प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार

आइसको पक्राउ सूचीमा रहेका र स्थायी कानुनी हैसियत नभएका एक आप्रवासीलाई पक्राउ पर्नबाट जोगाउन सहयोग गरेको आरोपमा लोगन सिटीका दुई पूर्व अदालत कर्मचारीहरूमाथि संघीय आरोप लगाइएको छ।
जस्टिस डिपार्टमेन्टले बुधबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार २७ वर्षीया जेनिफर जोमा र २६ वर्षीया लरेन केल्सी म्यारोमाथि गैरकानुनी आप्रवासीहरूलाई लुकाउने र ओसारपसार गर्ने षड्यन्त्र, आप्रवासी लुकाएको तथा सरकारी निकायको प्रशासनिक कार्यमा बाधा पुर्याएको अभियोग लागेको छ। जोमामाथि गैरकानुनी आप्रवासी ओसारपसार गरेको थप आरोप समेत लगाइएको छ। उनीहरू विरुद्ध जुन ३ मा ग्रान्ड जुरीद्वारा अभियोग दर्ता गरिएको थियो।
घटना गत अप्रिल ९ को हो, जब लोगन जस्टिस कोर्टमा कार्यरत यी दुई महिला कर्मचारीहरू डिउटीमा थिए। त्यतिबेलै एक आइस अधिकारी प्रशासनिक पक्राउ पुर्जी लिएर अदालत पुगेका थिए। ती अधिकारी लक्षित व्यक्ति अदालतबाट बाहिर निस्किएपछि पक्राउ गर्ने योजनाका साथ बाहिर आफ्नो गाडीमा पर्खिरहेका थिए।
अदालतमा पक्राउको तयारी भइरहेको थाहा पाएपछि, म्यारो र जोमाले अदालतको डाटाबेसको दुरुपयोग गरी त्यस दिन अदालत आउने मानिसहरूको अध्यागमन स्थिति चेक गरेका थिए। स्थायी कानुनी हैसियत नभएका केही व्यक्तिहरू पहिचान गरेपछि, उनीहरूले ती व्यक्तिहरूलाई अदालतको सुरक्षित क्षेत्र हुँदै पछाडिको ढोकाबाट भगाउन सहयोग गरेको जस्टिस डिपार्टमेन्टको दाबी छ।
यसरी भगाइएका व्यक्तिहरूमध्ये आइसले पक्राउ गर्न खोजेको मुख्य व्यक्ति पनि सामेल थिए।
अदालतको सीसीटीभी क्यामेरामा उनीहरूले ती व्यक्तिहरूलाई पछाडिको ढोकाबाट भगाएको प्रष्ट देखिएको छ। विज्ञप्ति अनुसार, “पछाडिको ढोकाबाट लुकिछिपी मानिस भगाएपछि म्यारो र जोमाले सीसीटीभी क्यामेरातिर हेरेर हाँस्दै हात हल्लाएका थिए भने म्यारोले क्यामेरातिर माझी औंला देखाएर अश्लील इसारा समेत गरेकी थिइन्।”
त्यसको केही समयपछि, जोमाले तीन जना व्यक्तिलाई आफ्नो गाडीमा राखेर अदालतबाट बाहिर लगेको र पछि एक्लै फर्किएको अभियोग पत्रमा उल्लेख छ।
यो घटनाको अनुसन्धान होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सले गरिरहेको छ। जोमा र म्यारो बिहीबार साल्ट लेक सिटीको संघीय अदालतमा पहिलो पटक उपस्थित हुने कार्यक्रम रहेको जस्टिस डिपार्टमेन्ट जनाएको छ।
