अमेरिकाद्वारा इरान विरुद्ध हवाई आक्रमण, मध्यपूर्वमा तनाव फेरि बढ्ने संकेत  



प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार

अमेरिकाद्वारा इरान विरुद्ध हवाई आक्रमण, मध्यपूर्वमा तनाव फेरि बढ्ने संकेत  

फोटो : एपी/रासस

अमेरिकाले इरान विरुद्ध हवाई आक्रमण गरेको छ। इरानले अमेरिकी हेलिकोप्टर खसालेको आरोप लगाउँदै अमेरिकाले इरानमाथि हवाई आक्रमण सुरु गरेको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्गमा अमेरिकी हेलिकोप्टर खसालेको आरोप लगाएपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले इरानविरुद्ध आक्रमण सुरु गरेको हो। सेन्टकमले विज्ञप्ति जारी गर्दै यसलाई इरानको अनुचित आक्रमणको जवाफ भनेको छ। फारसी खाडी र होर्मुज जलमार्ग आसपासका तटीय क्षेत्रमा विस्फोटहरू भएका छन्।

अमेरिकी सेनाका अनुसार खसालिएको हेलिकोप्टर एपाचे हेलिकोप्टर थियो। त्यसमा रहेका दुई जना चालक दलका सदस्यलाई अमेरिकी नौसेनाले प्रयोग गर्ने समुद्री ड्रोनमार्फत उद्धार गरिएको सेन्टकमले जनाएको छ। यस्तो प्रकारको मानवरहित समुद्री जहाज प्रयोग गरेर गरिएको उद्धारको घटना अमेरिकी सेनाले पहिलोपटक सार्वजनिक रूपमा पुष्टि गरेको हो।

अमेरिकी अधिकारीहरूका अनुसार इरानले ड्रोन प्रयोग गरेर हेलिकोप्टरमाथि आक्रमण गरेको हो। आक्रमण जानाजानी गरिएको हो वा होइन भन्ने कुरा अझै स्पष्ट नभएको अमेरिकी सेनाका अधिकारीहरूले बताएका छन्। इरानले भने उक्त हेलिकोप्टर खसालेको जिम्मेवारी लिएको छैन। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणपछि इरानले कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिने चेतावनी दिएका छन्।

सेन्टकमका प्रवक्ताका अनुसार हेलिकोप्टरका चालक दलका सदस्यहरूलाई टास्क फोर्स ५९ अन्तर्गत सञ्चालित मानवरहित समुद्री ड्रोनले उद्धार गरेको थियो। बहराइनस्थित यो एकाइले मध्यपूर्व क्षेत्रमा समुद्री सुरक्षाका लागि मानवरहित प्रणाली प्रयोग गर्दै आएको छ। उद्धार गरिएका सैनिकहरूलाई ड्रोनमार्फत सुरक्षित स्थानमा लगेर पछि हेलिकोप्टरद्वारा थप स्थानान्तरण गरिएको सेन्टकमले जनाएको छ।

अमेरिकाद्वारा इरान विरुद्ध हवाई आक्रमण, मध्यपूर्वमा तनाव फेरि बढ्ने संकेत  

होर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिन्छ। अमेरिकी हेलिकोप्टर घटना र त्यसपछि भएको अमेरिकी आक्रमणले मध्यपूर्वमा तनाव फेरि तीव्र रूपमा बढ्ने संकेत देखिएको छ। इरान र अमेरिकाबीच प्रत्यक्ष सैन्य टकरावको जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय समुदायले अवस्थाको नजिकबाट निगरानी गरिरहेको छ।





Source link

Leave a Comment