ्नो क्रेडिट स्कोर राम्रोसँग कायम राख्नुपर्छ । त्यससँगै आफ्नो आम्दानी पनि भविष्यमा पर्याप्त हुने खालको स्थिर काममा हुनु आवश्यक हुन्छ ।

अमेरिकामा बस्दा कुनै प्रकारका उल्लंघन वा अपराध नगर्ने, सबै काम कानुनअनुसार अगाडि बढाउने कुरा पनि महत्त्वपूर्ण हुन्छ । आफ्ना आम्दानी र क्रेडिट अंक कायम राख्न र पछिल्लो भुक्तानी ढिला नगर्नु विशेष ध्यान दिनुपर्छ । यदि भुक्तानी ढिला भयो भने त्यसले भविष्यमा ऋण पाउनमा असर गर्न सक्छ । आफ्नो सम्पूर्ण आर्थिक गतिविधि व्यवस्थित राख्न सकेमा नयाँ आप्रवासीहरूले एक–दुई वर्षभित्र घर किन्ने सपना पूरा गर्न सक्छन् ।

अमेरिका बस्नुको मुख्य उद्देश्यमध्ये एक हो आर्थिक स्वतन्त्रता प्राप्त गर्नु । आफ्नै मेहनत, आम्दानी र वित्तीय गतिविधि देखाएर नयाँ आप्रवासीहरू आफ्नै सपनाको घरमा प्रवेश गर्न सक्छन् । भाडामा बस्दा जसरी खर्च निरन्तर भइरहन्छ, आफ्नै घरमा बस्दा त्यस्तो खर्च आफ्नै सम्पत्तिमा परिणत हुन्छ । घर किन्दा पुँजी मूल्य र सम्पत्ति अधिकार पनि बढ्छ । भविष्यमा घर बेच्दा केही रकम हातमा आउने सम्भावना पनि रहन्छ ।

साथै घरको फाइदा भनेको सुविधाजनक बसाइ हो । निश्चित समयपछि ऋण तिरेर घर पूर्णरूपमा आफ्नै बनाउँदा त्यो सम्पत्ति तपाईंको हुन्छ । यदि भविष्यमा कुनै कारणले त्यही घरमा बस्न नचाही वा स्थान परिवर्तन गर्नुप¥यो भने घर बेचेर जान सकिन्छ वा घरलाई भाडामा लगाएर अर्को घर किन्न सकिन्छ ।

अमेरिकामा साधारणतया मानिसहरूले करिब सात–नौ वर्षको अन्तरालमा घर परिवर्तन गर्ने गर्छन् । त्यसैले घर किन्ने प्रक्रिया केवल स्थायी बसाइको लागि मात्र होइन । भविष्यको आर्थिक योजना र लगानीको अवसरका रूपमा पनि विचार गर्न सकिन्छ ।


अहिलेको बजारमा ब्याजदर बढिरहेका बेला भविष्यमा ब्याजदर घट्यो भने पुनःकर्जा व्यवस्था गरेर कसरी पैसा जोगाउन सकिन्छ ?

अहिलेको बजारमा ब्याजदर बढिरहेको बेला भविष्यमा ब्याजदर घट्यो भने पुनःकर्जा (रिफाइनान्स) गरेर कसरी पैसा बचाउन सकिन्छ भन्ने प्रश्न अत्यन्तै महत्त्वपूर्ण छ । धेरैजसो मानिसहरूले पहिले घर किन्दा मुख्य कुरा आफ्नो आवश्यकता पूरा गर्नु हो । ब्याजदरभन्दा बढी आवश्यकता प्राथमिक हुन्छ ।

जब भविष्यमा ब्याजदर घट्ने अवस्था आउँछ तब पुनःकर्जा (रिफाइनान्स) गर्ने अवसर प्राप्त हुन्छ । यस अवस्थामा यदि घरको ब्याजदर पहिलाभन्दा कम भएको छ भने त्यसलाई कम ब्याजदरमा पुनःकर्जा गरेर मासिक भुक्तानी घटाउन सकिन्छ ।

उदाहरणका लागि यदि एफएचए ऋणबाट घर किनिएको छ र त्यहाँ मासिक बिमा तिर्नुपरिरहेको छ भने रिफाइनान्स गर्दा घरको मूल्य बढिसकेको छ भने त्यस अवस्थाले पनि फाइदा दिन्छ । यदि घरको मूल्य २० प्रतिशत वा त्यसभन्दा बढी भयो भने व्यक्तिगत मोर्टगेज बिमा तिर्नुपर्दैन । यसले बचत मात्र होइन मासिक भुक्तानी पनि घटाउँछ ।

कहिलेकाहीं ३० वर्षको ऋण पनि पुनःकर्जा गर्दा २० वा १५ वर्षमा घटाउन सकिन्छ । यसरी गर्दा छोटो समयमै ऋण तिर्न सकिन्छ र निश्चित अवधिभित्र घर पूर्णरूपमा आफ्नै हुने सम्भावना रहन्छ ।

रिफाइनान्सका अन्य विविध विषयहरू पनि छन् । उदाहरणका लागि पहिले सहहस्ताक्षरकर्ता राखेर घर किनेको अवस्थामा पछि सहहस्ताक्षरकर्ता हटाउन चाहँदा पनि पुनःकर्जा गर्ने व्यवस्था हुन्छ । यसरी विभिन्न कारणले रिफाइनान्स गर्नु लाभदायक र आवश्यक हुन सक्छ ।

