अमेरिकाबाट देशनिकाला भएका १९ नेपाली चार्टड विमानमार्फत काठमाडौंमा, बाँकी १८ अर्को चरणमा



प्रकाशित मिति : भाद्र १८, २०८२ बिहीबार

अमेरिकाबाट देशनिकाला भएका १९ नेपाली चार्टड विमानमार्फत काठमाडौंमा, बाँकी १८ अर्को चरणमा

अमेरिकाबाट देशनिकाला भएका १९ नेपाली बोकेको विमान बिहिबार बेलुका ७ बजे विमान काठमाडौं पुगेको छ । ओम्नी एयरलाइन्सको चार्टर्ड विमानमार्फत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनीहरूमध्ये अधिकांश गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका व्यक्ति रहेको श्रोतले जानकारी दिएको छ। अमेरिकी अधिकारीहरूले नेपाली दूतावाससँग समन्वय गरी आवश्यक अनुसन्धान र ट्राभल डकुमेन्ट तयार गरेर उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो । देशनिकाला हुनेमा १७ पुरुष र २ महिला छन्।

सुरुमा अमेरिकी अध्यागमनले ३७ जना नेपालीहरु देशनिकाला हुने जानकारी दिएपनि पछि बाँकी १८ जनालाई भने यो चरणमा नेपाल पठाइएको छैन । अन्तिम समयमा १९ जना मात्र नेपाली पठाएको खबर आएको र संख्यात्मक हिसाबले फरक पर्नुको कारण थाहा नभएको नेपालको एयरपोर्ट अध्यागमनले जनाएको छ ।

यति ठूलो संख्यामा फरक पर्नुको कारणबारे अमेरिकी पक्षले कुनै स्पष्ट जानकारी नदिएकोले यो विषय कूटनीतिक रूपमा सोध्नु पर्ने अध्यागमन विभागका महानिर्देशकले बताएका छन्। “यो विषयले मलाई पनि अचम्ममा पारेको छ। विगतमा पनि यस्तो भएको थियो र कारण खुलाइएको थिएन। यसको सोधखोज आवश्यक छ,” उनले भने।विभागका प्रवक्ताले भने, “कानुनी वा कागजी प्रक्रियामा कुनै कमी भएको हुन सक्छ, तर स्पष्ट कारण नखुल्दा यही हो भनेर ठोकुवा गर्न सकिने अवस्था छैन।”

अमेरिकाबाट देशनिकाला भएका १९ नेपाली चार्टड विमानमार्फत काठमाडौंमा, बाँकी १८ अर्को चरणमा

अमेरिकाबाट देशनिकाला भएर आउने नेपालीहरूलाई नेपाल सरकारले सहजै स्वीकार गर्दै आएको छ। विमानस्थलमा आउने बित्तिकै अध्यागमन विभागले सामान्य कागजी प्रक्रिया पूरा गरी उनीहरूलाई मानव बेचबिखन ब्यूरोको जिम्मा लगाउने गरेको छ।

ब्यूरोका डीएसपी रुगम कुँवरका अनुसार, निष्कासित व्यक्तिहरूको नाम, ठेगाना, नेपालबाट प्रस्थानदेखि फर्किंदासम्मको विवरण राखिन्छ। “कसको माध्यमबाट, कति खर्चमा, कुन देश हुँदै अमेरिका पुगे?  कहिले समातिए? कति समय जेल बसे ? भन्ने सबै जानकारी राख्छौं,” उनले भने।

उनले थपे, “उजुरी गर्न चाहनेलाई सहजै उजुरी लिने गरेका छौं। पहिले उजुरी गर्न कोही तयार हुँदैनथे, तर पछिल्लो समय केही उजुरी परेका छन्। केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान पनि अघि बढाइएको छ। यी १९ जनालाई पनि उजुरीका लागि आह्वान गरेका छौं। केही उजुरी थपिएर अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा छ।”

आज निष्कासित भएर आएकाहरूमा विक, छिङ, बस्नेत, भण्डारी, बोहोरा, पोखरेल, साह, खत्री, सुवेदी, छिमाल, गौतम, दुई जना चौधरी, तीन जना केसी र तीन जना कँडेल थरका व्यक्ति रहेका छन्।

नेपालीको टीपीएस समाप्त भइसकेकाले अमेरिकाबाट देशनिकाला हुने नेपालीहरुको संख्या आगामी दिनमा बढ्ने अनुमान गरिएको छ किनभने अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका झण्डै १५ सय नेपालीहरु टीपीएसबाट संरक्षित थिए । उनीहरुको टीपीएस अगस्त २० मा समाप्त भइसकेकाले अमेरिकी अध्यागमनले उनीहरुलाई पक्राउ गरेको खण्डमा सिधै डिपोर्ट गर्न सक्छ ।

अमेरिकाबाट देशनिकाला भएका १९ नेपाली चार्टड विमानमार्फत काठमाडौंमा, बाँकी १८ अर्को चरणमा

त्यस्तै विगतमा टीपीएसले नसमेटेका झण्डै १५ सय नेपालीहरु पनि देशनिकालाको आदेश पाइसकेपछि अमेरिकामा नै बसिरहेको तथ्यांक हालै आइसले सार्वजनिक गरेको थियो ।





Source link

Leave a Comment