अमेरिकाको मिसिसिपीमा प्रहरीको गोली लागेर १ वर्षीय बालकको मृत्यु



प्रकाशित मिति : २ असार २०८३, मंगलबार

अमेरिकाको मिसिसिपीमा प्रहरीको गोली लागेर १ वर्षीय बालकको मृत्यु

Photo: nader saremi/Unsplash

अमेरिकाको मिसिसिपी राज्यमा पर्ने सेनेतोबियास्थित एउटा वालमार्ट पसलको पार्किङ स्थलमा प्रहरीले चलाएको गोली लागेर एक वर्षीय निर्दोष बालकको मृत्यु भएको छ। यो घटनापछि पीडित परिवारले न्याय र सत्यतथ्य सार्वजनिक गर्न माग गरिरहेका छन्।

नागरिक अधिकारवादी अधिवक्ता बेन क्रम्पका अनुसार, १ वर्षीय कोहेन वाइली आफ्नी आमा र परिवारका एक साथीसँग गाडीमा रहेका बेला उनीमाथि गोली लागेको थियो। घटनामा गाडीमा सवार अर्का साथी गम्भीर घाइते भएका छन्। अधिवक्ता क्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, कोहेन एउटा सानो बच्चा थिए। उनकी आमामाथि कुनै पनि अपराधको आरोप लागेको छैन। उनले गाडीभित्र बच्चा रहेको कुरा प्रहरीलाई जानकारी गराउन खोज्दै थिइन्, तर प्रहरीले तैपनि गोली चलायो ।

अर्कोतर्फ, घटनाको अनुसन्धान गरिरहेको ‘मिसिसिपी ब्युरो अफ इन्भेस्टिगेसन’ले भने पसलमा चोरी भएको सूचना पाएर प्रहरी अधिकारीहरू त्यहाँ पुगेको जनाएको छ। एमबीआईका अनुसार शंकास्पद व्यक्तिहरू गाडीमा भाग्न खोज्दा चालकले प्रहरीतर्फ गाडी कुदाएका थिए। एक अधिकारीलाई ठक्कर दिनै लागेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको दाबी गरिएको छ। गोली लागेपछि चालकले बालकलाई नजिकैको अस्पताल पुर्‍याएका थिए, जहाँ उनलाई मृत घोषित गरियो।

सामुदायिक अभियन्ता मार्केल ब्रिज्सले बालककी आमाले वालमार्टबाट कुनै चोरी नगरेको र उनी कुनै अपराधमा संलग्न नभएको बताएका छन्। उनले भने, उनी त घटनाको केही समयअघि मात्र आफ्नो बच्चासँग खेल्दै गाडीतर्फ जाँदै थिइन्। परिवार र अभियन्ताहरूले घटनाको निष्पक्ष छानबिनका लागि प्रहरीको ‘बडी क्यामरा’  र पसलको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन्। मिसिसिपीका सार्वजनिक सुरक्षा आयुक्त सीन टिनडेलले भने अनुसन्धान पूरा नभएसम्म कुनै पनि भिडियो वा प्रमाण सार्वजनिक गर्न नमिल्ने बताएका छन्।





Source link

Leave a Comment