घर कर्जा लिने प्रक्रियामा नेपालीले प्रायः गर्ने साधारण गल्ती के–के हुन् र तीबाट कसरी बच्ने ?
घर कर्जा लिने प्रक्रियामा नेपालीहरूले प्रायः गर्ने साधारण गल्तीहरू र तीबाट कसरी बच्ने भन्ने विषय धेरै महत्त्वपूर्ण हुन्छ ।

सर्वप्रथम आफ्नो आम्दानी र वित्तीय स्थिति सम्बन्धमा सही जानकारी बैंक वा ऋण दिने संस्थालाई उपलब्ध गराउनु अत्यन्त जरुरी हुन्छ । यसले ऋण योजना बनाउँदा सजिलो हुन्छ । उचित योजनाअनुसार अघि बढ्न सकिन्छ ।

कतिपय व्यक्तिहरूले गर्ने गल्ती भनेको अत्यधिक नम्बरमा काम गर्न खोज्नु, अति आक्रामक भएर मासिक भुक्तानी बढी राख्ने प्रयास गर्नु हो । यस्तो अवस्थामा कुनै अप्रत्याशित स्थिति आउँदा समस्या हुन सक्छ ।

त्यसैले घर किन्दा आफ्नो भुक्तानी गर्ने क्षमताअनुसार योजना बनाउनु उत्तम हुन्छ । यदि आफ्नो क्षमताअनुसार नै घर किनेको छ भने त्यस्तो कठिनाइ कम हुने सम्भावना हुन्छ । यसरी योजना र तयारीअनुसार अघि बढ्दा घर कर्जा प्रक्रियामा सजिलो र सुरक्षित रहन्छ ।

पहिलो पटक घर किन्नेहरूका लागि एफएचए ऋण र भूतपूर्व सैनिकका लागि भीए ऋणका के कस्ता सुविधा छन् ?
पहिलो पटक घर किन्नेहरूका लागि एफएचए ऋण र भूतपूर्व सैनिकहरूका लागि भीए ऋणका विभिन्न सुविधा धेरै उपयोगी हुन्छन् ।

एफएचए ऋण सामान्यतया कम डाउन पेमेन्टमा उपलब्ध हुन्छ । अलि कम क्रेडिट स्कोर भएका व्यक्तिहरूलाई पनि थोरै ऋण–आम्दानी अनुपातमा विचार गरेर ऋण प्रदान गरिन्छ । यस प्रकारको ऋणले भविष्यमा आम्दानीको सम्भावना राम्रो हुने व्यक्तिहरूलाई घर किन्ने अवसर दिन्छ । त्यसैले पहिलो पटक घर किन्न चाहनेहरूका लागि एफएचए ऋण एक राम्रो विकल्प मानिन्छ ।

त्यस्तै भीए ऋण भूतपूर्व सैनिकहरूका लागि उपलब्ध हुन्छ । यसमा शून्य प्रतिशत डाउन पेमेन्टमा घर किन्न सकिन्छ । यसले भूतपूर्व सैनिकहरूलाई आफ्नो घर किन्न सहज बनाउँछ । उनीहरूको लागि विशेष सुविधा प्रदान गर्छ ।

यसरी पहिलो घर किन्न चाहने नयाँ आप्रवासी वा भूतपूर्व सैनिकहरूले आफ्नो अवस्थाअनुसार एफएचए वा भीए ऋणको उपयोग गरेर घर किन्ने प्रक्रिया सजिलो बनाउन सक्छन् ।

अपार्टमेन्ट वा कन्डो किन्न चाहनेका लागि छुट्टै नियम के–के हुन्छन् ?
अपार्टमेन्ट वा कन्डो किन्न चाहनेहरूका लागि छुट्टै नियमहरू पनि लागू हुन्छन् । कन्डो ऋण सामान्य घर कर्जाभन्दा केही भिन्न प्रक्रियाअनुसार जान्छ ।
कन्डो वा अपार्टमेन्ट किन्नका लागि सामान्यतया सामान्य नियमहरू लागू हुन्छन् । तर, कन्डोमा अतिरिक्त कागजातहरू आवश्यक पर्छन् । यी कागजातहरू प्रायः कन्डो एसोसिएसनहरूले हामीलाई उपलब्ध गराउँछन् । त्यसको मूल्यांकन पनि गरिन्छ । यसले थोरै अतिरिक्त कामको आवश्यकता पर्छ । तर, यो निकै ठूलो चिन्ताको विषय भने होइन ।

कन्डो ऋण पनि उपलब्ध छ र हामीले यो प्रक्रिया सहज बनाउन व्यवस्था गरेका छौं । यसले गर्दा जुनसुकै रेसिडेन्टल ऋणको आवश्यकतामा अहिले अमेरिकामा विशेषगरी टेक्सास, न्युजर्सी, पेन्सिलभानिया र न्यू ह्याम्पसायर राज्यहरूमा हामीले सेवा उपलब्ध गराउँछौं । व्यवसाय सम्बन्धित वित्तीय ऋणमा पनि करिब आठ–नौ राज्यबाहेक अन्य अधिकांश राज्यहरूमा हामीले हाउजिङ तथा समुदाय समीक्षा विभाग ऋण प्रदान गर्छौं ।

यदि यहाँहरूलाई कुनै प्रश्न वा चिन्ता भएमा निःसंकोच हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । हामी सकेसम्म छिटो, भरपर्दो तरिकाले जवाफ प्रदान गर्ने प्रयास गर्छौं । हामी हाम्रो पाँचतारे स्तरको सेवा कायम राख्न सदैव प्रयासरत छौं । यहाँहरूबाट निरन्तर सिफारिस र व्यवसायको अपेक्षा राख्छौं ।

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment