प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार

युएससीआईएसले आर्थिक बर्ष २०२६ का लागि संसदबाट निर्धारित ८५ हजार कामदार भिसा एचवान बीका लागि पर्याप्त निवेदन प्राप्त भएको घोषणा गरेको छ। एचवानबी कार्यक्रमले अमेरिकी रोजगारदाताहरूलाई प्रविधि, इन्जिनियरिङ र चिकित्सा जस्ता विशेष पेशाहरूमा विदेशी कामदारलाई नियुक्त गर्न अनुमति दिन्छ ।
यो भिसाको सीमा ६५ हजार नियमित भिसा र २० हजार मास्टर्स डिग्री गरेकाहरुका लागि थप भिसाहरू समावेश गर्दछ । युएससीआईएसले सन् २०२६ को आर्थिक वर्षका लागि मार्च २०२५ मा प्रारम्भिक दर्ता चयन प्रक्रिया पूरा गरेको थियो, जसमा छनौटका लागि लटरी प्रणाली प्रयोग गरिएको थियो। दर्ता अवधि मार्च ७ देखि मार्च २४ सम्म चलेको थियो।
यो समयमा, निवेदकहरू र तिनका प्रतिनिधिहरूले युएससीआइएसमा अनलाइन खातामार्फत इलेक्ट्रोनिक रूपमा दर्ता गरेका थिए । दर्ता शुल्क यो बर्ष २१५ डलर थियो, जुन अघिल्लो बर्षको १० डलर शुल्कबाट बढाइएको थियो। चयन गरिएका लाभग्राहीहरू भएका निवेदकहरूले अप्रिल १, २०२५ देखि निवेदनहरू दायर गर्न शुरू गरेका थिए ।
सन् २०२६ का लागि प्रयाप्त आवेदनहरु प्राप्त भएकाले युएससीआईएसले अब नयाँ निवेदनहरू स्वीकार गर्नेछैन। यद्यपि एजेन्सीले ८५ हजारको कोटामा नपर्ने निवेदनहरूको प्रक्रिया जारी राख्नेछ, जसमा पहिले नै एचवान बी भिसा लिइसकेका कामदारहरूका लागि भिसा विस्तारका निवेदनहरू समावेश छन्, जुन पहिले क्यापमा गणना गरिएका छन् ।
युएससीआईएसले हालका एचवान बी कामदारहरूको बसाइ अवधि विस्तार गर्न, उनीहरूको रोजगारीका सर्तहरू परिमार्जन गर्न, रोजगारदाता परिवर्तन गर्न अनुमति दिन, वा र्को अएचवानबी पदमा एकैचोटी काम गर्न अनुमति दिने निवेदनहरू पनि स्वीकार गर्नेछ।
यो भिसाका लागि अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ ।
एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।
कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।
कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।
त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।
लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।
वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।
वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।
वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।
सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् । यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ ।
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार बाइडेनकालमा झण्डै ३५ सय नेपालीले एच श्रेणीको भिसा पाएका थिए । अघिल्लो ट्रम्प प्रशासनको अवधिमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए । अर्थात् ट्रम्पको पहिलो कार्यकालको तुलनामा बाइडेन प्रशासनको बेलामा एच श्रेणीको भिसा पाउने नेपालीहरुको संख्यामा ५० प्रतिशत बृद्धि भएको थियो ।
आर्थिक बर्ष २०२४ मा ७८१ जना नेपाली एच वान बी भिसा पाएका थिए । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार ७८१ जनाले एचवानबी भिसा पाएका थिए भने उनीहरुका २८८ जना आश्रितहरुले एचफोर भिसा पाएका थिए । यसरी आर्थिक बर्ष २०२४ मा कुल १०६९ जना नेपालीहरुले एच श्रेणीको भिसा पाएका थिए ।
आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । यो संख्या २०२२ मा भने ९०५ थियो । आर्थिक बर्ष २०२१ मा भने जम्मा ३२७ जनालाई एचश्रेणीको भिसा प्रदान गरिएको थियो । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ ।
२०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो भने आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीहरुले यो श्रेणीको भिसा पाए । सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । त्यस्तै २०१७ मा ५९७ जना नेपालीहरुले एच श्रेणीका भिसा पाएका थिए ।
यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।