प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा अमेरिकामा बस्दै आएका रूपेन्द्र जिसीसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वतको जलजला गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–१४ बस्ने ३१ वर्षीय जिसीसहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका जिसी १० वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । उनी एक महिना अघि मात्रै बिदामा नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनी अमेरिकामा आइटी इन्जिनियरको रूपमा कार्यरत थिए ।
पोखरा महानगरपालिका–१४ अनुपम टोलस्थित जिसीको साढे तीन तल्ले घरमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा गत शुक्रबार नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका–५ घर भएका ३३ वर्षीय विक्रम बानियाँ, बेनी नगरपालिका–२ घर भएका २२ वर्षीय सज्जन घिमिरे, म्याग्दी रघुगंगा गाउँपालिका–२ घर भएका १९ वर्षीय रोजन केसी र २८ वर्षीय सन्दीप कटुवाल समेत रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ३१ थान मोबाइल, २ थान कम्प्युटर मनिटर, ३ थान सिपियु, ४ थान ल्याप्टप, १ थान आई प्याड, २ थान किबोर्ड, १ थान माउस, ४ थान राउटर, ३ थान पेनड्राईभ, १ थान हार्डडिक्स, ११ थान चार्जर र ७२ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ ।
उनीहरूले ह्वाट्सएप, टेलिग्राम, क्यास एपलगायत एप्लिकेसनहरु मार्फत तीस करोड बराबरको कारोबार गरेको पाइएको कास्की प्रहरीले जनाएको छ । उनीहरूले आफन्तको नाममा विभिन्न बैङ्क खाताहरू खोली कारोबार गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।