अमेरिकाबाट एकैपटक ९५ जना नेपाली डिपोर्ट, सबैजना मेक्सिकोबाट विना भिसा प्रवेश गरेकाहरु



प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार

अमेरिकाबाट एकैपटक ९५ जना नेपाली डिपोर्ट, सबैजना मेक्सिकोबाट विना भिसा प्रवेश गरेकाहरु

कागजात नभएका आप्रवासीहरूलाई देश निकाला गरिदै । यो फोटो प्रतिनिधिमूलकमात्र हो । नेपालीहरु देशनिकाला भएको फोटो होइन । फोटो: आइसद्वारा होमल्याण्ड सेक्युरिटी

अमेरिकाबाट एकैपटक डिपोर्ट गरिएका ९५ जना नेपाली चढेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। डिपोर्ट हुने सबै ९५ जना नेपालीले दलाललाई १ करोड नेपाली रुपैयाँसम्म बुझाएर मेक्सिकोको सीमाक्षेत्र हुँदै विनाभिसा अमेरिका प्रवेश गरेको अध्यागमन स्रोतले जानकारी दिएको छ। ९५ जनामध्ये ३ जना महिला रहेका छन्।

उनीहरूलाई अमेरिकी अध्यागमन एजेन्सी आइसले ओम्नी एयरको चार्टर्ड विमानमार्फत डिपोर्ट गरेको हो। यो डिपोर्ट झण्डै एक साता अघि नै हुने तय भए पनि केही ढिलाइ भएको थियो। साथै १२१ जना नेपालीलाई एकैसाथ डिपोर्ट गर्ने तयारी भए पनि उक्त संख्यामा कमी आएको छ। डिपोर्ट हुनेहरूको भेरिफिकेशनमा केही ढिलाइ भएका कारण संख्यामा कमी आएको स्रोतले जनाएको छ।

अमेरिकामा रहेको नेपाली दूतावासले गत सातासम्म १ सय जनाको भेरिफिकेशन गरिसकेको जानकारी दिएको थियो। आइसको अनुरोधमा वासिङ्टन डिसीस्थित नेपाली दूतावासले देशनिकाला हुने नेपालीहरूको पहिचान प्रमाणीकरण र ट्राभल डकुमेन्ट उपलब्ध गराउँदै आएको छ।

एकैपटक यति ठूलो संख्यामा अमेरिकाबाट नेपालीलाई डिपोर्ट गरिएको यो नै पहिलो पटक हो। यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा हालसम्म झण्डै ७०० नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। यसअघि एकैपटक डिपोर्ट गरिएका नेपालीको उच्च संख्या जनवरी २० मा ८० रहेको थियो। ट्रम्पको कार्यकालको एक महिना पूरा भएकै दिन (जनवरी २०) चार्टर्ड विमानमार्फत ८० जना नेपाली काठमाडौं पुगेका थिए, जसमा १ महिला र ७९ पुरुष थिए।

यसअघि डिसेम्बरमा पनि एकै दिन ७५ जना नेपालीलाई डिपोर्ट गरिएको थियो, जसमा ६९ पुरुष र ६ महिला थिए। डिसेम्बरदेखि हरेक महिना कम्तीमा एउटा चार्टर्ड विमानमार्फत नेपालीहरूलाई डिपोर्ट गर्न सुरु गरिएको देखिन्छ।

नेपालको अध्यागमन विभागका अनुसार जनवरी २०२६ मा मात्र १०१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। जनवरीमा डिपोर्ट भएका १०१ जनामध्ये ४ जना मात्र महिला थिए।

यस्तै, डिसेम्बरमा ९८ जना र नोभेम्बरमा ८० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। तथ्यांकअनुसार सन् २०२५ को जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३ र अक्टोबरमा ३८ जना नेपाली डिपोर्ट भएका थिए।

अहिलेसम्म डिपोर्ट हुनेहरूमा अधिकांश पुरुष छन् भने महिलाको संख्या न्यून छ। पछिल्ला महिनाहरूमा डिपोर्टको संख्या तीव्र रूपमा बढेको छ, जसमा चार्टर्ड उडानमार्फत ठूलो संख्यामा नेपालीहरूलाई एकैपटक फर्काइएको छ।

डिपोर्ट भएकामध्ये अधिकांश अवैध रूपमा मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका थिए। उनीहरूले मानव तस्करलाई ८० लाखदेखि १ करोड नेपाली रुपैयाँसम्म बुझाएको पाइएको छ।

डिपोर्ट भएकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँछ। ब्युरोले सामान्य सोधपुछपछि उनीहरूलाई आफन्तको जिम्मा लगाउने गरे पनि लिखित उजुरी परेको खण्डमा मात्र विस्तृत अनुसन्धान प्रक्रिया अघि बढ्छ।

हालसम्म झण्डै दुई दर्जन उजुरी परेका छन्। अनुसन्धान मुख्य रूपमा नेपालका एजेन्टहरूमा मात्र सीमित रहेको देखिन्छ। डिपोर्ट हुनेहरूको संख्याको तुलनामा उजुरी दिनेहरूको संख्या निकै कम छ।





Source link

Leave a Comment